Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

कामीरिताको कीर्तिमान र गुनासो

न्युज कारोबार काठमाडौं जेठ ९, २०७८       

कामीरिताको कीर्तिमान र गुनासो

गएको वैसाख २३ गतेका दिन विश्व विख्यात पर्वतारोही तथा हिमाल आरोहण क्षेत्रका सफल गाइडहरुमध्ये एक कामीरिता शेर्पाले विश्वकै अग्लो हिमचुचुरो सगरमाथा/एभरेस्ट अर्थात् ‘चोमोलुङ’को शिरमा २५औं पटक पाइला राख्न सफल हुनु भएको छ । स्मरणीय छ, उहाँलगायत ११ जनाको शेर्पाको टेक्निकल टिम (सगरमाथा आरोहण गर्न जाने विदेशी टोलीहरुलाई आरोहण गर्न लानु/जानुअघि डोरी टाँग्ने टिम)ले यो वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोही टोलीको रुपमा सगरमाथा आरोहण गर्नु भएको थियो ।

निश्चय नै उहाँको सो साहसिक कर्म नेपाल र नेपालीहरुका लागि मात्रै नभएर विश्व पर्वतारोहण जगत र विश्वका पर्वतारोहणप्रेमीहरुका लागि पनि एक अविश्मरणीय घटना हो । किनभने कामीरिताले सगरमाथा आरोहणमा राख्नु भएको २५औं पटकको विश्व कीर्तिमान लर्तरो र सानोतिनो काम पक्कै पनि हुँदै होइन । हुन पनि विश्वको अग्लो हिम चुचुरोको शिरमा यसरी २५औं पटकसम्म आफ्नो पाइला राख्ने काम विश्वका धेरै कम मानिसहरुले मात्रै गर्न सक्ने दुर्लभ कीर्तिमान हो ।

उहाँले दुई वर्षअघि (सन् २०१९ मा) २४औँ पटक सगरमाथा आरोहण गरेर फर्केपछि आफूले विश्व कीर्तिमानकै लागि भनेर २४औं पटक सगरमाथा चढेको नभएर कर्म गर्ने क्रममा (उहाँ पर्वतारोहीका साथै हिमाल आरोहण क्षेत्रका सफल गाइड-सरदार पनि हुनुहुन्छ) चढेको हुनाले र सगरमाथा चढ्न आउने विदेशीहरुलाई अझै केही वर्ष सगरमाथा चढाउने क्रम जारी रहने हुनाले कति पटक चढ्ने ? भन्ने प्रश्नै नरहेको भनी एक अन्तर्वार्तामा बताउनु भएको थियो । तर, साथी भाइहरुले भने ३०औं पटक पनि सगरमाथाको चुचुरोमा पुग्न-चढ्न सक्ने भनी हौस्याइरहेका छन् । त्यसैले यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रम जारी रहेकाले गर्दा यही वसन्त ऋतुको मौसममै कामीरिता शेर्पाले २६औं पटक सगरमाथा आरोहण गर्नु हुने सम्भावना पनि कायमै छ । तसर्थ हामीले आजभोलि नै ‘विश्व कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले २६औं पटक सगरमाथा चढ्नु भयो !’ भन्ने सुखद समाचार फेरि सुन्न बेर छैन ।

यसरी कर्म गर्दा-गर्दै विश्व पर्वतारोहण इतिहासमा २५ औं पटक सगरमाथाको चुचुरोमा मानव पाइला राख्न सफल हुनु भएका कामीरिता शेर्पाले सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा कर्म गर्न सुरु गर्नु भएको थियो भने सन् १९९४ मा पहिलोपटक सगरमाथा चढ्न सफल हुनु भएको थियो । त्यस्तै सन् १९९८ देखि सफल गाइड/सरदारको जिम्मेवारी बहन गर्दै आउनु भएको छ । सो क्रममा उहाँले सन् २००९ (मे ५ र २३), सन् २०१० (मे ५ र २४) र सन् २०१३ (मे १० र २२) मा एकै सिजनमा दुई-दुई पटक सगरमाथा चढ्नु भएको थियो ।

तर, उहाँ आफूले रोजी-रोटीको क्रममा वा भनौं जीवन निर्वाह गर्ने क्रममा २४ वा २५औं पटक सगरमाथा शिखरको चुचुरो चुम्न सफल हुनु भएको भए तापनि नेपालका पर्वतारोही तथा पर्वत आरोहणमा गाइडको काम गर्ने हाई एल्डिच्युड कामदार (खास गरी शेर्पा गाइड) हरुप्रति नेपाल सरकारको बेवास्ता रहेको भन्ने सम्बन्धमा भने ठूलो गुनासो रहेको छ । यस सम्बन्धमा उहाँले हिमाल आरोहीहरुलाई सरकारले उचित सम्मान नगरेको बताउँदै आउनु भएको छ । ‘सरकारले हिमाल आरोहणबाट राजस्वको आम्दानीमा मात्रै ध्यान दिने गरेको छ । त्यसैले हिमाल आरोहणमा भविश्य नभएकाले आफ्ना छोराछोरीले हिमाल आरोहण पेशा नअँगालून्/नगरुन् भन्ने उहाँको चाहाना छ,’ उहाँले सञ्चारमाध्यममा भन्नु भएको छ ।

एक अद्भूत व्यक्तित्व बनाउनु भएका र नेपालका मात्रै ‘लिजन्डरी’ व्यक्तित्व नभएर विश्वकै पर्वतारोही तथा पर्वतारोहण प्रेमीहरुका लागि समेत ‘लिजन्डरी’ व्यक्तित्व बनाउन सफल हुनु भएका कामीरिता शेर्पा जस्ता एक अद्भूत व्यक्तित्वले नेपालका पर्वतारोही तथा पर्वत आरोहणमा गाइडको काम गर्ने हाई अल्टिच्युड कामदार (खास गरी शेर्पा गाइड) हरुप्रति नेपाल सरकारको बेवास्ता रहेको भन्ने जुन गुनासो वा दुःखेसो रहेको छ, सो गुनासो वा दुःखेसो सम्बोधन गर्ने सम्बन्धमा भने हामीले खासगरी, सम्बन्धित निकाय (नेपाल सरकार)ले एकपटक ठण्डा दिमागले सोच-विचार गरेर तुरुन्तै सकारात्मक ढंगको प्रतिफल दिने गरी कदम चाल्नुपर्ने हुन्छ । अन्यथा नेपालका पर्वतारोही तथा पर्वत आरोहणमा गाइडको काम गर्ने हाई अल्टिच्युड कामदार (खासगरी शेर्पा गाइड)हरु नेपाली उखान ‘भिल्लको देशमा मणि’ भनेझैं भइरहनु हुने छ ।

हुन पनि विश्वकै अग्लो हिमशिखर सगरमाथा आरोहण र त्यसमाथि मानव निर्मित कीर्तिमानहरुको ओइरो नै लागेको छ । यस्ता कीर्तिमानहरु धेरैजसो नेपाली शेर्पाहरुले नै बनाउनु भएको छ । यसअघि आप्पा शेर्पाले २१ पटक र फुर्वाटासी शेर्पाले पनि २१ पटक नै सगरमाथा शिखरको चुचुरोमा पाइला राख्न सफल भइसक्नु भएको छ । त्यसैगरी स्वर्गीय भइसक्नु भएका नेपालकै सुन्दरे शेर्पा, आङथार्के शेर्पा, जाङबु शेर्पा, पासाङल्हामु शेर्पा, आङरिता शेर्पा, बाबुछिरी शेर्पा लगायतले पनि विभिन्न खाले कीर्तिमानहरु राख्नु भएको छ ।

सम्बन्धित खबरहरु