काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव 

1.32K
shares

रौतहट । रौतहटमा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा कौतूहल र चासो बढेको छ । राजपुर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान असामान्य शारीरिक बनावट भएकी ती बालिकाको जन्म भएको हो ।

गुजरा नगरपालिका–८ कनकपुर निवासी २८ वर्षीया नुसिदा खातुनले सोमबार बिहान करिब ५ बजे सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी स्वास्थ्य केन्द्रले जनाएको छ । प्रसूति भएकी नुसिदा राजपुर नगरपालिका–३ डमार चोकका सेख मोसाफिरकी छोरी हुन ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रका अनुसार नवजात बालिकाको तौल तीन किलोग्राम रहेको छ । जन्मलगत्तै गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा बालिकाको स्वास्थ्य अवस्था भने सामान्य पाइएको प्रमुख मिश्रले जानकारी दिए ।

बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टाको झागमा अर्को अतिरिक्त खुट्टासमेत जोडिएको छ । अतिरित्त खुट्टा अन्य दुई खुट्टाको तुलनामा केही पातलो भए पनि त्यसमा नङसमेत स्पष्ट देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

बालिकाको असामान्य शारीरिक अवस्थालाई मध्यनजर गर्दै थप परीक्षण तथा आवश्यक उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजान चिकित्सकहरूले सुझाव दिएका थिए। स्वास्थ्यकर्मी आजाद हुसैनका अनुसार चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि पठाउने तयारी गरिए पनि परिवारका सदस्यहरूले आपसी सल्लाहपछि बालिकालाई स्वास्थ्य केन्द्रबाट घर लगेका छन् ।

यसैबीच, घटनाबारे जानकारी पाएपछि राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजीक आलमले जटिल शारीरिक अवस्था भएकी शिशुको जन्मपछि स्वास्थ्यकर्मी तथा प्रसूति सेवामा संलग्न कर्मचारीहरूले देखाएको तत्परता र सेवाभावको प्रशंसा गरेका छन । उनले नवजात बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यकर्मीहरूको जिम्मेवारीफ्रति सम्मान व्यक्त गरे ।

बालिकाको शरीरमा अतिरित्त खुट्टा जोडिनुको मुख्य कारण, त्यसको प्रकृति र शल्यक्रियामार्फत हटाउन सकिने सम्भावनाबारे भने विस्तृत चिकित्सकीय परीक्षण तथा विशेषज्ञको परामर्शपछि मात्रै यकिन हुने चिकित्सकहरूले बताएका छन् ।