सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई
वि.सं.२०८३ कात्तिक १८ बुधवार ०९:०३
shares

खोटाङ । खोटाङमा आयोजित सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिताको उपाधि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीले जितेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा मङ्गलबार भएको फाइनलमा साकेला गाउँपालिका–५ मात्तिमलाई ३–० गोलले पराजित गर्दै इन्द्रेणीपोखरीले उपाधि जितेको हो।
उपाधिसँगै इन्द्रेणीपोखरीले नगद एक लाख २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता मात्तिमले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सेमिफाइनलसम्म पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं. ५ लफ्याङले जनही ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत छनोट भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एञ्जल राई उदीयमान खेलाडी घोषित हुँदा इन्द्रेणीपोखरीका शुभराज राई उत्कृष्ट गोलरक्षक र सविन भुजेल उत्कृष्ट डिफेन्डर बनेका छन्। त्यस्तै, मात्तिमका युसन राई उत्कृष्ट मिडफिल्डर, इन्द्रेणीपोखरीका विकास राई उत्कृष्ट प्रशिक्षक, मात्तिमका साहेल राई सर्वाधिक गोलकर्ता र इन्द्रेणीपोखरीका विजय राई उत्कृष्ट खेलाडी घोषित भएका छन्।
उत्कृष्ट खेलाडी विजय राईले पाँच हजार ५५५ रुपैयाँ तथा अन्य विधाका उत्कृष्ट खेलाडीले जनही दुई हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
विजेता टोली र उत्कृष्ट खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गरेका थिए।
कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वडाले सहभागिता जनाएका थिए। प्रतियोगिताको अवसरमा कात्तिक १५ गते बृहत् साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा गायिका रचना रिमालसहित राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए।
खेल क्षेत्रको विकास र व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ। क्लबले जग्गा खरिद गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदानसमेत निर्माण गरेको छ।

























