काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज रमा एकादशी, भगवान् विष्णु र लक्ष्मीको पूजा–आराधना गरिँदै

1.09K
shares

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज रमा एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक कृष्ण पक्षको एकादशी तिथिमा पर्ने यस पर्वमा भगवान् विष्णु र माता लक्ष्मीको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा छ।

माता लक्ष्मीको एक नाम ‘रमा’ भएकाले यस एकादशीलाई रमा एकादशी भनिएको धार्मिक मान्यता छ। चातुर्मास अवधिमा पर्ने यस एकादशीलाई हिन्दू धर्ममा विशेष पुण्यदायी मानिन्छ।

धार्मिक विश्वासअनुसार रमा एकादशीको व्रत बस्नाले भगवान् विष्णु र माता लक्ष्मीको कृपा प्राप्त हुनुका साथै सुख, समृद्धि, शान्ति र मोक्ष प्राप्त हुन्छ। यस दिन व्रत तथा पूजाआराधना गर्नाले जानेर वा नजानेर गरिएका पापबाट मुक्ति मिल्ने धार्मिक मान्यता पनि छ।

रमा एकादशीका दिन बिहानै उठेर स्नान गरी व्रतको संकल्प गर्ने, भगवान् विष्णु र माता लक्ष्मीको पूजा गर्ने तथा दिनभर उपवास बस्ने चलन छ। पूजाका क्रममा पहेँलो फूल, अक्षता, धूप, दीप, फलफूल र तुलसीको पात अर्पण गरिन्छ।

यस दिन ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्ने, विष्णु सहस्रनाम पाठ गर्ने तथा एकादशी व्रतको कथा श्रवण गर्ने परम्परा छ।

एकादशीको व्रत भोलिपल्ट द्वादशी तिथिमा विधिपूर्वक पारणा गरेर पूरा गरिन्छ। यस दिन दानदक्षिणा तथा ब्राह्मण भोजन गराउने धार्मिक चलनसमेत छ।

रमा एकादशीको भोलिपल्ट गोवत्स द्वादशी पनि मनाइन्छ। यस अवसरमा गाई र बाच्छाको पूजा गरी उनीहरूप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्ने परम्परा रहेको छ।