विपद्बाट क्षतिग्रस्त निजी आवास सर्वेक्षण प्रभावित
वि.सं.२०८३ मंसिर २ बुधवार १५:२१
shares

सारांश
- ३४ गोठ पूर्ण र ४६ वटामा आंशिक क्षति पुगेको छ । विपद् प्रभावित क्षेत्रका १३ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।
- ३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन् ।
- मनसुनजन्य विपद्बाट म्याग्दीमा यस वर्ष १० जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् ।
म्याग्दी । ‘एप्लिकेसन’ नचल्दा यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि सर्वेक्षण गर्ने काम प्रभावित भएको छ ।
सरकारको ‘विपद् एसिसमेन्ट टुल्स’ (ब्याट) नचलेका कारण क्षतिग्रस्त निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सर्वेक्षणको काम अघि बढ्न नसकेको हो । बेनी नगरपालिकाको विपद् सम्पर्क व्यक्ति बिष्णु पौडेलले स्थलगत रुपमा प्रभावित ठाउँमा पुगेर विवरण भर्न प्रयोग हुने एप्लिकेसन नचलेका कारण प्राविधिकहरुलाई खटाउन नपाएको बताए ।
“विपद्बाट क्षति पुगेका संरचना भएकै ठाउँमा पुगेर जिपिएस डाटा सहितका विवरण र तस्विर अपलोड गर्नका लागि एप्लिकेसन आवश्यक पर्छ”, उनले बताए, “एप्लिकेसन सञ्चालन हुनासाथ प्राविधिक जनशक्ति परिचालन गर्न तयार छौँ ।”
जिल्ला विपद् व्यवस्थापन समितिले गत कात्तिक १३ गते आगामी २०८४ जेठ १५ गतेसम्म निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तयार गरेको १२ बुँदे कार्ययोजनाअनुसार तिहार अघिनै सर्वेक्षण सुरु गर्नुपर्ने थियो ।
देशभरका सरकारी वेभसाइटहरुसँगै विपद् व्यवस्थापनसम्बन्धी एप्लिकेसनमा पनि प्राविधिक समस्या आएको हो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोख्रेलले निजी आवासको क्षतिको मुल्याङ्कन र लाभग्राही पहिचानको प्रक्रिया अघि बढाउन एप्लिकेसन आवश्यक पर्ने बताए ।
सरकारले असोज २१ गते म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । म्याग्दीका विपद् प्रभावितले निजी आवास पुनर्निर्माणका लागि पाँच लाख अनुदान पाउने कार्यविधि छ ।
मनसुनजन्य विपद्बाट म्याग्दीमा यस वर्ष १० जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको छ ।
३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन् । त्यस्तै ३४ गोठ पूर्ण र ४६ वटामा आंशिक क्षति पुगेको छ । विपद् प्रभावित क्षेत्रका १३ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले एप्लिकेसनमा देखिएको समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा जानकारी गराइएको बताए।
विपद् व्यवस्थापनका लागि देशभरको साझा समस्या भएकाले सरकारले समाधानका लागि गरेका कामबाट छिट्टै परिणाम आउने प्रजिअ गैरेले विश्वास व्यक्त गरे ।

























