global ime bank Long Banner Ad

गृहपृष्ठ बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास

बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास

बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निरीक्षक निम डिकी शेर्पाले नयाँ इतिहास रचेकी छन् । उनी सगरमाथा र ल्होत्से दुवै हिमाल आरोहण गर्ने पहिलो महिला सशस्त्र प्रहरी कर्मचारी बनेकी छन् ।

विशेष कुराकानीमा शेर्पाले आफ्नो यो उपलब्धि बाल्यकालदेखि मनमा बसेको सपनाको परिणाम भएको बताइन् । हिमाल आरोही पासाङल्हामु शेर्पाको जीवनकथा पढेपछि आफूमा हिमाल आरोहण गर्ने प्रेरणा जागेको उनको भनाइ छ ।

‘यो मेरो बाल्यकालदेखिको सपना थियो । त्यसलाई साकार बनाउन सशस्त्र प्रहरी बल नेपालको ठूलो भूमिका छ । संगठनमा प्रवेश गरेपछि मभित्र आत्मविश्वास अझ बढ्यो, तर हिमाल आरोही पासाङल्हामु शेर्पाको जीवनकथा पढेपछि आफूमा हिमाल आरोहण गर्ने प्रेरणा जागेको हो,’ उनले भनिन् ।

सगरमाथाको चुचुरोमा पुगेपछि आँसु झर्यो

आरोहणअघि आफूले लोबुचे हिमाल चढेर उच्च हिमाली वातावरणसँग अभ्यस्त हुने अभ्यास गरेको बताउँदै शेर्पाले सगरमाथाको चुचुरोमा पुगेको क्षण जीवनकै अविस्मरणीय अनुभव भएको सुनाइन् । उनका अनुसार त्यतिबेला उनले सबैभन्दा पहिले भगवानलाई सम्झिएकी थिइन् ।

उनले भनिन्, ‘फस्र्टमा त मैले ‘हाई’ पचाउनका लागि भनेर लोबुचे पिक चढें, सगरमाथाको शिखरमा पुग्दा म निशब्द भएँ । आँखाबाट आँसु झरिरहेको थियो । विश्वकै सर्वोच्च बिन्दुमा पुगेको अनुभूति शब्दमा व्यक्त गर्न सकिँदैन, एक त थ्याङ्क्यु भगवान भनें । किनभने हामी सबै कुराबाट पोक्त हुँदाहुँदै पनि कहिलेकाहीँ भाग्यले साथ नदिई त्यहाँ पुग्न सक्दैनथ्यौँ। त्यही भएर ‘थ्याङ्क गड’ म तपाईंको कारणले यहाँ छु भन्नेभयो ।’

उनले भाग्यले साथ नदिए शिखरमा पुग्न सकिँदैन त्यसैले भगवानप्रति कृतज्ञता व्यक्त गरेको आफ्नो अनुभव सुनाइन् ।

ल्होत्से आरोहण अझ कठिन

निम डिकी शेर्पाका अनुसार सगरमाथाभन्दा ल्होत्से आरोहण उनको लागि बढी चुनौतीपूर्ण रह्यो । सगरमाथा आरोहणपछि आएको शारीरिक थकान, अनिद्रा, अक्सिजनको कमी, प्रतिकूल मौसम र पर्याप्त खानपानको अभावले ल्होत्से आरोहण कठिन बनेको उनको अनुभव छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भनिन्, ‘ल्होत्से चढ्दा गाह्रो भएको थियो । सगरमाथा चढेर आउँदा पछिको थकानले पनि होला रातको अनिन्द्रा, मौसमको चुनौती, अक्सिजनको कमी पनि होला । खाना पचिरहेको थिएन्, त्यस कारण पनि समस्या भएको हो ।’

उनले हिमाल चढ्दा चुनौतीे शारीरिक र मानसिक दुवै हुने गरेको बताइन् । उनले हिमाल चढ्दा शारीरिक मात्र नभइ मानसिक रूपमा पनि निकै बलियो हुनुपर्ने बताइन् ।

