गृहपृष्ठ प्रचण्डको सम्झनामा पोष्टबहादुर
प्रचण्डको सम्झनामा पोष्टबहादुर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय वामपन्थी नेता पोष्टबहादुर बोगटीलाई अद्भूत क्षमता भएका नेताका रुपमा सम्झिएका छन् । नेपा बोगटीको वि सं. २०७१ भदौ ३० गते सोमबार ६२ वर्षको उमेरमा हृदयघात र मस्तिष्कघातका कारण निधन भएको थियो ।
०००
नेपालमा विभिन्न समयमा विभिन्न किसिमका आन्दोलन भएका छन् । ती आन्दोलनमा हजारौं लाखौं युवाले सहभागिता जनाएका छन् । त्यसरी आन्दोलनमा सहभागी हुने राष्ट्र र जनताको निम्ति काम गर्ने सन्दर्भमा धेरै होनहार नेता कार्यकर्ताको विकास आन्दोलनले गरेको छ । तर, तीमध्ये पनि केही नेता बडो विशिष्ट योगदान, विशिष्ट चरित्र र साँच्चै सबैको निम्ति प्रेरणा दिने विशिष्ट पात्रको रुपमा इतिहासले विकास गर्दोरहेछ । कमरेड पोष्टबहादुर बोगटी त्यस्तै एउटा विशिष्ट प्रतिभा, क्षमता र गुण भएको एउटा असल कम्युनिस्ट नेता हुनुहुन्थ्यो । र, उहाँको व्यक्तित्व यस्तो थियो, उहाँले विचारप्रति वैराचिक निष्ठा आन्दोलनको दृष्टिले एउटा राम्रो उदाहरण प्रस्तुत गर्नुहुन्थ्यो भने व्यावहारिक कार्यकुशलताका हिसाबले उहाँले सबैसँग बडो सहज ढंगले, सरल ढंगले, पारदर्शी ढंगले, सबैसँग सहकार्य गर्न सक्ने एउटा अदभूत क्षमता कमरेड पोस्टबहादुर बोगटीमा थियो ।
सबैमा त्यो गुण चाहेर पनि विकास हुँदो रहेनछ । कमरेड पोष्टबहादुर बोगटीको व्यक्तित्व त्यस्तो थियो, पार्टीमा जतिबेला वैचारिक बहस चल्थ्यो, अन्तरसंघर्ष हुन्थे, पार्टीभित्र युद्धको बेलामा या शक्तिको बेलामा चल्ने बहसमा उहाँ त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले उहाँभन्दा माथिल्लो पदमा रहेका नेताहरुलाई पनि आफ्नो इमानदारीद्वारा, आफ्नो पारदर्शी र सरलताद्वारा केही उनीहरुले गल्ती कमजोरी गरे भने कठोर रुपले प्रस्तुत हुन सक्ने र नेताहरुलाई पनि कन्ट्रोल गर्न सक्ने विचित्र किसिमको क्षमता कमरेड पोस्टबहादुर बोगटीमा थियो । मलाई अहिले धेरै लामो व्याख्या गर्नेभन्दा पनि के महसुस हुन्छ भने आज कमरेड पोष्टबाहादुर बोगटी जीवित रहेको भए उहाँ एकातिर त सबैभन्दा बढी खुसी हुने व्यक्तिभित्र पर्नुहुन्थ्यो । किनकि, उहाँ जहिल्यै पनि कम्युनिस्ट आन्दोलमा एकताको पक्षमा आफ्ना धारणा राख्ने गर्नुहुन्थ्यो । हामी युद्धबाट शान्तिमा आइसकेपछि शान्ति सम्झौतमा हस्ताक्षर भइसकेपछिको पहिलो केन्द्रिय समितिको बैठक म अहिले स्मरण गर्न चाहन्छु, त्यो बैठकमा हामीले कम्युनिस्ट आन्दोलनको एकताबारे प्रस्ताव गरेका थियौं र त्यो प्रस्तावको पक्षमा अत्यन्तै सक्रियरुपमा उत्साहपूर्वक वातावरण बनाउने र केन्द्रीय समितिमा सर्वसम्मत गराउनमा कमरेड पोस्टबहादुर बोगटीको ठूलो हात थियो । र, हामीले त्यतिबेला नै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादीको बीचमा