चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई
वि.सं.२०८३ कात्तिक २२ आइतवार १९:०२
shares

म्याग्दी।बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ ।
बेनी नगरपालिका–७ मङ्गलाघाटमा रहेको बौद्ध युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका–६ दुखुको मितेरी युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै एभरग्रिन बिजयी भएको हो ।
मनसुन युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी युवा क्लब तेस्रो भएको आयोजक वौद्ध युवा क्लबका सचिव श्यामशुन्दर कँडेलले जानकारी दिनुभयो ।
पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद दुई लाख २२ हजार २२२, उपविजेताले एक लाख ११ हजार १११ र तेस्रोले ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गरेका छन् ।
अनुशासित घोषणा भएको बरबुटा युवा क्लब खबराले रु २२ हजार २२२ प्राप्त गरेको छ । एभरग्रिनका रोशन छन्त्यालले सात हजार ७७७ नगदसहित उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् ।
उत्कृष्ट डिफेन्डर मतेरीका सन्दिप गुरुङ र नौ गोल गरेका पश्चिम म्याग्दीका विपुल कार्की सर्वाधिक गोलकर्ताको उपाधिसहित नगद सात हजार ७७७ नगद पुरस्कार प्राप्त गरेका छन् । गोलरक्षकमा एभरग्रिनका आसिस केसी, फरवार्डमा अमृत तामाङ र मिडफिल्डरमा निराजन खत्री उत्कृष्ट भए । उनीहरुले मेडल, ट्रफी र प्रमाणपत्रसहित नगद रु सात हजार ७७७ का दरले पुरस्कार प्राप्त गरे ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, क्लबका अध्यक्ष दुर्गा बुढामगर, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । दसैँ–तिहार पर्वको अवसरमा कात्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी भएका थिए ।
प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति रु ५० का दरले सङ्कलन गरिएको प्रवेश शुल्कबाट ४० प्रतिशत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट प्रभावितलाई राहत स्वरूप हस्तान्तरण गरिने क्लबका अध्यक्ष बुढामगरले जानकारी बताए । उनका अनुसार प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको छ ।

























