काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जलजलाका पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन सुरु

945
shares

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन सुरु गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएको भूगर्भविद्सहितको टोलीले पहिरोबाट क्षति पुगेका र जोखिममा रहेका बस्तीको स्थलगत अध्ययन गरेको हो।

भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मङ्गलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ क्षेत्रको पहिरो अध्ययन गरेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए। टोलीले आज केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पनि अध्ययन गर्ने उनले बताए।

गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो। अध्ययनबाट पहिरो प्रभावित तथा जोखिममा रहेका बस्तीको थप जोखिम पहिचान गरिनेछ। अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनर्निर्माणका काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताए।

अध्ययनका क्रममा टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, ढुङ्गा तथा माटोका नमूना सङ्कलन र ड्रोन क्यामेरामार्फत तस्बिर तथा श्रव्यदृश्य अभिलेख गरेको छ। साथै प्रभावित स्थानीयसँग पनि छलफल गरेको छ।

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजला गाउँपालिकामा ३१६ घरमा क्षति पुगेको छ। गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार १२६ घर पूर्ण रूपमा क्षति भएका छन् भने ५० घरमा आंशिक क्षति पुगेको छ। थप १४० घर जोखिममा छन्।

सबैभन्दा बढी वडा नं. ८ को फर्सेमा क्षति पुगेको छ। त्यहाँ बाढीले ७५ घर बगाएको छ भने २७ घर जोखिममा छन्। त्यस्तै, वडा नं. ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं. ४ को लामाखेत पनि बाढीपहिरोबाट प्रभावित भएका छन्। पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन्।

बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली, सुन्तलाखेती हुने जमिन, सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसक्ने प्रभावितलाई अस्थायी शिविरमा राखिएको गाउँपालिकाले जनाएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री वितरणसँगै अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको अध्यक्ष आचार्यले बताए।