Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

पहिराले जुडिफाँट-चित्रेभञ्याङ सडक अवरुद्ध

न्युज कारोबार दमाैली असार ४, २०७८       

पहिराले जुडिफाँट-चित्रेभञ्याङ सडक अवरुद्ध फाइल तस्बिर ।

अविरल वर्षातले पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौडा ढोरबाराही मोटर मार्गको ‘जुडीफाँट-चित्रेभञ्ज्याङ सडक’ अवरुद्ध भएको छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

धेरै स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिइन् । 'कतै ग्याबिन जालीसहित बाटो खसेको छ । कही बाटो माथिबाट ठूला-ठूला पहिरो खसेका छन्,’ उनले भने । अत्यावश्यक काममा दुलेगौँडा पोखरा जानुपर्ने स्थानीयबासी चिसापानीबाट राइपुर हुँदै घण्टौ लगाएर यात्रा गर्न बाध्य हुनुपरेको छ ।

शुक्लागण्डकी नगरपालिका-१० जुडीफाँटदेखि हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने सडक कालोपत्रेका लागि स्तरोन्नति भइरहेको थियो । सडक फराकिलो पार्ने र ग्याबिन जाली भर्ने काम सकिएको थियो । पहिरो गएसँगै काम रोकिएको छ ।

सो गाउँपालिकाको केन्द्रलाई गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे सडकबाट जोड्ने उद्देश्यका साथ प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ३२ करोड ६५ लाख ४७ हजार १४९ रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।

पुलमा क्षति नपु-याएको जनाइएको छ । अवरुद्ध सडकलाई खुलाउन सुरु गरिएको गोल्डेनगुड बानियाँ जेभीका साइट सुपरभाईजर रामबहादुर गोलेले बताए । ‘पहिरो हटाउन सुरु गरेका छौँ । गाडी चल्न मिल्ने स्थितिमा ल्याउन मात्रै पनि कम्तीमा तीन÷चार दिन लाग्छ,’ उनले भने ।

सम्बन्धित खबरहरु