काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दसैँअघि नै सञ्चालनमा आउने भयो मालढुङ्गा पुल

442
shares

ai logo सारांश

  • दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मालढुङ्गा पुलको मर्मत तीव्र
  • बाढीले क्षतिग्रस्त मालढुङ्गा पुल २४सै घण्टा मर्मत हुँदै
  • मालढुङ्गा पुल बन्द भएपछि वैकल्पिक मार्गबाट आवागमन जारी

बागलुङ । कालीगण्डकीमा आएको बाढीले क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मतको काम तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय पोखराले पुल मर्मतका लागि २४सै घण्टा काम गरिरहेको जनाएको छ।

असोज ११ गते आएको बाढीले १ सय १४ मिटर लामो पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडकमा क्षति पुर्‍याएको थियो। त्यसयता दुई जिल्लाबीचको नियमित आवागमन प्रभावित हुँदै आएको छ। अहिले मालढुङ्गा–बेनी हुँदै तथा पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ जाने वैकल्पिक मार्ग सञ्चालनमा छन्।

चाडपर्व नजिकिएसँगै यात्रु तथा पर्यटकको आवागमन बढ्ने भएकाले पुल छिटो सञ्चालनमा ल्याउन मर्मतको काम तीव्र पारिएको सडक डिभिजन कार्यालयले जनाएको छ। पुल बन्द हुँदा मध्यपहाडी लोकमार्ग हुँदै बागलुङसँग रुकुम तथा रोल्पाको सडक सम्पर्कसमेत प्रभावित भएको छ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि सुवेदीले दसैँअघि नै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। पुल सञ्चालनमा आएपछि बागलुङसहित रुकुमपश्चिमसम्मको आवागमन सहज हुने उनले बताए।

पुल मर्मतमा जियोब्याग र जियोग्रेड प्रविधि प्रयोग गरिएको कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए। चाडपर्वका बेला बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य वस्तुको आपूर्तिमा समस्या नहोस् भनेर २४सै घण्टा काम भइरहेको उनले जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले मालढुङ्गा पुल बागलुङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण संरचना भएकाले शीघ्र सञ्चालनमा ल्याउनुपर्ने बताए। कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको समेत महत्वपूर्ण सम्पर्कस्थल भएकाले पुलको भूमिका ठूलो रहेको उनको भनाइ छ।

ढकालले पुल मर्मतसँगै वैकल्पिक सडकको प्रचारप्रसार गर्नुपर्ने बताए। वैकल्पिक मार्गबारे पर्यटक र यात्रुलाई पर्याप्त जानकारी दिन सके बागलुङको पर्यटन तथा आयात–निर्यातमा सहजता आउने उनले बताए।

बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालले वैकल्पिक मार्गबाट ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत सामग्री नियमित रूपमा भित्रिरहेको बताए। वैकल्पिक मार्ग प्रयोगबारे स्थानीय, पर्यटक तथा यात्रुलाई जानकारी गराउने काम भइरहेको उनले जानकारी दिए।