प्रदेश १ को राजधानी विराटनगर बन्न सक्ने आधार देखियाे
वि.सं.२०७५ साउन २२ मंगलवार २१:१५
shares

१ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर भएसँगै पूर्वकै ऐतिहासिक तथा धार्मिक तथा पर्यटकीय स्थल प्राचीन विराट राजाको दरवार क्षेत्रमा पर्यटकको चहल पहल बढेको छ ।
मोरङको बुद्धनगरस्थित भेडीयारीमा अवस्थित प्राचीन विराट राजाको दरवार अवलोकन भ्रमण तथा अध्ययन अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटकको भिँड लाग्न थालेको हो ।
प्राचीन विराट राजाको दरवार क्षेत्रको अवलोकन तथा अध्ययन, अनुसन्धान भ्रमणका लागि छिमेकी आन्तरिकसँगै भारत तथा तेस्रो मुलुकबाट पर्यटकहरु आउने गरेका विराट राजा दरवार क्षेत्रका संरक्षक कमलकिशोर यादवले जानकारी दिए ।

उनले हालसम्म विराट राजाको दरवार क्षेत्र अवलोकन भ्रमण, अध्ययन, अनुसन्धान तथा शोधपत्र लेख्नका लागि इंग्ल्याण्ड, अमेरीका, भारतलगायत धेरै मुलुकहरुबाट पर्यटकहरु आउने गरेको बताए ।
संरक्षक यादवले अब विराटनगर प्रदेशको अस्थायी राजधानी मात्र नभएर स्थायी नै हुन सक्ने प्रर्याप्त आधार बनेको बताए ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पर्याप्त होटल तथा रेस्टुराँ, खान र बस्नको सुविधाका लागि होटल, लज तथा धर्मशाला निर्माण गर्ने हो भने राज्यले आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ ।

विराट राजा दरवार क्षेत्रको विषेशता
विराटनगरबाट करीब १० किलोमिटर दक्षिण सिमावर्ती साविक बुद्धनगर गाविस स्थित भेडियारीमा पर्ने महाभारतकालिन विराटराजाको दरबारले प्राचीन इतिहास बोकेको छ ।
महाभारतकालमा पाँच पाण्डबहरु गुप्तबासमा रहेका बेला दुर्योधनले पाण्डवहरुको भेद जान्न गुप्तचर पठाएको हुनाले उक्त क्षेत्रको नाम भेडीयारी रहन गएका इतिहास विदहरु बताउँछन् ।
त्यस्तै महाभारतकालमा सो क्षेत्रमा विराट राजाको राज्य रहेको र उनको तबला तथा गोठको गोबर राख्ने ठाउँ हालको विराटनगर रहेकाले यसको नाम गोग्राह हुँदै पछी विराटनगर भएको विभिन्न शोधकर्ता तथा इतिहासकारले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ ।

हाल उक्त क्षेत्रलाई विभिन्न निकायको सहकार्य र सहयोगमा संरक्षण गर्न तारबार गरिएको छ । झट्ट हेर्दा अहिले उक्त क्षेत्रमा माटाको ढिस्को र केही रुखहरु देखिए पनि वि.सं. ०२७ सालमा पुरातत्व विभागले उत्खनन् गर्दा ढिस्को मुनी ईसापूर्व २ सय वर्ष पुरानो विराट राजाको दरबार र अण्डा आकारको मन्दिर फेला पारेको र यसको पुष्टिसमेत भएको संरक्षक यादवले बताए ।
तत्कालिन समयमा उत्खनन गर्दा प्रचीन धातु, माटाका प्राचीन मुद्रा, प्राचीन भाँडाकुँडा तथा प्राचीन हात हतियारसमेत फेला पारिएको थियो ।
कसरी भइरहेको छ संरक्षण ?
स्थानीय कमलकिशोर यादवले करीब अढाई दशक अघिदेखी विराट राजा दरवार क्षेत्रको संरक्षण गर्दै आएका छन् । उनले उक्त क्षेत्रमा फेला परेका प्राचीन बहुमूल्य शिक्का, प्राचीन भाँडाकुडा, महाभारतकालका विभिन्न बस्तु तथा सामग्री आफ्नै निवासमा संकलन गरेर संग्राहालयका रुपमा राखेका छन् ।
संरक्षकको गुनासो
दरबार क्षेत्र संरक्षक यादवले जीवनको करीब २५ वर्षभन्दा बढी समय निस्वार्थ रुपमा विराट राजा दरवार क्षेत्र संरक्षणमा खर्च गरे पनि आफ्नो बेवास्ता गरिएको गुनासो गरे । ‘मैले त दरबार क्षेत्रको हेरचाहमात्रै नभएर महाभारतकालिन बहुमुल्य वस्तु तथा सामग्रीहरु फेला पारेर संकलन गरि राज्यका लागि संरक्षण पनि गरिदिएको छु,’ उनले भने, ‘राज्यले मलाई पनि केही गरिदिनुपर्छ ।’
विभिन्न मुलुकले राज्यलाई योगदान दिने व्यक्तिका लागि विशेष व्यवस्था गरेको बताउँदै उनले आफूलाई राज्यले सम्मान गरिदिनुपर्ने बताए ।

तस्बिर : किशोरसंगम दियाली/न्युज काराेबार






















