गृहपृष्ठ दसैंको अग्रिम टिकट सहज बनाउनु : विकास समिति
दसैंको अग्रिम टिकट सहज बनाउनु : विकास समिति
संघीय संसदको विकास तथा प्रविधि समितिले दसैंको अग्रिम टिकट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसाधारणलाई दसैंको अग्रिम टिकट सहज रुपमा पाउने व्यवस्था गर्न भौतिक पूवाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
दसैंको अग्रिम टिकट बुकिङ सहज नभएको सर्वसाधारणले गुनासो गरेपछि त्यसलाई तत्काल सहज बनाउन सरकारलाई सचेत गराइएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिइन् । तोकिएको मूल्यभन्दा बढीमा टिकट विक्री गरे त्यस्ता व्यवसायीमाथि कडा कार्बाही गर्न पनि समितिले सरकारलाई सचेत गराएको छ । समितिले सडक सुरक्षाको उचित व्यवस्था गर्न पनि सरकारलाई भनेको छ । चाडबाडका बेला नागरिकको सुरक्षालाई ध्यानमा राखेर क्षमताभन्दा बढि यात्रु नराख्न सरकारलाई सचेत गराइएको सभापति खड्काले बताइन् । समितिले सडक सुरक्षालाई ध्यानमा राखेर देशभर ट्राफिक प्रहरी परिचालन गर्न सरकारालाई अर्हाएको छ ।
चाडपर्वका बेला यात्रुको सुरक्षालाई ध्यानमा राखेर लामो दुरीका सवारी साधनमा २ वटा चालकको व्यवस्था गर्न पनि सरकारलाई भनेको छ ।
प्रकाशित समय : २१:५३ बजे


















