global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेन्जी आन्दोलनलाई फरक दृष्टिले मूल्यांकन (भिडियो सहित)

एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेन्जी आन्दोलनलाई फरक दृष्टिले मूल्यांकन (भिडियो सहित)

एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेन्जी आन्दोलनलाई फरक दृष्टिले मूल्यांकन (भिडियो सहित)

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरेको छ । पार्टीका अनुसार हाल संगठनका विभिन्न तहमा ४० वर्षमुनिका युवाको उपस्थिति अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ भने आगामी निर्वाचनमा पनि युवालाई पहिलाभन्दा बढी अवसर दिने तयारी भइरहेको छ ।

नेकपा एमालेका स्वयंसेवक (भोलिन्टियर) केन्द्रीय सदस्य कृष्ण सागर ओलीले युवाप्रति पार्टीको विश्वास स्पष्ट देखिने गरी बढेको बताए । उनका अनुसार पछिल्लो महाधिवेशनमा युवा वर्गलाई नेतृत्व तहमा ल्याउन विशेष प्राथमिकता दिइएको थियो । केन्द्रीय कमिटीमै पनि युवाको संख्या अन्य दलको तुलनामा बढी रहेको उनले दाबी गरे ।
उनका अनुसार एमालेले युवालाई केवल समर्थक वा कार्यकर्ता मात्र नभई नीति निर्माण र संगठन विस्तारको जिम्मेवारीमा पनि संलग्न गराउँदै आएको छ । स्वयंसेवक संरचनामार्फत युवाको सक्रियता बढाइएको र पार्टीका कार्यक्रम तथा अभियानमा युवाले निर्णायक भूमिका खेल्दै आएको उनको भनाइ छ ।

जेन्जी आन्दोलनबारे टिप्पणी गर्दै ओलीले पार्टीले त्यसलाई सामान्य पुस्तागत आन्दोलनका रूपमा नलिएको बताए । उनका अनुसार उक्त आन्दोलनलाई राजनीतिक अस्थिरता र बाह्य हस्तक्षेपको सन्दर्भमा मूल्यांकन गरिएको छ। यद्यपि, आन्दोलनपछि युवाको भूमिका र महत्वलाई अझ गम्भीर रूपमा लिनुपर्ने निष्कर्षमा पार्टी पुगेको उनले उल्लेख गरे ।

पार्टीभित्रको आन्तरिक अवस्थाबारे बोल्दै ओलीले महाधिवेशनपछि एमाले एकताबद्ध रहेको दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सबै पक्षलाई समेटेर अगाडि बढाइएको बताउँदै, कसैलाई अवसर नदिइएको भन्ने आरोपलाई उनले अस्वीकार गरे ।
देशको आर्थिक अवस्था र युवाको रोजगारीबारे उनले समस्या दीर्घकालीन रहेको बताए। तत्काल समाधान सम्भव नभए पनि उद्योग, पूर्वाधार विकास र सीपमूलक कार्यक्रममार्फत युवालाई देशमै रोजगारी सिर्जना गर्ने नीति एमालेको रहेको उनले बताए। वैदेशिक रोजगारीतर्फ जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य पार्टीको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

हालको राजनीतिक अवस्थासन्दर्भमा ओलीले संविधानिक प्रक्रिया र संसदको स्थायित्व आवश्यक रहेको बताए । राजनीतिक अस्थिरताले देशलाई थप आर्थिक र सामाजिक जोखिममा पार्ने भन्दै अनुभवी नेतृत्व, स्थिर सरकार र युवाको सक्रिय सहभागिताबाट मात्र देश अगाडि बढ्न सक्ने उनले दाबी गरे ।

प्रकाशित समय : ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु