प्रदेश गौरवको आयोजना: निर्माणाधीन एकीकृत प्रशासनिक भवनको मन्त्री खड्का ‘रोका’द्धारा स्थलगत निरीक्षण
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १०:२८
shares

कर्णाली– कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले प्रदेश गौरवको आयोजनाका रुपमा निर्माणाधीन एकीकृत प्रशासनिक भवनको स्थलगत निरीक्षण गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामस्थित निर्माणाधीन उक्त भवनको निरीक्षणका क्रममा बुधबार मन्त्री रोका र सचिव अर्जुनकुमार बमले आयोजनाको कार्यप्रगति, निर्माणको गुणस्तर, प्राविधिक पक्ष, प्रयोग हुने निर्माण सामग्री तथा कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौतीबारे जानकारी लिएका हुन् ।
आयोजना कर्णाली प्रदेशको प्रशासनिक सेवा प्रवाहसँग जोडिएको महत्वपूर्ण संरचना भएको मन्त्री रोकाले उल्लेख गरे । निर्माण सम्पन्न भएपछि प्रदेशका मन्त्रालय तथा मन्त्रीका लागि एउटै स्थानबाट प्रशासनिक कामकारबाही र सेवा प्रवाह व्यवस्थित गर्ने आधार तयार हुने उनको भनाइ थियो ।
मन्त्री रोकाले निर्माण कार्यमा विभिन्न पक्षका फरक–फरक बुझाइ र चुनौती आउन सक्ने भएकाले समग्र प्रादेशिक आवश्यकतालाई ध्यानमा राखेर आत्मविश्वासका साथ काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, निरीक्षणका क्रममा सचिव बमले आयोजनाको प्रगति र गुणस्तरबारे प्रत्येक एक–एक महिनामा नियमित छलफल गर्ने, समस्या देखिएका स्थानमा तत्काल समाधानको पहल गर्ने तथा निर्माणसँग सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए ।
सचिव बमले निर्माणको गुणस्तर सुनिश्चित गर्न प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरिया, सिमेन्टलगायत निर्माण सामग्रीको परीक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । प्रयोगशालामा खटिने प्राविधिक कर्मचारीलाई चनाखो र जिम्मेवार हुन उनले सुझाए ।
करिब तीन अर्ब दुई करोड २९ लाख ५८ हजार २८० लागतमा निर्माण हुन लागेको उक्त एकीकृत प्रशासनिक भवन निर्माणको जिम्मा कन्टेक–नव सिर्जनशील जेभीले पाएको छ । पूर्वाधार विकास कार्यालय सुर्खेतमार्फत कार्यान्वयन भइरहेको आयोजनाको ठेक्का सम्झौता २०८३ असारमा भएको हो । करिब ३६ महिनामा काम सम्पन्न गर्ने गरी एक महिनाअघि देखि काम सुरु भएको छ ।

