पार्टी एकता आवश्यक छ र, यो देशमा कम्युनिस्टहरुको एउटा शक्तिशाली केन्द्र बनाएरमात्रै हामीले देशलाई सही ढंगले नेतृत्व गर्न सकिन्छ भन्ने विचार र धारणामा उहाँ बडो प्रस्ट र प्रखर हुनुहुन्थ्यो । यस अर्थमा अहिले हामी यहाँ पार्टी केन्द्रीय कार्यालयमा एउटा एकीकृत पार्टीको रुपमा यो श्रद्धाञ्जली गर्दैगर्दा यदि उहाँ जीवित भएको भए मलाई लाग्छ, सबैभन्दा खुसी हुने, सबैभन्दा गौरव गर्ने व्यक्तित्वभित्र पर्नुहुन्थ्यो ।
म दोस्रो के भन्न चाहन्छु भने मलाई उहाँको अभाव हरेक कदममा खड्किने गर्छ । नयाँ पार्टी हामीले बनाएका छौं, अब हामीले यसलाई पूर्णता दिनेतर्फ अगाडि बढ्दै छौं । एउटा असाधारण परिघटनाको रुपमा हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने पहल गर्यौं । तर, यो काम पक्कै पनि सहज विषय होइन । यो सरलबाट जटिलतातिर जाने नियमअनुसार नै हामीले अझ धेरै मेहनत गर्नुपर्ने, अझ धेरै छलफल गर्नुपर्ने, धेरै किसिमका अफ्ठ्याराहरुको सामना गर्नुपर्ने हुन्छ ।
आज मैले कमरेड पोस्टबहादुर बोगटीलाई स्मरण गर्दै गर्दा यदि उहाँ भएको भए अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष कमरेड केपी ओली र म दुईजना पार्टी अध्यक्षको रुपमा रहेका छौं । अरु पनि हामी नेताहरु छौं । हाम्रो बीचमा कहिलेकाहीँ समस्या पनि हुनसक्छ, कतिपय विषयमा कुरा मिलाउन अफ्ठ्यारो हुन पनि सक्छ, म कमरेड पोष्टबहादुरलाई विशेष रुपमा यसअर्थमा सम्झिन चाहन्छु कि उहाँको यस्तो व्यक्तित्व थियो, उहाँको इमादारी, उहाँको पारदर्शिता, उहाँको सरलताले गर्दा पनि ठूल्ठूला नेताहरु पनि उहाँका कुरा गम्भीर रुपले सुन्नैपर्ने, त्यो अवस्थामा हामी यो पार्टी एकतालाई पनि पूर्णता दिने प्रक्रियामा उहाँ जस्तो नेता भएको भए धेरै सजिलो हुन्थ्यो भन्ने मलाई लाग्छ ।
कमरेड पोस्टबहादुर बोगटीलाई नै स्मरण गर्दा यो महसुस गर्ने गर्छु । हिजो युद्धकालमा पनि र शान्ति प्रक्रियामा आएपछि पनि पार्टीभित्र गम्भीर बहस र छलफल हुने गर्थे । र, कहिलेकाहीँ जटिल प्रकृति पनि केन्द्रिय कमीटीमा पैदा हुने गथ्र्यो । वरिष्ठ नेताहरुकै बीचमा पनि निकै जटिलता र अफ्ठ्याराहरु उत्पन्न हुने गर्थे । यस्तो बेलामा कमरेड पोस्टबहादुर बोगटी अगाडि बढेर उहाँले गम्भीरताका साथ टेबुल ठोकेर बोल्दा झगडा गर्ने नेताहरु, बहस गर्ने नेताहरु गल्ती गरियो कि भनेर फेरि पछि हटेर सोच्नुपर्ने, फेरि समझदारी गर्नुपर्ने थुप्रै शृंखला मैले र हामी सबै त्यति बेला एकै ठाउँमा रहेर काम गर्ने नेताहरुलाई थाहा छ । यस अर्थमा, उहाँ एउटा विशिष्ट क्षमता भएको कम्युनिस्ट नेता र योद्धा हुनुहुन्थ्यो, त्यो रुपमा म उहाँलाई स्मरण गर्न चाहन्छु ।
अर्को कुरा, उहाँ फेरि पार्टीभित्र वैचारिक र निष्ठाका हिसाबले जहिल्यै पनि एउटा स्पष्टताका साथ अगाडि बढ्नुहुन्थ्यो तर साथै सबै विचार र पक्षहरुसँग, विभिन्न प्रवृत्तिसँग सहकार्य गर्न सक्ने, सबैले उत्तिकै माया र विश्वास गर्ने पात्र पनि हामीले अलि विरलै पाइने रहेछ । जहिल्यै त्यस्तो पात्र भेटिँदैन । कमरेड पोष्टबहादुर बोगटी त्यस्तै पात्र मध्ये हुनुहुन्थ्यो । विभिन्न प्रवृत्तिका नेता कार्यकर्तासँग भिन्न राजनीतिक दलहरुसँग पनि छोटो समयमा सहज ढंगले आफूलाई प्रस्तुत गर्न सक्ने र अनि विषयमा बडो सरल तरिकाले आफ्नो पक्षमा सहमति बनाउन सक्ने एउटा गुण पनि कमरेड पोष्टबहादुर बोगटीमा थियो । त्यसले गर्दा यहाँ जब पहिलो संविधानसभा भएपछि उहाँ संविधानसभामा तत्कालीन माओवादीका तर्फबाट प्रमुख सचेतक हुनुहुन्थ्यो ।
सुवास नेम्वाङले पटकपटक भन्ने गर्नुहुन्छ, प्रमुख सचेतको रुपमा उहाँले संविधानसभाभित्र सहमति जुटाउन जस्तो भूमिका खेल्नुभयो, त्यो अविस्मरणीय छ । तत्कालीन सभामुख सुवास नेम्वाङले जहिले पनि पोष्टबादुर बोगटी एउटा विलक्षण क्षमताको मान्छे नभएको भए त्यतिबेला उत्पन्न भएको जटिल परिस्थितिलाई सरल ढंगले समाधान गर्न सकिँदैन थियो भनेर अरु पार्टीका नेताहरुले पनि उहाँलाई त्यस्तो व्यक्तित्वको रुपमा लिएको हामीले महसुस गरेका छौं । एकपटक फेरि हामी अगाडि बढ्दै छौं, नयाँ युगतिर हामी जाँदै छौं र उहाँलाई स्मरण गर्न चाहन्छु । हामी सबैले उहाँको गुणबाट सिक्नुपर्ने पनि सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।
अर्को कुरा उहाँ जनतालाई माया गर्ने, कार्यकर्तालाई माया गर्ने, कसैलाई दुःख पर्यो भने सहयोगको हात फैलाइहाल्ने, कुनै विभेद, आग्रह–पूर्वाग्रह केही पनि उहाँको हुँदैन थियो । त्यसकारण उहाँ लोकप्रिय नेताको रुपमा पनि देशैभर स्थापित हुनुहुन्थ्यो । यसकारण पनि कि उहाँको कार्यक्षेत्र कहिले सेती–महाकाली, कहिले राप्ती, कहिले उपत्यका कहिले कहाँ कहिले कहाँ, उहाँ देशैभर घुम्नुभएको थियो । र, विभिन्न कालखण्डमा विभिन्न जिम्मेवारीमा उहाँ रहनुभएको थियो ।
त्यसो गर्दा उहाँले जनतासँग र कार्यकर्तासँग जे गर्नुहुन्थ्यो, त्यो कुलशताका कारणले उहाँलाई सबैले मन पराउने, माया गर्ने, विश्वास गर्ने, भरोसा गर्ने, पोष्टबहादुर बोगटी आउनुभयो भनेपछि सबैलाई सुखी पार्न सक्ने माहोल तयार गर्न सक्ने क्षमता पनि कमरेड पोष्टबहादुर बोगटीमा थियो । अफ्ठ्यारो परेका बेलामा को पठाउनेभन्दा हामी सबैले पोष्टबहादुर बोगटीलाई पठाउने, जहाँ झगडा हुन्छ, कुनै क्षेत्रमा जिल्लामा उहाँलाई पठाएपछि विभिन्न तरिकाले छलफल गर्दै सकारात्मक ढंगले समाधान गर्न सक्ने अनि कोही बिरामी पर्यो भने घाइते भयो भने समस्यामा पर्यो भने त्यसलाई बडो सहृयका साथ सहयोग गर्ने भावनाका कारणले पनि लोकप्रिय नेताको रुपमा पनि उहाँको विकास भइरहेको थियो ।
