गृहपृष्ठ चर्चित अपहरणको घटना, डा. उपेन्द्र देवकाेटाकी छोरी पनि अपहरणमा परेकी थिईन्
चर्चित अपहरणको घटना, डा. उपेन्द्र देवकाेटाकी छोरी पनि अपहरणमा परेकी थिईन्
हालै दिबंगत भएका चर्चित न्युरो सर्जन डा. उपेन्द्र देवकोटाकी जेठी मेघा देवकोटा पनि अपहरणमा परेकी थिईन् । पूर्व मन्त्रीसमेत रहेका देवकोटाको काठमाडौंंकै घरबाट छोरीको फिल्मी शैलीमा अपरहण भएको थियो । फिल्मी शैलीमा भएको त्यो अपहरणपछि राजधानीको सुरक्षा व्यवस्था फितलो भएको भन्दै व्यापक बहस चल्दै आएको छ ।
काडाघारीबाट अपहरणमा परेका बालक निशान खड्का मृत फेला परेपछि शुरक्षामा प्रश्न उठाउदै राजधानीबासी थप त्रसित छन् । यो पीडादायी खवर सुन्नुपर्दा एक दश अघिको राजधानीको मेघा ‘अपहरण काण्ड’ले फेरी सबैलाई झस्काएको छ । २०६५ सालमा अपहरणमा परेकी डाक्टर देवकोटाकी जेठी छोरी मेघा हाल डक्टर छिन् । त्यतिबेला उनी अपहरणकारीको पञ्जाबाट सकुशल उम्कन सफल भईन् । अपहरण हुँदा मेघा रातो बंगला स्कूलमा १० कक्षामा पढ्थिन । अहिले २६ बर्षकी उनी त्यतिबेला १६ वर्षकी थिइन् ।
यसरी भएको थियो, मेघाको अपहरण
२०६५ साल साउन १८ गते मध्यरात दुई बजे हेपाली हाइटस्थित देवकोटाको घरमा ६ जनाको समूहमा अपहरणकारी प्रवेश गरे । ६ जनाको मास्क लगाएको हतियारसहितका अपहरणकारी ‘कम्पाउण्ड’ नाघेर भित्र छिरे । घरको माथिल्लो तल्ला उक्लिएपछि डा. उदेवकोटाकी छोरी मेघालाई नियन्त्रणमा लिए । त्यसपछि डा. देवकोटाको बेडरुममा प्रवेश गरेका अपरहणकारीले १० करोड रुपैयाँ बार्गेनिङ गरे ।
अपहरणकारी कम्पाउन छिर्नासाथ टेलिफोन र विजुलीको लाईन काटिदिएका थिए । घरमा भएका मोबाइल फोनहरू पनि पानीमा डुबाइदिएका थिए । दश करोड रुपैया माग भएपछि देवकोटाले तत्काल आफूसँग नभएको बताए । लचिलो बन्दै अपहरणकारीले केही दिनपछी दिए हुने बताए । तर एउटा शर्त राखे । शर्त थियो, पैसा नजुटुन्जेलसम्म परिवारको एकजना सदस्य आफूहरुसँगै जानुपर्ने । डा. देवकोटाले आफू र श्रीमतीलाई सँगै लैजान अनुरोध गरे । तर अपहरणकारीले मानेनन् । उनीहरुले भने, ‘तपाईलाई लगेपछि कसले पैसा म्यानेज गर्छ ?’ डा. देवकोटाले भने, ‘दुई छोरीहरु छन् जसरी पनि खोजेर ल्याउछन् ?’
यो सुनेपछि जेठी छोरी मेघाले बावुआमासँग भनिन्, ‘यिनीहरुसँग मै जान्छु , तपाईहरु नजानुहोस् ।’ मेघाले सम्झाए पनि डा. देवकोटाले सुरुमा मानेनन् । अपहरणकारीसँग को जाने ? र कति पैसा दिने ? भन्ने बार्गेनिङ गर्दा–गर्दै साढे २ घण्टा वित्यो । उनीहरुले पैसा नजुटुन्जेलसम्मलाई जेठी छोरीलाई सँगै लैजाने बताए । विहानको पौने ५ भएको थियो । झरी परेर आकाश खुलेकोले झिमिसे उज्यालो भैसकेको थियो । अपहरणकारीहरुले डा. देवकोटाकै गाडी प्रयोग गरेर मेघालाई अपरहण गरेर लगे । अपहरणमा प्रयोग गरिएको देवकोटाको गाडी उनीहरुले चावहिलमा छाडिदिए र अर्काे गाडी प्रयोग गरे ।
छोरीलाई अपहरणकारीले लगेपछि डा. देवकोटाले तुरुन्त प्रहरीलाई सूचना दिए । यसलगत्तै प्रहरीले एआइजीको नेतृत्वमा अनुसन्धान थाल्यो । प्रहरीलाई जानकारी दिए मेघालाई मारिदिने धम्की दिएकाले प्रहरीले घटना बाहिर सार्वजनीक गरेन । डा. देवकोटाका परिवारले पनि कसैलाई भनेनन् । गोप्य रुपमा अपहरणकारीको उपत्यकाभरी खोजी भयो ।
अपहरणको भोली पल्टै हेम मगरलाई प्ररहीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा मेघालाई बन्धक बनाएर राखिएको घरसमेत पत्ता लागेको थियो । साउन २२ गते पाटनस्थित एक घरमा प्रहरीले घेराउ पनि गर्याे । तर प्रहरीले आक्रमण गरेमा मेघालाई मारिदिने अपहरणकारीले धम्की दिए । त्यसपछि प्रहरीले केही गरेन । तर प्रहरीले जुनसुकै समयमा आक्रमण वा नियन्त्रणमा लिन सक्ने आशंकामा अपहरणकारीले फिरौती रकम घटाए । जति समय लम्बियो उति प्रहरीको फन्दामा पर्ने सभावना बढी रहेको आँकलन गर्दै अपहरणकारीले १० करोड नभई एक करोड ३० लाख भए मेघालाई छाडिदिने बताए । त्यसपछि सोही राति पैसा तयार गरेर डा. देवकोटा पैसा पुर्याउन गए । रातको ११ बजे एक करोड तीस लाख रुपैयाँ दिएपछि, अपहरणकारीले मेघालाई गौशालामा ल्याएर छाडे ।
प्रहरीका अनुसार हेम मगर, सिद्धार्थ लामा, राजु लामा, केशव दर्लामी मगर, राजु थापा, गोकुल गिरी र कृष्ण राई अपहरणमा संलग्न थिए । उनीहरुमध्ये अपहरणका मुख्य दोषी भनिएका राजु थापालाई जिल्ला अदालत काठमाडौले गएको बैशाख १२ गते १७ वर्ष कैद सुनाएको छ । २६ लाख २३ हजार जरिवाना सुनाएको छ । अपहरणमा संलग्न कृष्ण राईबाहेक अहिले सबैले अपहरण, फिरौती असुल र डाँका मुद्दामा सजाय काटिरहेका छन् ।
त्यति बेला अपहरणमा परेकी डाक्टर देवकोटाकी जेठी छोरी मेघा हाल लण्डनको किंग्स कलेजमा अध्ययनरत छिन् । स्वर्गिय डा. देवकोटाका तीन छोरी मेघा, बसुधा र मञ्जरी हुन् । उनीहरु सबै डक्टर हुन् । डा. देवकोटाको गएको असार ४ गते दिवगत भएपछि तिनै छोरीहरुले काजक्रिया गरेका थिए ।
प्रकाशित समय : ००:०७ बजे


















