काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रिय कर्णाली’मा इतिहास, संस्कृति र सामाजिक रूपान्तरणका विविध पक्षमाथि विमर्श

441
shares

ललितपुर । कवि राजेन्द्रप्रसाद धितालको नवीन कविता सङ्ग्रह ‘प्रिय कर्णाली’माथि ललितपुरको चाकुपाटस्थित कर्णाली हाउसमा एक विशेष संवाद तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । इन्स्टिच्युट अफ लिबरल आर्टस् एण्ड मिडिया काठमाडौँद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले कर्णालीको ऐतिहासिक सभ्यता, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र सामाजिक यथार्थलाई साहित्यमार्फत थप सशक्त ढङ्गले उजागर गर्नुपर्नेमा जोड दिएका छन् ।

प्राध्यापक डा. सुधा त्रिपाठीले ‘प्रिय कर्णाली’मा प्रकृति, सामाजिक यथार्थ, वर्गीय विभेद, राजनीतिक चेतना र रूपान्तरणका विविध पक्ष समेटिएको बताइन् । कवितामा प्रकृतिलाई जीवन र समाजको केन्द्रका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै उनले बिम्ब र प्रतीकको प्रयोगले थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्न सकिने धारणा राखिन् ।

सङ्ग्रहका कवितामा मार्क्सवादी दृष्टिकोण, मानवतावादी चिन्तन र सामाजिक रूपान्तरणका विषय आएको उल्लेख गर्दै उनले पुँजीवादी उपभोक्तावादी सोच, श्रमिकमाथिको व्यवहार, सत्ताको चरित्र र सामाजिक असमानतामाथि कविले प्रश्न उठाएको बताइन् ।

‘पार्वतीको विद्रोह’, ‘मजदुर दिवस’, ‘सङ्घर्षका गाथाहरू’, ‘इतिहासको अध्याय’ र ‘झोले’लगायतका कविताको चर्चा गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि आम नागरिकको अवस्थामा अपेक्षित परिवर्तन हुन नसकेको विषयलाई साहित्यमा अझ सशक्त रूपमा उठाउनुपर्ने बताइन् । साथै कविताको सिर्जना मिति उल्लेख गर्दा त्यसको समय र परिवेश बुझ्न पाठक तथा अनुसन्धानकर्तालाई सहज हुने उनको भनाइ थियो ।

नेपाल न्यूज बैंकका सम्पादकीय सल्लाहकार तथा राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार धर्मेन्द्र झाले सङ्ग्रहले कर्णालीको सामाजिक, सांस्कृतिक र ऐतिहासिक अवस्था तथा त्यहाँका नागरिकले भोग्दै आएका पीडालाई अभिव्यक्त गरेको बताए ।

कवि धर्मेन्द्र विह्वलका रूपमा समेत परिचित झाले राजेन्द्रका कवितामा कर्णालीप्रतिको गहिरो माया, अपनत्व र सामाजिक चेतना झल्किएको उल्लेख गरे । यसअघि पत्रकार, कवि र राजनीतिक चेतना भएका व्यक्तिका रूपमा चिनेका राजेन्द्रलाई सङ्ग्रह पढेपछि दार्शनिक व्यक्तित्वका रूपमा समेत बुझ्ने अवसर पाएको उनले बताए ।

सङ्ग्रहमा करिब ५० कविता समेटिएको र त्यसमध्ये छवटा कविता विशेष रूपमा कर्णालीसँग सम्बन्धित रहेको उल्लेख गर्दै उनले गरिबी र अभावका अतिरिक्त कर्णालीको सभ्यता, संस्कृति, प्राकृतिक सम्पदा, जीवनशैली र नागरिकको आत्मसम्मान पनि कवितामा आएको बताए ।

बाल्यकालमा बुवाको औँला समाउँदै चिसापानीदेखि जुम्लासम्म नुन बोकेर हिँडेको अनुभव कवितामा समेटिएको प्रसङ्ग उल्लेख गर्दै उनले विगतमा नुनका लागि हिमाली बाटो हुँदै कठिन यात्रा गर्नुपर्ने र अन्न तथा अन्य वस्तुसँग नुन साट्नुपर्ने अवस्थाले तत्कालीन समाजको आर्थिक तथा सामाजिक जीवन बुझ्न सहयोग गर्ने बताए ।

पत्रकारिताको सीमित संरचनाभित्र समाचारका रूपमा समेट्न कठिन हुने समाजका सूक्ष्म पीडा, घटना र अनुभूतिलाई कविताले अभिव्यक्त गर्ने उनको विश्लेषण थियो । ‘सिमल’ कविताको चर्चा गर्दै उनले शिशिरमा पात र फूल गुमाए पनि वसन्तमा पुनः फुल्ने सिमलको बिम्बलाई कर्णालीको अवस्थासँग तुलना गरे ।

उनले २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को आन्दोलनपछिका राजनीतिक तथा सामाजिक परिवर्तनका अपेक्षा, सहिदको योगदान र अधुरा सपनासमेत सङ्ग्रहका कवितामा प्रतिबिम्बित भएको बताए । कर्णालीको इतिहास, भाषा, संस्कृति, परम्परा तथा मूर्त र अमूर्त सम्पदामाथि थप अध्ययन र अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए ।

प्राज्ञ डा. मधुसूदन गिरीले कर्णालीलाई भौगोलिक क्षेत्रका रूपमा मात्र नभई प्राचीन सभ्यता, इतिहास, संस्कृति र मानवीय अनुभूतिको महत्त्वपूर्ण स्रोतका रूपमा बुझ्नुपर्ने बताए । कर्णालीको प्राकृतिक सौन्दर्य, जनजीवन र सङ्घर्षलाई साहित्य तथा कवितामार्फत जीवन्त रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।

कवितामा बिम्बको महत्त्व उल्लेख गर्दै उनले कर्णालीका हिमाल, शिला, डाँफे, मुनाल, कस्तुरी, जडीबुटी, वनस्पति र स्थानीय जीवनशैलीलाई सिर्जनामा प्रभावकारी ढङ्गले समेट्न सुझाव दिए ।

विगतमा कर्णाली तिब्बत र मध्यभारतबीचको महत्त्वपूर्ण व्यापारिक मार्ग रहेको चर्चा गर्दै उनले घोडा, भेडा, ऊन, सुन र जडीबुटीको व्यापारले त्यस क्षेत्रलाई आर्थिक रूपमा समृद्ध बनाएको बताए । प्रस्तरकला, मन्दिर, देवल र वीरखम्बाजस्ता मूर्त सम्पदासँगै लोकगीत, लोकसंस्कृति, भाषा, परम्परा र जातीय जीवनशैलीको गहिरो अध्ययन आवश्यक रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा उमाकान्त अधिकारीले कवि धितालको बहुआयामिक व्यक्तित्व, साहित्यिक चेतना र दार्शनिक पक्षबारे चर्चा गरे । धितालका सिर्जनामा समन्वय, सहकार्य र चिन्तनको संयोजन रहेको उल्लेख गर्दै उनले जन्मभूमिप्रतिको स्नेह, देशभक्ति र सहिदप्रतिको सम्मान अभिव्यक्त भएको बताए । कर्णालीको सांस्कृतिक, सामाजिक तथा भाषिक इतिहास लेखिनुपर्ने आवश्यकतासमेत उनले औँल्याए ।

कार्यक्रममा कवि नरेन्द्र आचार्य, इन्दिरा शाह, चन्द्रप्रकाश बडुवाल, योगेन्द्र शाही र भीमबहादुर भारतीलगायतले कविता वाचन गरेका थिए ।

सङ्ग्रहका सर्जक राजेन्द्रप्रसाद धितालले मार्क्सवादप्रति सम्मान व्यक्त गर्दै त्यसलाई आफ्ना कवितामा उतार्ने प्रयास गरेको बताए । सङ्ग्रहमा धेरै विषय समेट्न नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा थप सिर्जना गर्ने बताए । कार्यक्रममा प्राप्त आत्मीयता, स्नेह र भावनात्मक सहयोगप्रति उनले आभार व्यक्त गरे ।

कार्यक्रममा सहभागी साहित्यकार तथा वक्ताहरूले ‘प्रिय कर्णाली’ले कर्णालीको मौलिक पहिचान, ऐतिहासिक गौरव, सांस्कृतिक विविधता र जनजीवनलाई साहित्यिक विमर्शमा ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।