उनल भनिन्, ‘हिउँ परिरहने, माथिबाट आइसफल खसिरहने अवस्था थियो । पहिले त मौसमी चुनौतीको सामना गर्नुपर्यो । मौसम कतिबेला के हुन्छ भन्ने कुरा नै थाहा हुँदैन । सगरमाथा जाँदा ‘डेथजोन’ लाई नै क्रस गरेर आएको हुन्छौँ । हामीले शारीरिक, मानसिक सबै चुनौती भोग्नुपर्ने हुन्छ । तर आफूमा एकदम आत्मविश्वास बढाउन चाहीं पर्छ । म सक्छु भन्ने भावनालाई लिएर अगाडि बढ्नुपर्ने हुन्छ ।’

एक वर्षको तयारी, तीन महिनाको विशेष प्रशिक्षण

आरोहणका लागि आफूले करिब एक वर्षअघिदेखि आवश्यक प्रक्रिया र स्वीकृतिहरू पूरा गरेको तथा अन्तिम चरणमा तीन महिना विशेष प्रशिक्षण लिएको उनले बताइन् । संगठनको सहयोगबिना यो उपलब्धि सम्भव नहुने उनको भनाइ थियो।

‘विशेष आरोहणकै लागि भनेर करिब तीन महिना प्रशिक्षण लिए । त्यो भन्दा अगाडि नीति नियमहरू बुझें । म संगठनलाई प्रतिनिधित्व गर्ने मान्छे, सरकारको नीति नियमहरूलाई पालना गर्नुपर्ने हुन्छ । त्यसको लागि करिब एक वर्ष अगाडिदेखि तयारी गरेको हुँ । जब उताबाट स्वीकृतिहरू आउन थाल्यो, त्यसपछि करिब तीन महिनाको बिचमा नै जाने निर्णय सबै भयो । संगठनले समय व्यवस्थापनदेखि लिएर मानसिक हौसला दिनेसम्म सबै प्रकारको सहयोग गर्याे,’ उनले भनिन् ।

हार मान्ने अवस्था आयो, तर जिम्मेवारीले अघि बढायो

लोबुचे हिमाल आरोहणपछि केही दिन बिरामी परेपछि आफूले आरोहण छाड्ने सोच बनाएको क्षण पनि आएको शेर्पा सम्झन्छिन् । परिवारले समेत अर्को वर्ष प्रयास गर्न सुझाव दिएको थियो ।

तर त्यसबेला आफूले केवल व्यक्तिगत सपना पूरा गर्न नभई सशस्त्र प्रहरी बल नेपाल र सम्पूर्ण नेपाली महिलाको प्रतिनिधित्व गरिरहेको महसुस गरेको उनले बताइन् ।

‘म एक्लै निम डिकी शेर्पा मात्र होइन, मेरो पछाडि संगठन थियो । म एक महिला भएर अगाडि बढिरहेकी थिएँ। त्यही सोचले मलाई पुनः उठ्न र अघि बढ्न प्रेरित गर्याे,’ उनले भनिन् ।

परिवारको साथ र श्रीमानको विश्वास

आरोहणको सुरुवाती चरणमा श्रीमानले जोखिमका कारण नजान आग्रह गरे पनि सफलतापछि सबैभन्दा बढी खुसी उनै भएको शेर्पा बताउँछिन् ।

‘परिवारमा चिन्ता स्वाभाविक थियो । तर मैंले एकपटक प्रयास गर्छु भनेर हिँडेकी थिएँ। सफल भएर फर्किएपछि परिवारको गर्व र खुसी देख्दा झन् हौसला मिल्यो,’ उनले भनिन् ।

महिलाका लागि प्रेरणा

हिमाल आरोहणको क्रममा महिलाहरूले मासिक धर्मलगायत शारीरिक चुनौती पनि सामना गर्नुपर्ने अनुभव सुनाउँदै शेर्पाले महिलाहरूले आत्मविश्वासका साथ अघि बढे कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न सक्ने बताइन् ।

‘हामी केवल घरपरिवारको जिम्मेवारी पूरा गर्नका लागि मात्र जन्मेका होइनौँ। इच्छा शक्ति, मेहनत र आत्मविश्वास भए महिलाले पनि जुनसुकै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्छन्,’ उनले भने ।

उनले आफूभन्दा अगाडिका महिला आरोहीहरूबाट प्रेरणा पाएको उल्लेख गर्दै आगामी पुस्ताका महिलालाई आफ्ना सपना पछ्याउन आग्रह गरिन् ।

