अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बने अब्दुल एल–सयद
वि.सं.२०८३ कात्तिक १९ बिहीवार ०९:१९
shares

काठमाडौं । डेमोक्र्याटिक पार्टीका उम्मेदवार अब्दुल एल–सयद अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन्। उनले रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई पराजित गर्दै मिसिगनबाट सिनेट निर्वाचन जितेका हुन्।
डेट्रोइटमा आयोजित विजयसभालाई सम्बोधन गर्दै इजिप्टबाट आप्रवासी बनेको परिवारमा जन्मिएका एल–सयदले आफ्नो जितलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे। उनले मिसिगनजस्तो महत्वपूर्ण राज्यको निर्वाचित सिनेटरका रूपमा प्रतिनिधित्व गर्न पाउनु गर्व र सम्मानको विषय भएको बताए।
को हुन् अब्दुल एल–सयद?
अब्दुल एल–सयदको जन्म र बाल्यकाल दक्षिणपूर्वी मिसिगनमा बितेको हो। उनका बुबा मोहम्मद इजिप्टबाट अमेरिका आएका आप्रवासी हुन्। उनले प्रारम्भिक शिक्षा सार्वजनिक विद्यालयबाट हासिल गरेका थिए। त्यसपछि युनिभर्सिटी अफ मिसिगनबाट उच्च नतिजासहित स्नातक गरे।
विद्यार्थी जीवनमा उनी पढाइसँगै खेलकुदमा पनि सक्रिय थिए। फुटबल, कुस्ती र ल्याक्रोस टोलीको कप्तानीसमेत गरेका उनले पछि नेसनल इन्स्टिच्युट अफ हेल्थको फेलोसिपअन्तर्गत कोलम्बिया विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरे। उनी रोड्स स्कलरका रूपमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गर्न पनि सफल भए।
चिकित्सक बन्ने प्रशिक्षण लिएका एल–सयदले पछि सार्वजनिक सेवाको क्षेत्र रोजे। डेट्रोइट सहर आर्थिक संकटमा परेका बेला उनले त्यहाँको स्वास्थ्य विभागलाई पुनः व्यवस्थित गर्ने जिम्मेवारी सम्हाले। त्यसपछि वेन काउन्टीको स्वास्थ्य, मानव तथा भेट्रान सेवा विभागको पुनर्संरचनामा पनि काम गरे।
सार्वजनिक स्वास्थ्य क्षेत्रमा उनले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए। बालबालिकालाई निःशुल्क चस्मा वितरण, प्राथमिक विद्यालयबाट सिसाजन्य जोखिम हटाउने तथा ओपिओइडको अत्यधिक सेवनबाट हुने मृत्युदर घटाउन प्रयोग गरिने औषधि ‘नार्कन’ सहज रूपमा उपलब्ध गराउने अभियानमा उनको भूमिका रहेको थियो।
त्यस्तै, दुई वर्षभित्र मिसिगनका करिब तीन लाख मानिसको ७० करोड अमेरिकी डलरसम्मको चिकित्सा ऋण मिनाहा गर्ने लक्ष्यसहितको कार्यक्रमको नेतृत्व पनि उनले गरेका थिए।
सार्वजनिक सेवामा पुर्याएको योगदानका कारण उनले ‘मिसिगन लिग अफ कन्जर्भेसन भोटर्स’बाट ‘पब्लिक अफिसियल अफ द इयर’ सम्मान प्राप्त गरेका थिए। उनी ‘क्रेन्स डेट्रोइट बिजनेस’को ‘४० अन्डर ४०’ सूचीमा समेत परेका थिए।
एल–सयदले ‘मेडिकेयर फर अल : अ सिटिजन्स गाइड’ नामक पुस्तकसमेत लेखेका छन्। पुस्तकमा अमेरिकाका सबै नागरिकलाई कसरी सुलभ र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने विषय समेटिएको छ।
सन् २०२० मा उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य सेवासम्बन्धी ‘युनिटी टास्क फोर्स’मा समेत समावेश गरिएको थियो।

























