global ime bank Long Banner Ad

गृहपृष्ठ द्वन्द्वका पीडा ताजै : कोही तयार छैन मलम लगाउन

द्वन्द्वका पीडा ताजै : कोही तयार छैन मलम लगाउन

द्वन्द्वका पीडा ताजै : कोही तयार छैन मलम लगाउन

जनयुद्धकालमा बेपत्ता बनाइएका शिक्षक अहिले २० वर्षसम्म कहाँ छन् भन्ने परिवारलाई जानकारी छैन । दैनिक बुवाको सम्झनामा भेरी नगरपालिका २ की शारदा शर्मालाई झस्काउने गर्छ ।

शिक्षक शिवप्रसाद शर्मालाई तत्कालीन राज्य पक्षबाट २०५७ फागुन १३ गते नेपालगन्जबाट बेपत्ता बनाइएको थियो । बेपत्ता बनाएको २० वर्ष बिते पनि अहिलेसम्म सास र लास कुनै राज्य पक्षबाट जानकारी गराइएको छैन । बेपत्ता शिवका दुई छोरी र श्रीमती अहिले पनि उनको बाटो हेरेर पर्खिरहेका छन् ।

राति घरको ढोकामा आवाज आउँदा होस् वा अन्य कारणले आवाज आए पनि बुवा नै आउनुभएको हो भनेर मन फुरुङ हुने गरेको जेठी छोरी शारदाले बताइन् । उनले भनिन्, 'मैले मेरो बुवालाई बेपत्ता बनाएको दिनदेखि कहिल्यै देख्न पाइनँ, बुवालाई किन र केका लागि बेपत्ता पारियो पत्ता लागेको छैन ।'

राज्यले १० लाख रुपैयाँ राहत त दियो तर बुवाको अवस्थाका बारेमा अहिलेसम्म कुनै खास प्रतिक्रिया दिइएको छैन । पैसाले बुवाको माया नपाइने भन्दै शारदाले बुवाको अवस्था तत्काल सार्वजनिक गर्न माग गरिन् ।

जुनिचाँदे ४ का दलबहादुर रोकाको पनि शारदाको भन्दा कम पीडा छैन । उनी भन्छन्, 'सरकारले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केही पाएको अवस्था छैन ।'

छेडागाड नगरपालिका १३ का मानबहादुर बुढाले आँखाभरि आँसु पार्दै भने, 'बुवा गुमाउनुको पीडालाई कहिल्यै भुल्न सक्दिनँ, अहिलेसम्म बुवाको अवस्था के छ भन्ने कुरा जानकारीसम्म नहुँदा हामी मानसिकरूपमा समस्यमा परेका छौँ ।'

जाजरकोटबाट मात्र १२ जना बेपत्ता भएको सूची छ । उनीहरुको अवस्थाका बारेमा परिवारले जति पटक दबाब दिए पनि अवस्था सार्वजनिक नहुँदा परिवार पीडामा छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आसीआरसी) ले सन् २०१२ मा निकालेको तथ्यांकअनुसार जाजरकोटमा नौ जनाको नाम बेपत्ताको सूचीमा छ भने मृत्यु भइसकेको जानकारी भएका तर मानव अवशेष पत्ता नलागेका तीन जनाको नाम सूचीकृत गरिएको छ ।

सीआरसीको सूचीमा जाजरकोटका झुपबहादुर शाहीलाई २१ मंसिर २०६० मा, सुर्खेत वीरेन्द्रनगरबाट राज्य पक्षबाट पूर्णबहादुर सिंहलाई २८ वैशाख २०६२ मा, जाजरकोटको खलंगाबाट राज्य पक्षबाट मानबहादुर सिंहलाई २५ असार २०५७ मा, जाजरकोटको रामीडाँडाबाट राज्य पक्षबाट मोतीराम मल्ललाई १२ माघ २०५८ मा, जाजरकोटको थालारैकरबाट राज्य पक्षबाटै रामप्रसाद खनाललाई १२ मंसिर २०५८ मा, जाजरकोटको खलंगाबाट विद्रोही पक्षबाट वीरेन्द्र शर्मालाई १० मंसिर २०६१ मा, राज्य पक्षबाट जाजरकोटको सुवानाउलीबाट शिवप्रसाद शर्मालाई १३ फागुन २०५७ मा र बाँकेको नेपालगन्जबाट राज्य पक्षबाट शिवबहादुर सिंहलाई १७ मंसिर २०६० मा बेपत्ता बनाइएका छन् ।

त्यसैगरी आसीआरसीले मृत्यु भइसकेको जानकारी भएका तर मानव अवशेष पत्ता नलागेकाको सूचीमा जाजरकोटका खम्बे कामीलाई २१ चैत २०५४ मा खलंगाबाट राज्य पक्षले पक्राउ गरेको, गुमानसिंह रानालाई १ चैत २०५५ मा सुर्खेतको राकम बादापिपलबाट राज्य पक्षले पक्राउ गरेको, भूमिलाल बस्नेतलाई १५ कात्तिक २०५५ मा जाजरकोटको खलंगाबाट राज्य पक्षले पक्राउ गरेको र विष्णु वटालालाई १५ पुस २०५५ मा जाजरकोको खलंगाबाट राज्य पक्षले पक्राउ गरेर बेपत्ता बनाएको उल्लेख छ । (हेमन्त केसी/रासस)

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु