आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल
वि.सं.२०८३ कात्तिक १८ बुधवार १०:१५
shares

काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ । हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिइँदै आएकोमा नेपालको प्रस्ताव स्वीकृत भए यो संख्या २० पुग्नेछ ।
नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत उक्त प्रस्ताव अघि बढाएको हो । विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपालले थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा मान्यता दिन प्रस्ताव गरेको हो ।
नेपालले अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेका हिमालमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिम छन् । प्रस्तावित हिमालमध्ये यालुङ काङको उचाइ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिणको ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्यको ८ हजार ४७३ मिटर, ल्होत्से मध्यको ८ हजार ४१० मिटर, ल्होत्से शारको ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिमको ८ हजार ७७ मिटर रहेको छ ।
यी हिमाललाई छुट्टाछुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतारोहण क्षेत्रको पहिचान थप विस्तार हुने अपेक्षा गरिएको छ । साथै, नयाँ आरोहण गन्तव्य पहिचान हुँदा हिमाली पर्यटन, रोजगारी र स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने सरोकारवालाको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले नेपालका नयाँ तथा आरोहणयोग्य हिमालको पहिचान गरी अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने प्रयास भइरहेको बताए ।
उनका अनुसार हिमालको उचाइ यकिन गर्ने, नामकरण गर्ने र स्थानीय तथा परम्परागत पहिचानलाई समेट्ने विषय यस प्रक्रियाका महत्वपूर्ण पक्ष हुन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि ती हिमाललाई आरोहणका लागि खुला गर्ने र त्यसको व्यवस्थापन व्यवस्थित बनाउने सरकारको तयारी रहेको उनले बताए ।
‘हाम्रा हिमाल आरोहणका लागि मुख्य आकर्षण हुन् । थप हिमालको पहिचान र प्रवद्र्धन गर्न सके पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्छ,’ आचार्यले भने ।
उनले हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेसँगै आरोहण अनुमति, पर्यटकीय पूर्वाधार र सुरक्षा व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । मौसमको पूर्वसूचनाका आधारमा आरोहीलाई आवश्यक जानकारी दिने तथा स्थानीय प्रहरी र सम्बन्धित निकायसँग समन्वय गरी आरोहण गतिविधिको अनुगमन गर्ने गरिएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय मान्यताका लागि नेपालको प्रयास
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतारोहण क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने बताए ।
उनका अनुसार नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिएर आरोहण अनुमति जारी गर्दै आएपनि अन्तर्राष्ट्रिय समुदायले ती सबैलाई छुट्टाछुट्टै हिमालका रूपमा औपचारिक मान्यता दिइसकेको छैन ।
‘नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिएर आरोहण अनुमति जारी गर्दै आएको छ । ती हिमालमा आरोहीहरूले आरोहणसमेत गरिसकेका छन् । तर अन्तर्राष्ट्रिय समुदायले भने अझै त्यसलाई औपचारिक मान्यता दिएको अवस्था छैन,’ शेर्पाले भने ।
थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए पर्वतारोहण गतिविधि विस्तार हुनुका साथै नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा बढ्ने उनको भनाइ छ । नयाँ हिमाल आरोहणका लागि खुला हुँदा स्थानीयस्तरमा होटल, यातायात, भरिया, गाइड तथा अन्य पर्यटन सेवामा रोजगारीका अवसर सिर्जना हुने उनले बताए ।
‘यसबाट नेपालको पर्वतारोहण गतिविधि विस्तार हुनुका साथै कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने र रोजगारीका नयाँ अवसर सिर्जना हुनेछन् । पर्वतारोहण क्षेत्रमा काम गर्न चाहने युवाका लागि पनि रोजगारीको बाटो खुल्नेछ,’ उनले भने ।
नयाँ हिमालले स्थानीय अर्थतन्त्रमा अवसर
शेर्पाका अनुसार थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए विशेषगरी कञ्चनजङ्घालगायतका हिमाली क्षेत्रमा पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ । सगरमाथा क्षेत्रमा पर्वतारोहण र पर्यटनका कारण आर्थिक गतिविधि बढेझैँ नयाँ हिमालको पहिचानले अन्य हिमाली क्षेत्रको पूर्वाधार, पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्न सक्ने उनले बताए ।
उनका अनुसार मनास्लु, हिमलुङ, अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा र बरुञ्चेलगायतका हिमाल विदेशी पर्वतारोहीको रोजाइमा पर्ने गरेका छन् । पर्वतारोहीले आफ्नो अनुभव र क्षमताअनुसार सुरुमा ६ हजार र ७ हजार मिटरका हिमाल आरोहण गर्दै क्रमशः आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने लक्ष्य राख्ने गरेको उनले बताए ।
तर, नेपालका सबै हिमाली गन्तव्यमा सहज यातायात पहुँच नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती रहेको शेर्पाको भनाइ छ । विशेषगरी पश्चिम नेपालका हिमालसम्म पुग्न कठिन र खर्चिलो रहेको उनले बताए । केही गन्तव्यसम्म पुग्न आन्तरिक हवाई यात्रामै करिब ९०० अमेरिकी डलरसम्म खर्च लाग्ने अवस्था रहेको उनको भनाइ छ । हिमाली गन्तव्यसम्म पुग्ने पहुँच सहज बनाउन सके नयाँ क्षेत्रको पर्यटन विकाससँगै स्थानीय बासिन्दाका लागि रोजगारीका अवसर सिर्जना हुने उनले बताए ।
सगरमाथाबाट मात्र ६० प्रतिशत रोयल्टी
नेपालमा हिमाल आरोहणबाट संकलन हुने कुल रोयल्टीमा सगरमाथाको योगदान मात्रै करिब ६० प्रतिशत रहेको पर्यटन मन्त्रालयका प्रवक्ता आचार्यले बताए । उनका अनुसार सगरमाथा आरोहणबाट प्राप्त हुने रोयल्टीले नेपालको पर्वतारोहण क्षेत्रको आम्दानीमा महत्वपूर्ण हिस्सा ओगटेको छ ।
उनले चालु आरोहण सिजनमा सगरमाथाबाट कति रोयल्टी संकलन हुने भन्ने यकिन विवरण भने तत्काल उपलब्ध नभएको बताए । त्यसका लागि सम्बन्धित विभागबाट तथ्यांक लिनुपर्ने उनको भनाइ छ ।
नेपालमा पछिल्लो समय हिमाल आरोहण तथा पदयात्राका लागि विदेशी पर्यटकको आकर्षण कायम रहेको आचार्यले बताए । विशेषगरी मनास्लु क्षेत्रलगायतका हिमाली गन्तव्य विदेशी पर्यटक तथा आरोहीका लागि आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ छ ।
यद्यपि, पछिल्लो समय भएका विपत्तिका घटनाले नेपालको पर्यटन क्षेत्रमा केही नकारात्मक प्रभाव पारेको पर्वतारोहण संघका अध्यक्ष शेर्पाले बताए । उनका अनुसार विपत्तिपछि विदेशी पर्यटकको बुकिङमा करिब २० देखि ३० प्रतिशतसम्म रद्द भए पनि अपेक्षा गरिएभन्दा बढी पर्यटक नेपाल आएका थिए ।
नेपालका हिमाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने प्रयाससँगै पहुँच, पूर्वाधार, सुरक्षा र प्रचारप्रसारमा लगानी बढाउन सके पर्वतारोहण पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ हिमाली क्षेत्रका स्थानीय समुदायसम्म विस्तार गर्न सकिने उनको भनाइ छ ।

























