global ime bank Long Banner Ad

गृहपृष्ठ अष्ट्रेलियामा वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन् : अध्ययन

अष्ट्रेलियामा वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन् : अध्ययन

अष्ट्रेलियामा वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन् : अध्ययन

एजेन्सी-

जङ्गली विरालोका कारण अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौं दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा बताइएको छ ।

अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब दुई शताब्दीको समयमा जङ्गली विरालोका कारण कतिपय दुर्लभ प्रजातिको लोप भएको बताउने गरिन्छ । यद्यपि पछिल्लो समयमा जङ्गली विरालोको संख्या नियन्त्रणका लागि गरिएका विभिन्न उपायले केही दशक यता भने स्थितिमा केही सुधार देखिएको छ ।

सरीसृप प्रजातिको नासको कारक मानिने १० हजार जङ्गली विरालाहरूमा स्थानीय वातावरण वैज्ञानिकले गरेका अध्ययन प्रतिवेदनले सरीसृप प्रजातीका कैयौं दुर्लभ प्राणी विरालोको सिकारका कारण लोप हुने अवस्थामा पुगेको जनाएका छन् । अध्ययन प्रतिवेदनमा जङ्गली विरालोका कारण वार्षिक ६५ करोड छेपारा तथा सर्पहरूको नास हुने गरेको जनाइएको छ ।

‘प्रत्येक जङ्गली बिरालोले औसतमा प्रतिवर्ष २ सय २५ सरीसृपको शिकार गर्ने गरेका छन्’ चार्ल्स डार्विन विश्वविद्यालयका अनुसन्धान समूह तथा अध्ययन समूहका प्रमुख अनुसन्धाता जोन वोइनार्स्कीले भने । अष्ट्रेलियामा वन विरालो संयुक्त राज्य अमेरिका वा यूरोपमा भन्दा बढी सरीसृपको विनासको कारक बन्ने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको उनले बताए । ‘केही जङगली बिरालो त सरीसृपको ठूलो संख्यालाई सिकार गर्दछन् । अध्ययनका क्रममा हामीले केही विरालोको एकै दिनमा झण्डै ४० वटासम्म छेपारा प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाएको पायौं’ उनी भन्छन् ।

‘वाइल्डलाइफ रिसर्च जर्नल’मा प्रकाशित प्रतिवेदन अनुसार अष्ट्रेलियामा विरालोले २ सय ५० विभिन्न प्रजातिका सरीसृपलाई आफ्नो आहारा बनाउने गर्छन् । जसमध्ये मरुभूमिमा पाइने सर्प आकारको ठूलो छेपाराहरू दाडीवाल ड्रेगन तथा घरआँगन वरिपरी पाइने छेपारोजस्ता सरीसृपलाई मार्ने गरेको बताइएको छ । यसमध्ये ११ विभिन्न दुर्लभ प्रजातिका लोपोन्मुख छेपारा रहेका छन् ।

अष्ट्रेलियामा जङ्गली विरालाको संख्या दशौं लाख रहेको छ र यिनीहरू यहाँका स्तनधारी जनावरको लोपका लागि पनि दोषी मानिन्छन् । सोही समूहले गत वर्ष गरेको अनुसन्धानमा जङ्गली विरालोले प्रतिदिन दश लाख पंक्षीको शिकार गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

अष्ट्रेलियाको सरकारले जङ्गली विरालोको बिगबिगीलाई कम गर्न विभिन्न योजनामार्फत वार्षिक दुई करोड ३० लाख अमेरिकी डलर खर्चिदै आएको छ । अष्ट्रेलियाको वन्यजन्तु संरक्षण कार्यक्रमले गत महिना नौ हजार ४ सय हेक्टर मरुभूमि क्षेत्रलाई जङ्गली विरालोबाट स्वतन्त्र बनाउन ४४ किलोमिटर लामो विद्युतीय बार निर्माण गरेको थियो । सरकारले उक्त अभियान अन्तर्गत करिब एक लाख हेक्टर मरुभूमि क्षेत्रको जमिन, जहाँ विरालोको बिगबिगी छ, लाई विद्युतीय तारबार गर्ने योजना छ ।

(रासस/एएफपी)

प्रकाशित समय : २२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु