गृहपृष्ठ सहयोग माग्दै प्रधानमन्त्री ओली
सहयोग माग्दै प्रधानमन्त्री ओली
राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिकजसो विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखलाई भेटिरहेका छन् ।
ओलीले विकसित मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँगको भेटमा विकासमा सहयोग गरिदिन आग्रह गरिरहेका छन् । पछिल्लोपटक प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री टेरेजा मे र स्विट्जरल्यान्डका राष्ट्रपति एलियन बेरसेटसँग भेटवार्ता गरेका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेसँगको भेटमा ओलीले नेपाल संविधान जारी गरेसँगै विकास निर्माणको चरणमा प्र्रवेश गरेको र नेपाललाई बेलायतको थप सहयोगको खाँचो रहेको बताए ।
ओलीले नेपालमा पर्यटन र विभिन्न आयोजनामा लगानी गर्न आग्रह समेत गरे । यसअघि ओलीले क्यानडाका प्रधानमन्त्री ट्रुडोसँग भेट गरी नेपाल र क्यानडाबीच उच्चस्तरिय भ्रमण आदानप्रदानको सहमति गरेका थिए ।
बुधबार साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेटवार्ता गरिन् । प्रधानमन्त्री ओली र स्वराजबीच पछिल्ला समझदारी र सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असंलग्न राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । उनले शक्ति राष्ट्रहरूसँग नेपाल तटस्थ भूमिकामा रहँदा शान्ति स्थापनामा योगदान पुगेको चर्चा गरे । नेपालले शान्तिप्रतिको आस्थालाई जोगाइरोखको भन्दै ज्ञवालीले १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य गरी दिगो शान्तिमा अघि बढेको जानकारी गराए ।
ज्ञवालीले असंलग्न नितीप्रति नेपाल कटिबद्ध रहेको बताएका छन् । असंलग्न परराष्ट्र नीतिमा विश्वका एक सय २० देश सदस्य छन् भने नेपालले सुरुदेखि नै सहभागिता जनाउँदै आएको छ । ज्ञवालीले अतिकम विकसित देशको मन्त्रीस्तरीय बैठकमा समेत भाग लिएका छन् ।
यसैबीच, नेपालले राष्ट्रसंघ महासभाकै क्रममा अफ्रिकी मुलुक मडागास्करसँग दौत्य सम्बन्ध स्थापित गरेको छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देश १ सय ६१ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : १४:१५ बजे



















