गृहपृष्ठ वैदेशिक रोजगारीभन्दा स्वदेशकै मानो मिठो
वैदेशिक रोजगारीभन्दा स्वदेशकै मानो मिठो
कथा १ : ललित मगर, कटारी, उदयपुर
बाबुआमा र जीवन संगिनीसँग नजिक रहेर काम गर्न पाउँदा उदयपुरका ललित मगरलाई जीवन अर्कै ढंगले जिइरहेझैं लाग्थ्यो । समय–समयमा घर–परिवारसँग भेट गर्दै ५०–६० हजार आम्दानी गरिरहेका थिए । उनको प्राथमिकता पनि स्वदेश नै थियो ।
उमेरले १७ टेक्दै गर्दादेखि हेवी गाडी गुडाउन थालेका ललितलाई विवाहपछि जिम्मेवारी थपियो । अझ धेरै कमाउने अभिलाषाबीच सवारी चालकले विदेशमा राम्रो आम्दानी गर्छन् भन्ने हल्लासँगै गाउँमा चलेको वैदेशिक रोजगारीको हुरीले उनलाई साउदी अरब पुर्यायो ।

‘वैदेशिक रोजगारीको लहडले विदेश पुर्यायो,’ बनेपा–बर्दिबास सडकको भकुण्डेबेँसीतिर पुग्दै गर्दा उनले भने, ‘एकातिर पैसा कमाउनैपर्ने दबाब र अर्कातिर परिवारको तनावले विदेशमा धेरै गाह्रो हुने रहेछ ।’ विचलित त भएनन् तर अपेक्षाअनुसार कमाइ गर्न सकेनन् । ‘यहाँको भन्दा बढी खासै कमाउन नसकेपछि तीन वर्ष पूरा गरेर फर्किएँ, अनि गइनँ,’ २९ वर्षीय ललितले भने ।
साउदीको मरुभूमिमा लामो–लामो यात्रा गर्दा ललित खुब थाक्थे । मरुभूमिका रापले पिल्सिएलाझैं लाग्थ्यो । माथिबाट घामको राप र जमिनबाट उठेको वाफले पोल्नुसम्म पोल्थ्यो । अहिले बनेपा–बर्दिबास रुटमा हायस गुडाउँदा स्वर्गीय आनन्द महसुस हुन्छ उनलाई । भन्छन्, ‘कहाँ साउदी, कहाँ नेपाल…, यहाँ हुस्सु उड्छ, त्यहाँ तातो बाफ । त्यो मरुभूमि, यो हरियाली । तुलनै हुन सक्दैन । यो माटोले आनन्द दिन्छ, त्यो माटोले पीडा ।’
पासपोर्ट फालेर स्वदेशमै बस्न उनलाई श्रीमती रोश्नीले पनि प्रेरित गरिन् । बच्चाहरुको शिक्षादीक्षाका लागि ललितपुरको ग्वार्को बस्दै आएका ललित हायस चलाएरै साउदीमा भन्दा बढी कमाउँछन् । श्रीमती, बच्चा र चाहेका बेला बाबुआमासँग पनि भेट हुने अवस्था छाडेर विदेश गएकोमा उनलाई पछुतोमात्र लाग्छ । लाखौं खर्च गरेर मलेसिया र खाडी मुलुक जान खोजिरहेका युवालाई उनको सुझाव छ, ‘विदेश बढी रहर, कम बाध्यता हो, स्वदेश नै रोजौं ।’
कथा २ : पिताम्बर पाठक, सुरुंगा, झापा
आठ वर्ष कतार बस्दा सुरुंगाका पिताम्बर पाठकले निकै सास्ती पाए । सबैभन्दा बढी घरकै यादले सताउँथ्यो उनलाई । सामान्य बिरामी हुँदासमेत झल्झली परिवार सम्झन्थे । सबैभन्दा बढी तनाव त त्यतिबेला हुन्थ्यो, जतिबेला नेपालमा रहेका परिवारका सदस्य, आफ्ना–आफन्त अनि साथीभाइले चाडपर्वका फोटा फेसबुकमा पोस्ट गर्थे ।

वर्षको दुई–तीन लाख कमाइ नहुने होइन तर परिवारसँगको विछोडको पीडा त्योभन्दा धेरै बढी मूल्यको हुने रहेछ । दुई वर्षअघि विदेश छाडेर उनी फर्किए । ‘विदेशमा पनि कामै गर्ने हो, स्वदेशमा पनि कामै गर्ने हो भने अर्काको देशमा ज्यान जोखिममा पारी–पारी कति मरिहत्ते गर्ने भन्ने लागेर पासपोर्ट सिल हानेको हुुँ,’ पिताम्बरले भने, ‘परिवारसँग रहँदाको आनन्द पैसाभन्दा कयौं गुणा मूल्यवान छ ।’
नेपालमा पनि केही त गर्नैपर्छ । बिनाआम्दानी कसरी परिवार चल्थ्यो र ! उनले फरक तरिकाले व्यवसाय गर्ने सोच राखे । खोलाको किनारमा पोखरी खने, पोखरीमा माछा हाले, माथि होटल बनाए । होटलको नाम राखे- ‘जल कटेज’ । ‘त्यति गर्न करिब २५ लाख खर्च भयो,’ उनले भने, ‘अझ १० कठ्ठा जमिनमा माछापालन, पार्क र कटेज विस्तार गर्ने योजनामा छु ।’
जल कटेज पोखरीमाथि छ । पोखरीमा माछापालन गरिएको छ। ‘माछालार्इ बजारे दाना दिने गरेको छैन, अाफ्नै खेतबारीमा उत्पादित अन्न दिन्छु,’ पिताम्बर भन्छन्, ‘त्यसको स्वाद फरक पर्ने भएकाले ग्राहक पनि बढी अाउने गरेका छन् ।’ बल्छी खेलेर ग्राहकले अाफैं माछा मार्ने र उनीहरूले मारेको माछा पकाइदिने व्यवस्था गरिएको उनले बताए ।
जल कटेजको ख्याति बढ्दै जाँदा ग्राहकको उपस्थिति पनि ह्वात्तै बढेको छ । ‘खर्च कटाएर मासिक एक लाखभन्दा बढी आम्दानी हुन्छ,’ उनले भने । बूढाबूढी हाँस्दै–रमाउँदै काममा खट्छन् । ‘बूढी खानेकुरा बनाउँछिन्, म कस्टमरलाई दिन्छु, म डालो समाउँछु, उनी माछालाई चारो हाल्छिन्,’ ३५ वर्षीय पिताम्बरले रमाइलो पारामा भने, ‘खास जिन्दगी त यो पो हो र’छ ।’
उनलाई लाग्छ– विदेशको भिसा त्याग्न साहस नगर्दा लामो समय दुःख पाइयो । युवावस्थामा विदेश गएर, जवानी र ज्यान दुवै खेर फाल्नुभन्दा स्वदेशमै आयआर्जनका बाटा समात्न उनी युवालाई सुझाव दिन्छन् ।
कथा ३ : रवि नेपाली, परमानीपुर, सर्लाही
सर्लाहीका रवि नेपाली ग्रिल पसलमा काम गर्छन् । सुरु–सुरुमा कम ज्यालामा दुःखजिलो गरेका रवि अनुभव हासिल गर्दै जाँदा हिजोआज मासिक ५०–६० हजार रुपैयाँ कमाउन थालेका छन् । ‘अलि मेहनत गर्न सक्ने हो भने आधा महिनामै ४०–४५ हजार कमिन्छ,’ आत्मविश्वासका साथ उनी भन्छन्, ‘अहिले त अनुभव पनि त भयो ।’

तर, केही दिनयता रविलाई विदेश जाने उन्माद बढेको छ । पासपोर्ट बनाइसकेका छन् । ‘सबै गइरहेका छन्, हामी पनि विदेश हेरौं न !’ रवि भन्छन्, ‘तर पैसाचाहिँ कम छ, मासिक ३५ हजार रे !’
युवालाई विदेश जान अधिकांश परिवारबाटै बढी दबाब आउँछ । गाउँघरतिरबाट सबैजना बिदेसिइरहेका बेला रविको मन पनि यहाँ थिएन । त्यसमाथि बुवाले ‘विदेश जा’ भनेपछि उनलाई के चाहियो र ! ‘बुबाले नै विदेश जा भनेपछि मान्नै पर्यो,’ उनले भने, ‘ठिकै छ एकपटक गएर आउँछु ।’
०००
ललित र पिताम्बर यस्ता प्रतिनिधि युवा हुन्, जसले विदेशको भिसालाई तिलाञ्जली दिँदै स्वदेशमा आयआर्जनका भरपर्दो माध्यम समाते । एकजना उद्यमशीलतामा रमाउँदै छन्, अर्काजना सीप बेच्दैछन् । जीवन स्वतन्त्र ढंगले जिउँदैछन् । यस्ता धेरै युवा छन्, जो विदेशबाट वाक्क भएर फर्किए अनि आफूसँग भएको सीप र क्षमताको उपयोग गरेर स्वदेशमै आम्दानीका बाटा रोजेका छन् । विदेशी भूमिमा पाएको पीडा भुल्दैछन् ।