उहाँको निधन जसरी भयो, सिंगै राष्ट्र शोकाकुल भयो, त्यो बेला, त्यतिबेला त हामी पार्टी एकता त गरिसकेको थिएनौं तर पनि हामी दुबै पार्टीका नेता कार्यकर्ताले पनि कमरेड पोष्टबहादुर बोगटीप्रति हृदयदेखि नै श्रद्धाञ्जली र सम्मान प्रकट गरियो । अन्य राजनीतिक दल, संसद तथा आमनागरिकले पनि एउटा एस्तो योद्धालाई असामयिक रुपले गुमाउनुपरेको परिस्थिति सबैले महसुस गरे, सिंगै राष्ट्रले महसुस गर्यो । किनकि, उहाँको उमेर जम्मा ६५ वर्षमात्र भएको थियो, हामीलाई आशा थियो, अझै १०–२० वर्ष पार्टीमा, आन्दोलनमा र देशमा काम गर्नु हुनेछ र हामी एउटा नयाँ युगमा जाने प्रक्रियामा थियौं र उहाँ त्यसको असल कालीगढको रुपमा भूमिका खेल्नुहुनेछ भन्ने आशा गरेका थियौं । तर, विडम्बना हृदयघात र मस्तिष्कघात जस्तो भयानक झड्काले उहाँलाई लग्यो । एउटा अपुरणीय क्षति हामीलाई भयो ।
मानिसहरु अगाडि आउँछन् आन्दोलनमा धेरै आउँछन् । तर, यस्तो हैसियत प्राप्त गर्ने पार्टी पनि, जनतामा पनि, आन्दोलनमा पनि अन्य धेरै ठाउँमा पनि कममात्र पात्रलाई यस्तो हैसियत प्राप्त हुँदोरहेछ, यस्तो हैसियत प्राप्त गर्ने एक होनहार नेता हुनुहुन्थ्यो, कमरेड पोष्टबहादुर बोगटी । आन्दोलनका क्रममा उहाँका छोरा एक होनहार योद्धा रवि बोगटीको हत्या भयो, उहाँ सहिद हुनुभयो, त्यो भनेको पनि एउटा निकै नै पीडादायक क्षण थियो तर त्यसलाई पनि पचाएर अरुलाई ढाडस दिएर, परिवारलाई सम्हालेर फेरि आन्दोलनमा निरन्तर अगाडि बढ्ने एउटा उदाहरण उहाँले प्रस्तुत गर्नुभयो ।
(बोगटीको चौथो स्मृति सभामा प्रचण्ड)
स्वर्गीय बोगटीको राजनीतिक जीवन
२०२५ सालदेखि वाम राजनीतिमा संलग्न भई २०३४ सालमा पुष्पलाल समूहको नुवाकोट जिल्ला सम्पर्क समितिको सचिव, २०३७ सालमा संयुक्त चौथो महाधिवेशनमा आबद्ध भई जिल्ला संगठन समितिको सेक्रेटरी, २०४३ सालमा नेकपा (मशाल) को बागमती क्षेत्रीय ब्युरो सदस्य, २०४५ सालमा केन्द्रीय सदस्य, २०४८ सालको नेकपा (एकता केन्द्र)को एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०५४ सालमा नेकपा(माओवादी) को पोलिट्ब्यरो सदस्य तथा पश्चिमाञ्चल क्षेत्रीय ब्युरो इन्चार्ज, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा केन्द्रीय सचिव, २०६९ माघमा हेटौंडामा भएको एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित बोगटी २०७१ वैशाखमा भएको विराटनगर राष्ट्रिय सम्मेलनपछि जेठमा भएको केन्द्रीय समितिबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।
बोगटी २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट–३ बाट संविधानसभा सदस्य निर्वाचित भई संसदीय दलको प्रमुख सचेतक, ऊर्जामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भएका थिए ।
बोगटी २०४१ सालमा पञ्चायत विरोधी आन्दोलनमा १५ दिन हिरासतमा, २०४२ सालको बमकाण्डमा एक वर्ष केन्द्रीय कारागार र २०४५/४६ सालको जनआन्दोलनमा एक महिना नुवाकोट जेल बसेका थिए ।
प्रकाशित समय : २१:५० बजे



















