प्रदेश २ मा कोरोना संक्रमितको संख्या घट्दै
वि.सं.२०७७ फागुन १९ बुधवार १९:५०
shares

६ महिनाअगाडि देशभरमै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको प्रदेश २ मा हाल कोरोना संक्रमितको संख्या दिनहुँजसो घट्ने क्रममा रहेको छ । कोरोनाको इपिसेन्टर नै मानिएको प्रदेश २ मा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३६ जना मात्रै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ का विभिन्न प्रयोगशालामा मंगलबार स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १५, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा ६ र सिरहामा १० वटा नमुना परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका अधिकृत डा. कमलेश यादवले जानकारी दिए । प्रदेश २ मा हालसम्म १७ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्यामध्ये पुरुष १४ हजार १ सय ९६ र महिला ३ हजार २ जना रहेका छन् । यसमध्ये १६ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।
२०९ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण प्रदेश २ मा हालसम्म २ सय ९ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १०, बारामा २४, पर्सामा ५१ र एकजना भारतीय नागरिकको मृत्यु भएको छ । जसमध्ये पुरुष १ सय ६९ र ४० जना महिला रहेका छन् ।

























