global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४३औं बैठकमा विभिन्न मन्त्रालयले पेस गरेको आफ्ना निकाय मातहतका आयोजनाको यथास्थितिमा ती आयोजनाको प्रगति न्यून मात्रै नभई समस्याग्रस्त रहेको पाइएको छ ।

पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धन गर्ने भनिएको चिनियाँ कम्पनी थ्री गर्जेजसँग पटकपटकको वार्ता सफल हुन नसकेपछि विकल्प खोज्नुपर्ने अवस्था देखिएको छ । ऊर्जा, अर्थमन्त्रालय र लगानी बोर्ड र चिनियाँ लगानीकर्ताबीच भएको छलफल निष्कर्षमा पुग्न नसक्दा आयोजनाको भविष्य अन्यौलमा परेको छ । सो आयोजनाको भौतिक र वित्तीय प्रगति शून्यमा छ ।

विगत ११ वर्षदेखि निर्माण भइरहेको हुलाकी राजमार्गको अवस्था पनि उस्तै छ । सो राजमार्गको हालसम्मको भौतिक प्रगति २५ प्रतिशतमात्रै छ । वित्तीय प्रगति भने ४१.९ प्रतिशत छ । जग्गा प्राप्ति तथा राजमार्ग निर्माण हुने स्थानमा देखिएको प्राविधिक जटिलताका कारण आयोजनाको काम प्रभावकारी हुन सकेको छैन ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाले आयोजना प्रभावितलाई मुआब्जा वितरण गर्नेबाहेक अरु कुनै पनि काम गर्न सकेको छैन । धादिङ र गोरखाका साविक २७ गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने भनिए पनि हालसम्म सात साविक गाविसका प्रभावितलाई मात्रै मुआब्जा वितरण गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आवभित्रै मुआब्जा वितरणलगायतका काम सम्पन्न गर्ने बताएको छ तर आयोजनाको भौतिक प्रगति ९.९ प्रतिशत र वित्तीय प्रगति भने १० प्रतिशतमात्रै छ । आयोजना सुरु भएको पाँच वर्ष भए पनि प्रभावकारी प्रगति हुन सकेको छैन ।

सरकारले सबै साधन स्रोत उपलब्ध गराउने र प्रभावकारी रुपमा तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ २१ वटा परियोजनालाई राष्ट्रिय गौरवका आयोजनाका राखेको छ । त्यसमा १६ वटा आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि छ । यस्तै दुईवटा आयोजनाको प्रगति ५० प्रतिशतमाथि छ । यस्तै ५० प्रतिशतमाथि रहेका आयोजना दुर्इवटा छन् भने प्रगति नखुलेको आयोजनामा एउटा छ ।

त्यस्तै कालीगण्डकी करिडोरको भौतिक प्रगति १० प्रतिशत देखिएको छ । नौ वर्षदेखि निर्माणमा रहेको सो आयोजना पनि जग्गा प्राप्ति, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा समस्यामा परेको छ । सो आयोजनाले हालसम्म ८.४ प्रतिशतमात्रै वित्तीय प्रगति गरेको छ ।

कर्णाली अञ्चललाई यातायात सञ्जालमा जोड्ने लक्ष्यका साथ निर्माण भइरहेको कर्णाली करिडोरको अवस्था पनि उस्तै रहेको छ । आयोजनाको काम भइरहेको जस्तो देखिए पनि राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको पछिल्लो प्रतिवेदनमा सो करिडोरको भौतिक प्रगति १२ प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत छ । सो परियोजना नौ वर्षदेखि सञ्चालनमा छ ।

यस्तै, रेल्वे तथा मेट्रो विकास आयोजनाको प्रगतिसमेत न्यून छ । आयोगका अनुसार सो आयोजनाको वित्तीय प्रगति १३.७ प्रतिशत र वित्तीय प्रगति १४.९ प्रतिशत छ । आठ वर्षदेखि सञ्चालनमा रहेको आयोजना पनि आशातित सफलता हासिल गर्न सकेको छैन ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका केही आयोजना भने चालू आवमा नै सम्पन्न हुने चरणमा पुगेका छन् । त्यसमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना चालू आवमा नै सम्पन्न हुनेछ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार आयोजना सम्पन्न हुने मिति आगामी पुस मसान्त राखिएको भए पनि एकाध महिना बढ्न सक्छ ।

यस्तै, २७ वर्षदेखि काठमाडौं उपत्यकावासीको प्रतीक्षामा रहेको मेलम्ची खानेपानी आयोजनासमेत चालू आवमा नै सम्पन्न हुँदैछ । माथिल्लो तामाकोशीको भौतिक प्रगति ९७ प्रतिशत छ भने वित्तीय प्रगति ९९ प्रतिशत छ । यस्तै मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको पनि भौतिक प्रगति ९० प्रतिशत रहेको छ । बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ६० प्रतिशत रहँदा रानीजमराको ३६ प्रतिशत मात्रै प्रगति देखिएको छ ।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत छ । सो विमानस्थल नौ महिनाभित्र सञ्चालनमा ल्याउने तयारीमा सरकार छ । त्यस्तै पोखरा विमानस्थलको प्रगति १५ प्रतिशत छ ।

केही आयोजनाको प्रगति सकारात्मक रहे पनि केहीको प्रगति भने निराशाजनक छ । सम्पन्न हुन लागेका आयोजनालाई समयमै सक्न र प्रगति निराशाजनक आयोजनाका समस्या समाधान गरेर तत्काल परिणाम निकाल्न सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक प्रगति कमजोर रहेका आयोजनाको समस्या पहिचान गरेर तत्काल निरुपण गर्न निर्देशन दिएका छन् ।

प्रकाशित समय : २३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु