नेपाली निर्देशक नितिन चन्दको हिन्दी गीत अस्ट्रेलियाका सामुदायिक टेलिभिजन संजालमा प्रसारण हुने
वि.सं.२०८३ मंसिर २ बुधवार १४:५६
shares

अस्ट्रेलिया । नेपाली निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको हिन्दी गीतको म्युजिक भिडियो अब अस्ट्रेलियाका सामुदायिक टेलिभिजनमा प्रसारण हुने भएको छ ।
अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली कलाकार प्रदीप तिमल्सिनाको अभिनय रहेको उक्त भिडियो अस्ट्रेलियाका विभिन्न सहरका दर्शकमाझ पुग्ने भएको हो।
निर्देशक चन्दका अनुसार भिडियो प्रसारणका लागि हालै अस्ट्रेलियाको सामुदायिक टेलिभिजनसँग सम्झौता भएको छ। उनले सामुदायिक टेलिभिजन अस्ट्रेलियाका शोन डनलपसँग प्रसारणसम्बन्धी सहमति भएको जानकारी दिएका छन्।
सम्झौताअनुसार उक्त गीत मेलबर्नको च्यानल ३१, एडिलेडको च्यानल ४४, कम्युनिटी प्लस तथा तिनका अन्य प्रसारण सञ्जालमार्फत देखाइनेछ।
गीतको भिडियोमा अस्ट्रेलियामा बसोबास गर्दै आएका कलाकार प्रदीप तिमल्सिना र भारतको देहरादूनकी मिस उत्तराखण्ड स्मृति रावतले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन भारतको राजधानी नयाँ दिल्लीका विभिन्न स्थानमा गरिएको हो।
भिडियो निर्माणको व्यवस्थापन चलचित्र क्षेत्रका अनुभवी लाइन निर्माता राजेन्द्र घिमिरेले गरेका थिए। उनले ‘तेन्जिन’, ‘इन्डियन २’, ‘इन्डियन ३’ र ‘जेलर २’ जस्ता ठूला चलचित्र परियोजनामा काम गरिसकेका छन्।
नेपाली निर्देशकको नेतृत्वमा तयार भएको हिन्दी गीत अस्ट्रेलियाका सामुदायिक टेलिभिजनका विभिन्न सञ्जालमा प्रसारण हुनुलाई नेपाली कलाकार तथा चलचित्रकर्मीका लागि अन्तरदेशीय सहकार्य र प्रतिभा प्रदर्शनको एउटा अवसरका रूपमा हेरिएको छ।
नेपाली समुदायमा मात्र सीमित नरही अस्ट्रेलियाका बहुसांस्कृतिक दर्शकमाझ समेत पुग्ने यो प्रसारणले नेपाली मूलका कलाकार र सर्जकलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























