कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १६:३६
shares

सारांश
- नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशन अन्तर्गत हालसम्म २६ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
- सात जिल्लाको उद्घाटन भएको पनि जानकारी गराइएको छ ।
- २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी भएको जानकारी गराइएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशन अन्तर्गत हालसम्म २६ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । साथै सात जिल्लाको उद्घाटन भएको पनि जानकारी गराइएको छ ।
२२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी भएको जानकारी गराइएको छ ।
मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले २६ जिल्लामा नयाँ नेतृत्व आएको र चार जिल्लामा उद्घाटन भएको जानकारी दिए ।
त्यस्तै ६१८ पालिका, २२८ प्रदेश सभा साथै ११४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको डा. महतले जानकारी दिए ।
साथै आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको उद्घाटन शेर बहादुर देउवाले गर्नेपनि उनले जानकारी दिए ।
‘नियमिति महाधिवेशनका लागि छोटो समयमा प्रक्रिया अघि बढाएको थियो तर सक्रियता उत्साहपूर्ण पायौं । देशभरका कार्यकर्ताहरु स्वतस्फूर्त रुपमा र स्वयमसेवी भावनाले सहभागि भइरहनु भएको छ, हामी उत्साहित छौं,’ डा. महतले भने ।
अधिवेशनमा सहभागी सबैजना न्याय र विधिको पक्षमा साथै कांग्रेसको मूल मान्यताका काम गरिरहेको पनि उनले बताए ।
विशेष महाधिवेशनमा सहभागी भएका धेरैजना आफ्नो समूहमा जोडिन थाल्नुभएको र जोडिनेक्रम जारी रहेको पनि उनले जानकारी गराए ।
‘धेरै साथीहरु उताबाट यता जोडिनु भएको छ । जोडिनेक्रम जारी छ । साथै मंसिर २१, २२, २३ मा हुने महाधिवेशनमा जोडिन आब्हान पनि गर्दछु,’ डा. महतले भने ।

























