काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपीएलका चौका र छक्कामा इसेवाको सहयोग, रेड पान्डा संरक्षणमा १० लाखसम्म खर्चिने

777
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रहार हुने चौका र छक्काले यसपटक खेलको स्कोर मात्रै बढाउने छैनन्, दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा समेत योगदान पुर्‍याउनेछन्। डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले एनपीएल २०२६ लाई लक्षित गर्दै ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानमार्फत रेड पान्डा संरक्षणका लागि १० लाख रुपैयाँसम्म सहयोग गर्ने भएको छ।

अभियानअन्तर्गत एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ इसेवाले उपलब्ध गराउनेछ। करसहित अधिकतम १० लाख रुपैयाँसम्मको योगदान रेड पान्डाको प्राकृतिक बासस्थान पुनर्स्थापना र स्थानीय समुदायका लागि रोजगारी सिर्जनामा खर्च गरिने कम्पनीले जनाएको छ।

एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क र रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा अभियान सञ्चालन गर्न लागेको हो। यसका लागि तीनवटै संस्थाबीच त्रिपक्षीय साझेदारी भएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को रातो सूचीमा सङ्कटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको संरक्षणका लागि यसको प्राकृतिक बासस्थान जोगाउनु चुनौतीपूर्ण मानिन्छ। यही उद्देश्यले अभियानबाट प्राप्त रकम इलाम र पाँचथरका सामुदायिक वन क्षेत्रमा खर्च गर्ने योजना बनाइएको छ। सन् २०२७ को जुन–जुलाईमा ती क्षेत्रमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ।

कार्यक्रमअन्तर्गत स्थानीय प्रजातिका बिरुवा रोप्ने, तिनको संरक्षण तथा हेरचाह गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनर्स्थापना गर्ने काम गरिनेछ। करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनर्स्थापना गर्ने र १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने लक्ष्य राखिएको छ। त्यसैगरी, स्थानीय समुदायका लागि करिब ६०० श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गरिनेछ। रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले क्रिकेटको लोकप्रियतालाई प्रकृति संरक्षणसँग जोड्ने उद्देश्यले अभियान ल्याइएको बताए। उनका अनुसार नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि उत्सवजस्तै बनेको छ। खेलको यही उत्साहलाई जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा उपयोग गर्न खोजिएको उनले बताए।

रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले पनि क्रिकेटको लोकप्रियतालाई रेड पान्डा संरक्षणसँग जोड्ने प्रयास सकारात्मक रहेको बताए। इसेवासँगको सहकार्यले संरक्षणका कामलाई थप प्रोत्साहन मिल्ने उनको भनाइ छ।

त्यस्तै, रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले खेलकुदको ऊर्जालाई रेड पान्डाको भविष्यसँग जोड्ने अभियानले बासस्थान संरक्षण र हरित रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

एनपीएल अवधिभर प्रत्येक चौका र छक्काबाट जम्मा हुने रकमको विवरण इसेवाले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ। डिजिटल भुक्तानी सेवालाई वातावरण संरक्षण र सामुदायिक हितसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको कम्पनीको भनाइ छ।