ठेकेदारको लापर्बाहीविरुद्ध स्थानीयबासी र व्यापारीद्वारा सडक अवरुद्ध
वि.सं.२०७५ साउन २२ मंगलवार २१:०६
shares

जनकपुरमा सडक विस्तार कार्यमा ठेकेदार कम्पनीले ढिलाई गरेको विरोधमा स्थानीय युवा तथा व्यापारीहरुले चक्काजाम गरेका छन् । सडक विस्तारको ठेक्का लिएर समयमै काम नगरेपछि आजित भएका जनकपुर बासीले मंगलबार सडक नै बन्द गरेर विरोध जनाएका हुन् ।
जनकपुरको थापा चोकमा स्थानीय युवा तथा व्यापारीहरुले महिनौंदेखि सडक विस्तार कार्य नगरेको भन्दै मंगलबार विहान साढे १० बजेदेखि सडक बन्द गरेका हुन् । स्थानिय जनता दलका युवा नेता मंजुर राइनको नेतृत्वमा युवा तथा व्यापारीहरुले सडक जाम गरेका छन् ।
एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा सञ्चालित एकीकृत सहरी विकास परियोजनाको क्रममा ढल निर्माण कार्यका लागि सडकमा ह्युम पाइप ओछ्याउने काम समयमै पूरा नगरेको भन्दै स्थानीय युवा तथा व्यापारीहरु आक्रोशित भएका हुन् ।

जनकपुर नगर क्षेत्रमा निर्माणाधिन ढल निकास र सडक विस्तार कार्य सुस्त गतिमा भई रहेकाले स्थानीय बासिन्दाहरु समस्यामा परेका छन् भने व्यापारीहरुलाई समेत पसल संचालन गर्न समस्या हुँदै आएको स्थानीय व्यापारी शिवशंकर महतोले बताए ।
जनकपुर नगर क्षेत्रमा करिब २७ किलोमिटरमा ढल निमार्णको साथै कालोपत्र गरिनुपर्नेछ । भने जनकपुरधाम उपमहानगरपालिकामा भइरहेको ढल निकासको काम गुणस्तरहिन भएको भन्दै पटक–पटक चर्चा चले पनि अझै गुणस्तरीय काम हुन सकेको छैन ।
केही सडकमा कालोपत्रे गरेको भए पनि काम नसक्दै प्वाल परेकाले ठेकेदार कम्पनीले गरेको कामको प्रश्न उठेको छ । जनकपुरको पिडरिया माइस्थान हुँदै रा.रा.व.क्याम्पस जाने बाटोको बीचमै भ्वाङ परेको छ ।
याे पनि पढ्नुहाेस् ।
ठेकेदारले समयमै काम नगरेपछि जनकपुरबासी आजित, हिलाम्य सडककाे समस्या, खानेपानीकाे झन् ठूलाे समस्या






















