गृहपृष्ठ वीरेन्द्रनगरमा खानेपानीका लागि चौतर्फी पहल
वीरेन्द्रनगरमा खानेपानीका लागि चौतर्फी पहल
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी संकलनका लागि प्रयास थालिएको छ । भविष्यमा खानेपानी अभाव हुन नदिन ओभरहेड ट्यांकी र रिजर्भ ट्यांकीहरु निर्माण गर्न थालिएको हो ।
सरकारी तथा गैरसरकारी निकायको पहलमा वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा ट्यांकी निर्माण थालिएको छ । तत्काल करिब दुई लाख पचास हजार लिटर क्षमताका ट्यांकीहरु तीनवटा स्थानमा निर्माणको थालनी भएको छ ।
अतिविपन्न बस्ती तथा पानीको अभाव भएका बस्तीहरुलाई वितरण गर्ने गरी ट्यांकीहरु निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिका १० को बेलघारी (मुस्लिम समुदायमा) र घुस्रामा एक लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण सुरु भइसकेको छ । बुलबुले उद्याननजिकै खुला चौरमा करिब ६० हजार लिटर क्षमताको रिजर्भ ट्यांक निर्माण भइसके पनि ओभरहेड ट्यांक निर्माणका लागि पहल गरिएको छ ।
बेलघारीमा निर्माण गर्न लागिएको ट्यांकीका लागि एईआई एन लक्जम्वर्गले आर्थिक सहयोग गरेको छ । नवज्योति केन्द्र सुर्खेतको समन्वय तथा सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र वडा नम्बर १० को कार्यालयको सहकार्यमा उक्त कार्य सम्पन्न हुन लागेको हो ।
करिब ७२ लाख लागतमा निर्माण हुन लागेको एक लाख लिटर क्षमताको ट्यांकीको पानीले पाँचवटा बस्तीका करिब एक हजार परिवार लाभान्वित हुने नवज्योति केन्द्रले जनाएको छ ।
वीरेन्द्रनगर १० का बेलघारी, पदमपुर, भानपुर, गणेशपुर र पशुपतीनगरमा खानेपानी वितरण गरिने तयारी भएको केन्द्रकी प्रमुख सिस्टर रोसिटाले जानकारी दिइन् । उनका अनुसार सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरणको जिम्मा लिएको छ ।
वडा नम्बर १० को कार्यालयले पनि त्यसमा सहयोग गरेको छ । यसअघि बेलघारीनजिकै पहिलो चरणमा ट्यांकी निर्माण गरी मोटर हाउससमेतको काम सम्पन्न भइसकेको उनले जानकारी दिइन् । यो योजना एक वर्षभित्रमा सम्पन्न हुने गरी काम थालिएको छ ।
वीरेन्द्रनगर नगरपालिका १० को जनसेवा मावि घुस्रामा निर्माण हुने ट्यांकीका लागि ठेक्का सम्झौता भइसकेको अध्यक्ष रत्नबहादुर बुढाले जानकारी दिए । खानेपानी सिचाइ ऊर्जा विकास कार्यालय सुर्खेतको करिब १ करोड १५ लाख रकममा ठेक्का सम्झौता भएको उनले बताए ।
वडाध्यक्ष बुढाले बुलबुले उद्यानमा तत्कालका लागि करिब ६० हजार लिटर क्षमताको रिजर्भ ट्यांक निर्माण भई काँक्रेविहारमा पानी खसालिएको जानकारी दिए । ‘हामीले बुलबुलेमा ओभरहेड ट्यांक निर्माणका लागि पहल गरेका छौं,’ उनले भने, ‘काठकुवामा रहेको पानी जम्मा गरी अभावमा नागरिकलाई वितरणका लागि सहज बनाउने योजना छ ।’ यसबाट घुस्रा र काँक्रेविहार आसपासका गरी करिब एक हजार घरधुरी लाभान्वित हुनेछन् ।
घुस्रामा एक वर्षमा ट्यांकी बनिसक्ने गरी ठेक्का सम्झौता भएको खानेपानी सिचाइ ऊर्जा विकास कार्यालय सुर्खेतका प्रमुख श्रीधर भट्टराईले जानकारी दिए । ‘कामको जिम्मा श्याम एन्ड शंकर कन्सट्रक्सनले पाएको छ,’ उनले भने, ‘ट्यांकीमा विद्यालयले खनेको बोरिङबाट आएको पानी संकलन गरिनेछ ।’ उनले भविष्यमा खानेपानीको सम्भावित संकट टार्न ट्यांकीहरु निर्माण गर्न थालिएको बताए ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी अभावलाई परिपूर्ति गर्न विभिन्न प्रयास भइरहेका छन् । निजी संघसंस्था र सरकारी निकायले खानेपानी आपूर्तिका लागि ध्यान दिन थालेका छन् ।
सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आफूहरुले राजधानीको बढ्दो जनसंख्यालाई आंकलन गरी करिब ८ अर्बको प्रोजक्ट ल्याउन लागेको बताए । ‘भेरीको पानी वीरेन्द्रनगर झार्न खोज्दै छौं,’ उनले भने, ‘तर त्यो निकै ठूलो प्रोजेक्ट हो, समय लाग्छ ।’
तत्कालको खानेपानी समस्या समाधान गर्न एक वर्षभित्रैमा बनाइसक्ने गरी ट्यांकी निर्माण गर्न थालिएको उनले जानकारी गराए । खानेपानी पर्याप्त भएको समयमा जम्मा गर्ने र अभावमा वितरण गर्ने उद्देश्य रहेको उनले बताए ।
प्रकाशित समय : २१:१७ बजे


















