सेयर बजारमा ऐतिहासिक रेकर्ड, अहिलेसम्मकै उच्च बिन्दुमा नेप्से
वि.सं.२०७८ जेठ ९ आइतवार २१:३०
shares
सेयर बजारमा सेयर कारोबार मापक (नेप्से परिसूचक)ले ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार ३२.८१ अंक बढेर दुई हजार ८२० अंकमा पुगेको हो । यो अहिलेसम्मकै उच्च हो । आज कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले घटेको नेप्से परिसूचक फेरि उकालो लागेपछि दुई हजार ८२० मा पुगेर कारोबार बन्द भएको थियो ।
२२० कम्पनीको दुई करोड ५१ लाख ६३ हजार ६६० कित्ता ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रूपैयाँमा किनबेच भएको हो । आज तीन उपसमूह (समूहगत परिसूचक) घटेका छन् भने बाँकी सबै उपसमूहको सेयर उकालो लागेको छ । होटल तथा पर्यटन, निर्जीवन बिमा र लघुवित्त समूहको कारोबार ओरालो लागेको छ भने बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादनमुलक, अन्य, जीवन बिमा, सामुहिक लगानी कोष र लगानी उपसमूहको सेयर बढेको छ ।
आज उकालो लागेका उपसमूहमध्ये सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइनान्स समूह देखिएको छ । विकास बैंक समूहको सबइन्डेक्स ७.५४ र फाइनान्सको ६.७६ प्रतिशतले बढेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमा सर्किट लागेको छ ।























