global ime bank Long Banner Ad

गृहपृष्ठ ‘समृद्ध नेपाल सुखी नेपाली’लाई गिज्याइरहेछ तारा जैशीको जिन्दगी

‘समृद्ध नेपाल सुखी नेपाली’लाई गिज्याइरहेछ तारा जैशीको जिन्दगी

‘समृद्ध नेपाल सुखी नेपाली’लाई गिज्याइरहेछ तारा जैशीको जिन्दगी

 

नेपाली समाजमा एउटा अभिव्यक्ति प्रचलित थियो । नेपालकै एक युवराजले आफ्ना महाराज पितालाई सोधेका थिए, ‘के सबै नेपालीले दूध भात पनि खान पाएका छैनन् ?’ यो यस्तो बिम्ब हो जसले सौखिन सत्तासिन र विपन्न नागरिकबीचको सम्बन्धलाई हाम्रोजस्तो मुलुकको सन्दर्भमा प्रष्ट पार्न सक्छ ।

नेपालको यस्तो नियती घट्दै गएको कुरा तथ्यांकले देखाए पनि वास्तविकता र तथ्यांकबीचको अन्तर अद्यावधिक छ । त्यस्तै पीडाको सिकार भएकी छिन् कैलालीको लम्कीचुहा नगरपालिका–८ की १९ वर्षीया किशोरी तारा जैशी ।

१९ वर्षीया जैशी दिनभर बाख्राको खोरमै बसेर दिन कटाउछिन् । यो उनको विगत २ वर्षदेखिको दैनिकी हो । र अझै कति दिन कायम रहन्छ यसै भन्न सकिने अवस्था छैन ।

tara-jaisi5-newskarobar

ति किशोरीमा मानसिक समस्या देखिएको बताइएको छ । तर, उपचारका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उनको दैनिकी बाख्राको खोरमा सीमित हुन पुगेको छ । एक किशोरीका सपना उपचार खर्चको अभावमा यसरी बाख्राको खोरमा ‘बन्दी’ हुनुले समृद्ध नेपालको हाम्रो सपनालाई गिज्याइरहेछ ।

तारा जैशीको दैनिकीमा विहानको घाम पनि बाख्राको खोरमा उदाउँछ र, बेलुकाको घाम पनि बाख्राकै खोरमा अस्ताउँछ । उनका अभिभावकहरुको विवशता झनै दयनीय छ । उपचार गराउन खर्च नभएपछि ‘मुटुमाथि ढुंगा राखी’ आफ्नी छोरीलाई उनीहरु बाख्राको खोरमा बाध्न बाध्य छन् ।

घरबाट भाग्ने, शरीरमा लगाएको कपडा च्यात्ने, जथाभावी सामान फ्याँक्ने गरेकाले उनलाई दिनभर बाख्राको खोरमा बाँधेर राख्नु परेको अभिभावकहरु बताउँछन् । ताराकी आमा सुर्जकला जैशी छोरीलाई बाख्राका खोरमा बाँध्नुपर्दाको पीडा सुनाउँदा आँशु थाम्न सक्दिनन् । गहभरी आँशु पार्दै सुर्जकला भन्छिन्, ‘उपचार गराउने पैसा छैन, आफू दिनभर मजदुरी गर्न जानु पर्छ के गरौं हजुर ?’

tara-jaisi4-newskarobar

आर्थिक अवस्था कमजोर रहेको जैशी परिवारको आयस्रोत अर्काकोमा मजदुरी गर्नु हो । त्यसैगरी उनीहरु नजिकैको जंगलबाट दाउरा ल्याएर बेची जीविकोपार्जन गर्दै आएका छन् । त्यो नगरे उनीहरुले विहान बेलुकी हातमुख जोर्न पाउँदैनन् । आफूहरु मजदुरीमा जानुपर्ने र दिनभर घरमा कोही नहुने भएकाले तारालाई बाख्राको खोरमा बाध्नु परेको सुर्जकलाले बताइन् । नजिकैको जंगलबाट दाउरा ल्याई बेचेर आफूहरुले गुजारा चलाइरहेको सुर्जकलाको भनाई छ ।

दैलेखको लिउडाबाट बसाँई सरी लम्कीचुहा नगरपालिका आएको ताराको परिवार उनका बाबुले छाडेर गएपछि झन् संकटमा पर्याे । सुर्जकलाका अनुसार तारा उनकी दोस्रो सन्तान हुन् । जन्मदा स्वस्थ रहेकी तारामा पछि आएर समस्या देखिएको सुर्जकलाको भनाई छ । तर, उपचार गराउन नसक्ने आर्थिक स्थितिका कारण उनको दैनिकी आजको स्थितिमा पुगेको हो ।