देशमा आयआर्जनका कुनै माध्यम नभएको भन्दै दैनिक १५ सयभन्दा बढी युवा बिदेसिइरहँदा मुलुकमै केही गरौं भन्ने सोच राखेर फर्किने युवाको लर्को पनि अहिले सानो छैन । विदेशबाट फर्किने हरेक युवाले भोगेका पीडाको फेहरिस्त पनि लामै बन्छ । कति फर्किनसमेत पाउँदैनन् त कति बाकसमा फर्किन्छन् अर्थात् त्यहाँ जीवन सुरक्षित छैन । तर, यो सब देख्दा–देख्दै र बुझ्दाबुझ्दै पनि हातमा सीप भएका युवा बिदेसिन छाडेका छैनन् ।
रवि जसरी परिवारको दबाब र धेरै कमाउने रहर बोकेर विदेश जान खुट्टो उचाल्दै गरेका युवा धेरै छन् । ‘भाग्यले साथ दिए’ केहीले कमाउँछन् पनि । तर, अधिकांश युवा दुःखमा फस्छन्, पीडाले थिचिन्छन् । ऋण तिर्नुपर्ने बाध्यता र कमाउनुपर्ने दबाबका बीच परिवार सम्झँदै मरुभूमिमा दिन बिताउँछन् ।
०००
ऊर्जाशील युवालाई स्वदेशमै रोक्ने र उत्पादनशील क्षेत्रमा काम लगाउने दायित्व सरकारको हो । तर, युवा जोशलाई खाडी पठाउनुको विकल्पमा सरकारसँग उडन्ते गफमात्र छन् । रोजगारीका नारा छन्, योजना छैनन् । युवालाई देशमै रोक्ने भाषण गरिन्छन् तर कसरी रोक्नुपर्छ थाहा छैन ।
स्वदेशमा केही गरिरहेका युवालाई प्रोत्साहन गर्ने योजना पनि सरकारसग छैन । मुलुकमै केही गरिरहेका युवालाई सरकारले सहयोग गर्ने हो भने पनि सानो आयआर्जनका लागि ज्यान जोखिममा पारेर कुनै पनि युवा लहड र पारिवारिक दबाबमा बाहिरिनुपर्ने थिएन ।
अर्थविद् डा. चन्द्रमणि अधिकारी युवालाई स्वदेशमा रोक्न चर्का भाषण होइन, योजना चाहिने बताउँछन् । ‘कसैले रहर गरेका भरमा युवालाई रोक्न सकिने होइन,’ उनी भन्छन्, युवालाई उत्पादनशील कार्यमा लगाउन सरकारले योजना बनाउनुपर्छ । सीप भएका युवालाई सीपअनुसारको काममा लगाउन सहजीकरण गर्नुपर्छ, खेती गर्न चाहनेलाई खेत, मल, सिँचाइ र लगानीसमेतको प्रबन्ध गरिदिनुपर्छ, उत्पादित वस्तुको बजारीकरणको सुनिश्चितता गरिदिनुपर्छ ।’
लघुउद्यमको प्रवद्र्धनका लागि ठोस योजना बनाउन सके धेरै युवालाई स्वरोजगार मिल्ने अर्थविद्हरु बताउँछन् । अर्थविद् दिपेन्द्रबहादुर क्षेत्री पनि युवालाई स्वदेशमा रोक्न सरकारसँग भाषणबाहेक कुनै योजना नभएको धारणा राख्छन् । ‘तिमीहरु स्वेशमै बस हामी रोजगारी पक्का गर्छौं भनेर हुन्छ ?’ उनी प्रश्न गर्छन्, ‘सरकारले जबसम्म युवाको मूल्य बुझ्दैन, तबसम्म युवा विदेसिनुको विकल्प युवासँग रहँदैन । सरकारले योजना बनाएर युवालाई उत्पादनशील कार्यमा लगाउनुपर्छ ।’ मुलुक समृद्ध बनाउने हो भने युवा ऊर्जाको उच्चतम् सदुपयोग पहिलो सर्त हुने अर्थविद् क्षेत्रीको भनाइ छ ।
अर्कोतिर, युवामा चरम राजनीतिक वितृष्णा छ । बलियो सरकार बन्छ र देशको मुहार फेर्छ भनेको सरकारको कार्यशैलीले युवामा फेरि निराशा बढाउँदै लगेको छ । सात महिनाअघि अब त केही होला भन्न थालेका यो देशका नागरिक ‘यहाँ केही नहुने र’छ’ भन्न थालेका छन् । यो अवस्थाको अन्त्य गर्नुपर्छ । निराशाका मडारिँदा बादलबीच आशाका त्यान्द्रा समातेर उभिन खोज्ने युवालाई मरुभूमिमा धकेल्ने होइन, उत्पादनशील कार्यमा लगाउन ठोस योजना बनाउनुपर्छ ।
प्रकाशित समय : २०:३६ बजे



















