काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन आह्वान प्रचण्डको अपिल

924
shares

ai logo सारांश

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिमा सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिमा सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले नेकपा एमालेदेखि विभिन्न धारामा विभाजित माओवादी समूहसम्मलाई एकताबद्ध गर्ने जिम्मेवारी सबैको काँधमा रहेको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका कम्युनिस्ट नेताहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन अपिल गरे ।

प्रचण्डले देश असाधारण संकटमा रहेको उल्लेख गर्दै सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह र संकीर्णता त्यागेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, ‘आज देश असाधारण संकटमा छ । यस्तोबेला सबैले आफ्नो सोचार्ई, बुझाइ, भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबैखाले आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकताबद्ध हुने आजको आवश्यकता हो ।’

उनले विगतमा पनि कम्युनिस्ट एकताका लागि आफूले विभिन्न प्रयास गरेको स्मरण गरे । शान्ति सम्झौतापछि कम्युनिस्टहरू मिल्नुपर्ने प्रस्ताव आफूले पहिलोपटक अघि सारेको र संविधान जारी भएपछि तत्कालीन नेकपा एमालेसँग एकताका लागि पहल गरेको उनको भनाइ थियो ।

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता र निर्वाचनमा सहकार्यका लागि प्रस्ताव गर्न आफू गएको स्मरण गर्दै उनले त्यसबेला एकता सम्भव बनाउन प्रधानमन्त्री पदसमेत ओलीलाई नै दिने प्रस्ताव गरेको बताए ।

प्रचण्डले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले देशभरका नेता तथा कार्यकर्तामा उत्साह र समाजवादतर्फ अघि बढ्ने विश्वास पैदा गरेको बताए । उक्त एकताबाट झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्ने अवसर मिलेको भए पनि त्यसलाई लामो समय टिकाउन नसकिएको उनको भनाइ थियो ।

उनले उक्त एकता तीन वर्ष पनि टिकाउन नसकेकोप्रति दुःख व्यक्त गरे ।

यसैबीच, प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीकी नवनियुक्त महासचिव उमा भुजेलको राजनीतिक योगदानको प्रशंसा गर्दै उनलाई तीनवटा महत्वपूर्ण फड्को मार्ने नेताका रूपमा चित्रण गरे ।

भुजेलले सशस्त्र विद्रोहका क्रममा प्रहरी चौकी कब्जा गर्न र गोरखा जेल ब्रेकको नेतृत्व गर्न खेलेको भूमिकाको स्मरण गर्दै उनले अहिले विभिन्न क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न सफल भएको बताए ।

प्रचण्डले भुजेलले प्रहरी चौकी कब्जा र गोरखा जेल ब्रेकको नेतृत्व गरेर आफ्नो साहस र क्षमता प्रमाणित गरेको उल्लेख गरे । पछिल्लो समय विभिन्न क्रान्तिकारी युवा नेताहरूलाई एकताबद्ध गर्दै पार्टी एकतामा भूमिका खेलेको उनको भनाइ थियो ।

प्रचण्डले एकताको अभियानलाई अझ अघि बढाउँदै देशमा कम्युनिस्ट शक्तिहरूको नेतृत्व स्थापित गर्नुपर्ने बताए । उनले भने, ‘हामी जित्छौँ, हामीले नै जित्नुपर्छ देशमा, अरूले जितेर हुँदैन।’