स्वस्थ जन्मे पनि ६ महिनाकी भए पछि ताराको शरीर पाक्न थालेको उनकी आमाले बताइन् । सोही अवस्थादेखिनै उनको शारीरिक र मानसिक स्वास्थ्यमा समस्या देखिएको उनको भनाई छ ।

ताराको उपचारका लागि परिवारले प्रयासनै नगरेको भने होइन । आर्थिक अभावकै कारण अस्पताल लगेर उपचार गर्न नसकेपछि धामी झाँक्रिकहाँ उपचारका लागि लगेको उनले बताइन् । तर, धामी झाँक्रिकोमा लगेर उपचार गराउँदा पनि तारालाई ‘बीसको उन्नाइस’ नभएको सुर्जकलाले बताइन् । अहिलेको जमानामा पनि धामी झाँक्रिको भर पर्नुलाई किमार्थ जायज मान्न नसकिएला तर, यो पनि परिवारको विवशता हो ।

उनीहरू दैलेखबाट कैलाली बसाई आएपछी तारा हिडडुल गर्न सक्ने भएको सुर्जकलाले बताइन् । उनले हिडडुल गर्न थालेपछि परिवारलाई थप समस्या आइपर्याे किनकि तारा भाग्न थालिन् । सधैँ भाग्न थालेपछि सुरुमा जाली लगाएर कोठामा थुनेर राख्न थालेको सुर्जकलाले बताइन् ।

tara-jaisi3-newskarobar

तर, त्यसरी पनि तारालाई राख्न नसकेपछी दाम्लोले खुट्टामा बाँधेर बाख्राको खोरमा राख्न थालेको सुर्जकलाको भनाई छ । ताराका मामा नवराज पोख्रेलले आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि उनलाई यसरी बाख्राको खोरमा थुनेर राख्नु पर्ने बाध्यता रहेको बताए ।

स्थानीय तथा मानव अधिकारकर्मी धनराज विकले पनि आर्थिक अभावका कारण तारालाई यसरी खोरभित्र थुनेर राख्नु पर्ने वाध्यता परिवारलाई रहेको बताए । दिउँसो काममा जानुपर्ने र घरमा कोही नहुने भएकाले तारालाई बाँधेर बाख्राको खोरमा राख्ने र राति घरमा राख्ने गरिएको उनका मामा पोख्रेलले बताए ।

तारा न त बोल्न सक्छिन्, न त खाना खान सक्छिन् । उनले थालको खाना भुँइमा घोप्ट्याएर खाने गरेको आमा सुर्जकलाको भनाई छ । तारा रजस्वला भएका बेला भने पाँच दिनसम्म घरबाहिर एक्लै खोरमै राख्ने गरेको उनले बताइन् ।

सुर्जकलाका श्रीमानले अर्को बिहे गरेपछि घर फर्किएका छैनन् । एक्लैले घर व्यावहार धान्नु परेकोले निकै समस्या रहेको उनको दुखेसो छ । उनका तीन छोरा र दुई छोरी छन् ।

tara-jaisi2-newskarobar

आर्थिक अभावका कारण उनका छोराहरूलेसमेत बीचमै पढाई छोडेर काममा लागेका छन् । उनका छोराहरू टीकाराम र नारायण हाल भारतमा मजदुरी गर्छन् । कान्छो छोरो नवलपरासीको एक संस्कृति स्कुलमा कक्षा सातमा निःशुल्क पढिरहेका छन् भने कान्छी छोरी स्थानीय एक विद्यालयमा अध्ययन गरिरहेकी छन् ।

मानसिक रूपमा अस्वस्थ ताराले दुई वर्षदेखि मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने गरेको सुर्जकलाले बताइन् । पाँच वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाइरहेकी उनले दुई वर्षअघिसम्म मासिक एक हजार रुपैयाँ पाउने गरेको सुर्जकलाको भनाई छ ।

ताराका मामा पोख्रेलले कैलालीबाटै सुरक्षा भत्ता पाउने व्यवस्था गरिदिए सहज हुने बताए । कसैले सहयोग गरिदिए आफ्नी छोरीको उपचार गर्ने र निको भएर अन्य मानिस जस्तै समान्य जिवनयापन गर्न तथा खोरको बासबाट मुक्त हुने उनकी आमा सुर्जकलाको अपेक्षा छ ।

 

सबै तस्बिरहरू – युवराज न्याैपाने/न्युज काराेबार

प्रकाशित समय : २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु