गृहपृष्ठ एसईई रिजल्ट निकाल्दा त्रुटी कसको ? छानबिन सुरू
एसईई रिजल्ट निकाल्दा त्रुटी कसको ? छानबिन सुरू
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा भएको त्रुटीबारे छानबिन सुरू गरिएकाे छ । परीक्षा नियन्त्रण कार्यालयका अधिकारीले ‘टेक्निकल फल्ट’ भनेपनि त्यसबारे छानबिन गर्न थलिएकाे शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘प्राविधिक त्रुटी नै भएपनि त्यो मानवीय लपार्बाहीसँग जोडिएको हुनसक्छ,’ ती अधिकारीले भने, ‘लाखौँ विद्यार्थी र अभिभावकबाट पनि यसबारे दबाब आइरहेको छ, त्यसैले छानबिन थालेका हाैँ ।’
शनिवार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्दा भएको प्राविधिक त्रुटिका कारण करिब तीन हजार विद्यार्थीको परीक्षाफल प्रभावित भएको थियो । ग्रेड वृद्धि हुने सीमान्त अङ्क ल्याएका विद्यार्थीहरूको डिजिटल लब्धाङ्कपत्रमा समस्या देखिएको थियो । परीक्षाफलमा भएको त्रुटिका कारण कैयौँ विद्यार्थी र अभिभावकले मानसिक तनाव खेप्नुपरेको थियो । परीक्षामा लेखेभन्दा निकै कम अङ्क प्राप्त भएपछि कतिपय विद्यार्थी आश्चर्यमा परेका थिए भने कतिपयले ‘रिचेक’ गराउने तयारी गरेका थिए । तर, केही बेरमै इन्टर्नेटमा संशोधित लब्धाङ्क राखियो । परीक्षा नियन्त्रण कार्यालयले भने एक दिनपछि मात्र आफूबाट त्रुटि भएको स्वीकारेको थियो ।
रिजल्ट निकाल्न नयाँ सफ्टवेयरको प्रयोग गरेको कार्यालयले अङ्कलाई ग्रेडमा रूपान्तरण गर्ने सूत्र भने पुरानै सफ्ट्वेअरको प्रयोग गर्दा त्रुटी भएको बताइएको छ । यो समस्या अङ्क बढ्ने किसिमको भएकाले ठूलो समस्या नआएको जानकारहरु बताउँछन् । घट्ने भएको भए यसको असर निकै ठूलो हुन सक्ने शिक्षा मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।
शिक्षाविद् एवं अभिभावकहरुले यस किसिमको त्रुटी आगामी दिनमा पनि हुन सक्ने भन्दै छानबिनको माग गर्दै आएका छन् । सोही मागबमोजिम उच्चस्तरीय छानबिन समिति नै बनाएर अनुसन्धान थालिएकाे शिक्षा मन्त्रालयका ती अधिकारीले जानकारी दिए । ‘कसको कमजोरीले यस्तो भएको हो, त्यो बाहिर आउनुपर्छ,’ उनले भने, ‘त्यसैले पनि छानबिन समिति गठन गरिएकाे हाे ।’
प्रकाशित समय : १३:४७ बजे



















