बाटो बताइदिने नाममा महिलालाई होटलमा पुर्याएर सामूहिक बलात्कार
वि.सं.२०७८ माघ ९ आइतवार १७:१३
shares

मोरङको बेलबारी नगरपालिका-४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्किनु पर्ने भयो । इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे उनी गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो पत्ता लगाउन सकिनन् ।
बाटो सोध्दा रामबहादुर नेपाली नाम गरेका एक व्यक्तिले बहिनीको घरसम्म पुर्याइदिने भन्दै गाडीमा चढ्न आग्रह गरे । तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भयो ।
बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङले जनाएअनुसार घटनामा संलग्न भएका होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ ।
तर बलात्कारको घटनामा संलग्न २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

























