दाङमा व्यावसायिक सयपत्री फूलखेतीप्रति आकर्षण बढ्दै
वि.सं.२०८३ कात्तिक १८ बुधवार ०९:०६
shares

दाङ । दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। तिहार तथा दीपावलीलाई लक्षित गर्दै यहाँका किसान, कृषि समूह, सहकारी र कृषि फार्महरू फूलखेतीमा सक्रिय हुन थालेका छन्।
तुलसीपुरका कलाकार प्रेम विवश घर्तीले पनि कृषि क्षेत्रमा जोडिने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१७ जिनुवागाउँमा अन्य चार जनासँग मिलेर सामूहिक सयपत्री फूलखेती गरेका छन्। सङ्गीत क्षेत्रसँगै कृषि पेसालाई पनि अघि बढाउने सोचले फूलखेती सुरु गरेको घर्तीले बताए।
सुगन्धित कृषि समूहमार्फत पाँच कट्ठा जमिनमा ‘कर्म ५५५’ जातको करिब दुई हजार ४०० सयपत्रीका बिरुवा रोपिएको छ। खेतीका लागि मल्चिङ, कालो प्लास्टिक बिछ्याउने, विषादी प्रयोग गर्ने, खेत खन्ने र क्यारी बनाउनेलगायतका काममा करिब एक लाख रुपैयाँ लगानी भएको समूहका संयोजक सुमन गिरीले जानकारी दिए।
पाँच कट्ठा जमिनबाट करिब १० क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरिएको छ। तिहारअघि नै एक क्विन्टलभन्दा बढी फूलको अग्रिम अर्डर आइसकेको गिरीले बताए। स्थानीय उत्पादनलाई स्थानीय बजारमै खपत गराउने उद्देश्यले खेती सुरु गरिएको उनको भनाइ छ।
व्यक्तिगत तथा सामूहिक प्रयाससँगै कृषि सहकारीहरू पनि व्यावसायिक फूलखेतीमा आकर्षित भएका छन्। तुलसीपुर–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर सयपत्रीखेती गरेको छ।
एक हजार २०० सदस्य रहेको सहकारीका पदाधिकारी, कर्मचारी र कार्यसमिति सदस्य आफैँ खेतमा खटिएर फूलको स्याहारसुसार गरिरहेका छन्। सहकारीकी अध्यक्ष चित्रा धितालका अनुसार वार्षिक प्रतिकट्ठा दुई हजार रुपैयाँ भाडा तिर्ने गरी जग्गा लिएर खेती सुरु गरिएको हो। बीउ, मल्चिङ र खेत जोताइलगायतका काममा सुरुआती चरणमै तीन लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।
सहकारीले यस खेतीबाट १२ लाखदेखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ। फूल बिक्रीका लागि टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा विभिन्न ठाउँबाट माग आउन थालेको अध्यक्ष धितालले बताइन्।
तुलसीपुर–१५ पहरुवास्थित ‘ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्म’ले पनि व्यावसायिक रूपमा सयपत्री फूल तथा माला बिक्री सुरु गरेको छ। फार्मका सञ्चालक आशिष बिसीका अनुसार आधुनिक कृषि प्रणाली र उचित स्याहारसुसारमार्फत आकर्षक पहेँलो तथा सुन्तले रङका सयपत्री फूल उत्पादन गरिएको छ।
फार्मले उत्पादित फूल तथा माला थोक र खुद्रा दुवै मूल्यमा बिक्री गर्दै आएको छ। स्थानीयस्तरमा उत्पादित फूलको माग बढ्दै गएको बिसीले बताए।
तुलसीपुर क्षेत्रमा व्यक्तिगत प्रयासदेखि सहकारी र ठूला कृषि फार्मसम्मले व्यावसायिक सयपत्रीखेती विस्तार गर्न थालेका छन्। यसले स्थानीय बजारमा फूलको उपलब्धता बढाउनुका साथै बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सके दाङलाई सयपत्री फूलमा आत्मनिर्भर बनाउन सकिने कृषि व्यवसायीहरूको विश्वास छ।

























