काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अर्जुनधारा जलेश्वर धामको पवित्र जल कैलाशघाटमा पुर्‍याइने

525
shares

झापा । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको झापाको अर्जुनधारास्थित जलेश्वर धामको पवित्र जल नजिकैको कैलाशघाटमा पुर्‍याइने भएको छ ।

शवदाहपछि चिता पखाल्न तथा घाटमा गरिने धार्मिक कार्यका लागि धामको जल उपयोग गर्ने उद्देश्यले करिब दुई हजार पाँच सय मिटर पाइपलाइन विस्तार गरी पानी पु¥याउने तयारी गरिएको हो ।

श्रम संस्कृति पार्टीको अग्रसरतामा करिब रु १६ लाखको लागतमा सञ्चालन गर्न लागिएको यस योजनाअन्तर्गत ५० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिनेछ । योजनाको अधिकांश काम श्रमदानबाट सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसबाट कैलाशघाटमा अन्त्येष्टि संस्कारका लागि आउने सर्वसाधारणलाई पानीको सहज उपलब्धता हुने अपेक्षा गरिएको छ ।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हिमालय कन्दङ्वाले धामको पवित्र जल घाटसम्म पु¥याउने अभियानले धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई जोड्ने बताए ।

आगामी कात्तिक १७ गते श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एक समारोहबीच योजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको कैलाशघाट व्यवस्थापन समितिका संयोजक शम्भु भण्डारीले जानकारी दिए । शिलान्यासपछि निर्माण कार्य सुरु गरी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

पौराणिक कथासँग जोडिएको धामको जल

पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वर धाम धार्मिक आस्था, पौराणिक विश्वास र ऐतिहासिक किंवदन्तीसँग जोडिएको तीर्थस्थल हो । धामको उत्पत्तिसम्बन्धी प्रचलित कथाअनुसार महाभारतकालमा विराट राज्यका राजाका हजारौँ गाई कौरव पक्षले लुकाएर लगेपछि अर्जुनले युद्ध गरेर गाई फिर्ता ल्याएका थिए । त्यस क्रममा गाईलाई पानी खुवाउन अर्जुनले बाण प्रहार गरी जलकुण्ड निर्माण गरेको जनविश्वास छ ।

धामका मूल पुजारी पण्डित अग्नि सिग्देलका अनुसार यही पौराणिक विश्वाससँग जोडिएको धामको जललाई नजिकैको मोक्षघाटसम्म पु¥याउने तयारी गरिएको हो । धामको धार्मिक महत्त्वलाई घाटमा हुने अन्त्येष्टि संस्कारसँग जोड्दै पवित्र जलको उपयोग गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको उनले बताए ।

धाम परिसरमा रहेका पाँच जलधारामध्ये एउटा धाराको पानी करिब तीन किलोमिटर दक्षिण–पश्चिममा रहेको नदी किनारको कैलाशघाटसम्म पु¥याउने योजना रहेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।

उनका अनुसार धामको जललाई मोक्षघाटसम्म पु¥याउने विषय लामो समयदेखि चर्चामा रहे पनि पछिल्लो समय स्थानीय अगुवा तथा युवा उद्यमीसमेत रहनुभएका व्यवस्थापन समितिका सहसंयोजक सुजन राज शिवाकोटीको पहलमा योजनाले मूर्तरूप लिन थालेको हो ।

करिब रु १६ लाख लागत अनुमान गरिएको योजनामा दुई हजार ७ सय मिटर पाइपलाइन विस्तार, पानी सङ्कलनका लागि ट्याङ्की निर्माण र घाटसम्म पानी वितरण गर्ने संरचना तयार गरिनेछ । व्यवस्थापन समितिका सहसंयोजक शिवाकोटीका अनुसार स्थानीयवासी, युवा तथा श्रम संस्कृति पार्टीका सदस्यको सहभागितामा श्रमदानमार्फत निर्माण कार्य अघि बढाइनेछ ।

पचास हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएपछि घाटमा आवश्यकताअनुसार पानी सङ्कलन र वितरण गर्न सहज हुने अपेक्षा गरिएको छ । योजनाको प्रभावकारी सञ्चालनका लागि पानीको स्रोतको संरक्षण, नियमित आपूर्ति र संरचनाको दीर्घकालीन व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।

धार्मिक आस्था र सामाजिक आवश्यकतालाई जोडेर अघि बढाइएको यस योजनाले कैलाशघाटमा अन्त्येष्टि संस्कारका लागि आउने नागरिकलाई सुविधा पु¥याउनुका साथै जलेश्वर धामको धार्मिक महत्त्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

धामको पवित्र जललाई घाटसम्म पु¥याउने अभियान सफल भएमा स्थानीयस्तरमा श्रमदानबाट धार्मिक तथा सामाजिक पूर्वाधार निर्माणको उदाहरणसमेत स्थापित हुने विश्वास गरिएको छ ।