हिमाल संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड

नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भएकाले हिमाल संरक्षण र पर्यटन प्रवद्र्धनमा सबैले योगदान गर्नुपर्ने शेर्पाको धारणा छ ।

उनका अनुसार हिमाल संरक्षणका विषयमा बारम्बार आरोहण गर्ने अनुभवी आरोहीहरूका अनुभव अझ महत्त्वपूर्ण हुन्छन् । साथै विदेशी पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराएर नेपालको पर्वतीय पर्यटनलाई अझ सशक्त बनाउनुपर्ने उनको सुझाव छ ।

फेरि कर्तव्यतर्फ

हाल विभिन्न कार्यक्रम र अन्तर्वार्तामा व्यस्त रहेकी शेर्पा केही समय विश्रामपछि पुनः आफ्नो नियमित जिम्मेवारीमा फर्किने तयारीमा छिन् ।

‘आगामी दिनमा के हुन्छ समयले नै बताउँछ । अहिले मेरो प्राथमिकता संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नु हो,’ उनले भनिन् ।

हार नमानेको अठोटले दिलायो दोहोरो सफलता

तर आरोहणको यात्रा सुरु गर्दा निम डिकी शेर्पाको लक्ष्य केवल सगरमाथाको चुचुरोमा पुग्ने थियो । ल्होत्से आरोहणको योजना मनमा भएपनि त्यो आत्मविश्वास भने बिस्तारै उचाइसँगै बढ्दै गएको थियो । तर सपना पूरा गर्ने बाटो सहज थिएन ।

लोबुचे पिक आरोहणपछि उनी अचानक बिरामी परिन् । लगातार पाँच–छ दिन आराम गर्नुपर्यो । शरीर कमजोर थियो, मनमा अन्योल थियो । श्रीमानले पनि जोखिम नलिन आग्रह गर्दै अर्को वर्ष प्रयास गर्न सुझाव दिनुभएको थियो । एक क्षण त उनलाई पनि लाग्यो सायद अब यात्रा यहीँ टुंगिन्छ, सायद अब फर्किनुपर्छ ।

तर त्यो निराशाको बीचमा उनले आफूलाई फेरि सम्झाइन् । उनी केवल निम डिकी शेर्पा मात्र थिइनन् । उनको पछाडि एउटा संगठनको विश्वास थियो, सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी थियो । त्यसमाथि उनी हजारौँ नेपाली छोरीहरूको सपना र सम्भावनाको प्रतीक बनेर अघि बढिरहेकी थिइन् । यही सोचले उनलाई फेरि उठ्न, लडाइँ जारी राख्न र लक्ष्यतर्फ अघि बढ्न ऊर्जा दियो ।

उनी शेर्पा समुदायकी छोरी थिइन्, बुहारी थिइन्, तर त्यसभन्दा माथि राष्ट्रको सुरक्षा निकायको प्रतिनिधि थिइन् । उनलाई चिन्ने धेरैका लागि उनी केवल निम डिकी शेर्पा होइनन्, सशस्त्र प्रहरी बल नेपालको एउटा अनुशासित र साहसी कर्मचारी थिइन् ।

त्यसैले उनले हार मानिनन् । अन्ततः जब उनी शिखरमा पुगिन्, उनले सबैभन्दा पहिले सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराइन् । प्रतिकूल मौसम र तीव्र हावाहुरीका बीच पनि संगठनको पोसाक शिखरमा पुर्याएर लगाउने आफ्नो सपना पूरा गरिन् ।

त्यो केवल एउटा आरोहणको सफलता थिएन । त्यो विश्वास, जिम्मेवारी, साहस र अडानको विजय थियो । कठिन परिस्थितिमा पनि आफूलाई नहार्ने अठोटले एक महिलालाई विश्वका दुई अग्ला हिमशिखरहरूको सफल आरोही बनायो ।

साहस, दृढ संकल्प र अथक मेहनतका साथ सगरमाथा र ल्होत्सेको शिखर चुमेकी निम डिकी शेर्पाको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली महिलाको क्षमता, आत्मविश्वास र सम्भावनाको प्रेरणादायी उदाहरण पनि हो ।

प्रकाशित समय : ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु