काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रजहरमा प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने तयारी, नेपालमा पहिलो पटक पठन–पाठन हुँदै

420
shares

नवलपुर । नेपालमा पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने गरी नवलपुरको रजहरमा तयारी तीब्र पारिएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्ध लिएर देवचुली–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान पढाउने गरी शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्ने तयारी तीब्र पारिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए ।

सापकोटाका अनुसार आगामी आर्थिक वर्षदेखि त्यहाँ प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु हुने निश्चित छ । ‘यो नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञानको पढाइ हुने पहिलो शिक्षण अस्पताल हुनेछ। विश्वविद्यालयसँग पहिलो चरणको स्वीकृति लिएर काम धमाधम अघि बढेको छ,’ सापकोटाले भने ।

पोखरा विश्वविद्यालयले अस्पताललाई संयुक्त आंगिक स्वीकृति दिएको हो। यसरी स्वीकृति प्रदान गर्ने पोखरा पहिलो विश्वविद्यालय हो। सापकोटाले पहिलो वर्ष चिकित्सालयमा ब्याचलर इन नेचुरोपेथी एन्ड योगा साइन्सको कक्षा सञ्चालन गर्ने गरी प्रस्ताव विश्वविद्यालयमा पेस गरिएको बताए ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष प्रदीपराज घिमिरेले पहिलो वर्ष आफूहरूले चिकित्सा शिक्षा आयोगसँग ४० जना विद्यार्थीको संख्या माग गरेको बताए ।

‘आयोगबाट निर्णय हुनासाथ पढाउने तयारी सुरु हुन्छ, विद्यार्थीले अध्ययन गर्ने स्रोतको सुनिश्चितताका लागि अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयमा पहल भइरहेको छ, अरू सबै तयारी हामीले पूरा गरेका छौँ,’ घिमिरेले भने ।

नेपाल सरकारले छात्रवृत्ति प्रदान गरेर अध्ययन गर्ने जुनसुकै चिकित्साशास्त्रको अध्ययनमा विद्यार्थीको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने गर्दछ ।

प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणका लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदानमार्फत गत वर्ष १२ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसबाट हाल १२० कोठे भवन निर्माणाधीन अवस्थामा छ । यस वर्ष पनि संघीय सरकारले २ करोड बजेट विनियोजन गरेको र त्यसबाट थप काम हुने प्रक्रियामा रहेको व्यवस्थापक सापकोटाले बताए ।

‘हाम्रो तर्फबाट पूर्वाधार लगायतका काम तयारी अवस्थामा छन् । हाम्रो तर्फबाट तयारीमा कुनै कमी छैन, चिकित्सालयलाई हामी देशकै गौरवको योजनाको रूपमा विकास गर्न चाहन्छौँ,’ सापकोटाले भने ।

लामो समयदेखि रजहरमा प्राकृतिक चिकित्सा अध्ययन गराउने पहलमा रहेका त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक देवीभक्त ढकालले नेपालका लागि अत्यन्तै आवश्यक चिज भएका कारण आफू स्वेच्छिक रूपमा यो अभियानमा लागेको बताए ।

‘नेपालमै यो विषय पढाइ हुँदैन, आवश्यक सम्पूर्ण पूर्वाधार भएको रजहरको प्राकृतिक चिकित्सालय योग्य संस्था हो,’ अब योजनाले एउटा आकार लिएको भन्दै अर्को वर्षदेखि पढाइ सुरु गर्न सकिने उनले बताए ।

यज्ञ लगाएर सुरु भएको थियो चिकित्सालय, उत्कृष्ट आइसोलेसन

रजहरस्थित प्राकृतिक चिकित्सालय स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरी स्थापना गरेका हुन् । विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो ।

‘यज्ञ लगाएर, सहयोगी दाता, मुठीदान र स्वतस्फूर्त सहयोगबाट चिकित्सालय स्थापना भएको हो, यसलाई अब शिक्षण अस्पताल बनाउन आवश्यक ठानेर काम भएको हो,’ सापकोटाले भने । सापकोटा आफैँ पनि पेटसम्बन्धी रोगका कारण झन्डै मृत्युको मुखमा पुगेका व्यक्ति हुन् । प्राकृतिक उपचारबाट स्वास्थ्यलाभ गरेपछि उनी यो अभियानमा लागेका हुन् ।

कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रूपमा यस चिकित्सालयले सेवा दिएको थियो। सरकारले उत्कृष्ट आइसोलेसनको रूपमा चिकित्सालयलाई सम्मानसमेत गरेको थियो । चिकित्सालयमा बसेका सबै कोरोनाका बिरामी निको भएर फर्किएका थिए ।

प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस, एक्युपञ्चर, फिजियोथेरेपी, योग र ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ ।