गृहपृष्ठ पर्यटक अाकर्षित गर्न स्थानीय तहका यस्ता योजना

पर्यटक अाकर्षित गर्न स्थानीय तहका यस्ता योजना

पर्यटक अाकर्षित गर्न स्थानीय तहका यस्ता योजना

करको दर बढाएको आलोचना खेपिरहेका स्थानीय तहले आम्दानीको वैकल्पिक बाटो पर्यटन क्षेत्रलाई बनाउन थालेका छन् । ओझेलमा परेका पर्यटकीय स्थलको सम्वर्धन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन स्थानीय तहहरु लागिपरेका हुन् ।

कतिपय स्थानीय तहले आफ्नो क्षेत्रमा रहेको पर्यटक लोभ्याउने स्थानको सम्वर्धनको योजना अघि बढाएका छन् भने कतिपयले नयाँ संरचना नै खडा गरेर आन्तरिक र बाह्य पर्यटक आकर्षिण गर्न थालेका छन् ।

रुपन्देहीको देवदह नगरपालिकाले पर्यटनलाई नै मुख्य नारा बनाएको छ । नगर प्रमुख हिराबहादुर खत्रीका अनुसार आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रमको लक्ष्य नै ‘पर्यटन, कृषि र पूर्वाधार : समृद्ध देवदहको मूल आधार’ तय गरिएको छ । केही लगानीमा नै पर्यटक तान्न सके आम्दानीको स्रोत राम्रो बनाउन सकिने नगरपालिकाको विश्वास छ ।

नगरपालिकालाई पर्यटकीय क्षेत्रको हवका रुपमा विकास गर्ने उद्देश्यका साथ गत आर्थिक वर्षदेखि नै वडा नम्बर-७, शीतलनगरमा बहुद्देश्यीय भवन ‘कोसेली घर’ निर्माण कार्य सुरु गरिएको छ । यस्तै, देवदह नगरपालिकाले वडा नम्बर-४, भवानीपुरमा ‘द गोल्डेन टेम्पल अफ लिभिङ बुद्ध’ निर्माण गरिरहेको छ । निर्माण सकिएपश्चात नगरपालिकाले शान्तिका अग्रदूत गौतम बुद्धसँग सम्बन्धित र ऐतिहासिक, पर्यटकीय क्षेत्रको जानकारी प्रदान गर्न सूचना केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

नगर प्रमुख खत्री देवदहलाई प्राचीन कोलिय राजधानी तथा बुद्धको मावली स्थलको रुपमा रहेको यथार्थलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन लागिरहेको बताउँछन् । देवदहले होमस्टेको अवधारणासमेत अघि बढाएको छ । नगरपालिकाको वडा नम्बर ६, सरनटाँडी, वडा नम्बर ३, शिशुपुर र वडा नम्बर १०, मुढाबासमा होमस्टेको सम्भाव्यता अध्ययन र तालिम सम्पन्न गरी तीनै स्थानमा ‘स्थानीय होमस्टे सञ्चालन समिति’ गठन गरी सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ ।

नगरपालिकाको पुरातात्विक एवं धार्मिक महत्व रहेका भवानीपुर, खयरडाँडा, वैरीमाई र कन्यामाईमध्ये कन्यामाईमा लुम्बिनी विकास कोषको सहयोगमा पुरातात्विक वस्तु उत्खनन गरिएको छ भने वडा नम्बर ९ मा रहेको पुरातात्विक महत्वको मंगल पुस्कारिणी दह नगरपालिका र लुम्बिनी विकास कोषको सहयोगमा संरक्षण एवं स्तरोन्नति भइरहेको छ । त्यस्तै, धार्मिक महत्वको पाकरी वृक्षको संरक्षण र सम्वर्धन, पाकरी वृक्ष जाने बाटो स्तरोन्नति तथा सोलार बत्ती जडान गरी पर्यटक आकर्षित गर्ने योनजामा देवदह नगरपालिका छ ।

रुपन्देहीकै सैनामैना नगरपालिकाले पनि पर्यटकलाई लक्षित गरी विशेष योजना अघि बढाएको छ । बुद्धकालीन अवशेष सैनामैनामा पनि भेटिएकाले यसको प्रमाणीकरण गरी थप योजना अघि बढाउने तयारी गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । ‘सुखी सैनामैनाबासी : समृद्ध सैनामैना नगरपालिका’ नारा लिएको नगरपालिकाले सहरी विकास मन्त्रालयसँगको सहकार्यमा ५० लाख लागतमा नगर गुरुयोजना तर्जुमा गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गर्ने कार्य अघि बढाउँदै छ ।

संस्कृति तथा पर्यटन क्षेत्रका कार्यक्रम सञ्चालन गर्न ५३ लाख रुपैयाँ विनियोजना गरेको नगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदा संरक्षण गरी पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिएको छ । ‘इतिहासविद, संस्कृतिविद र पर्यटनविदसम्मिलित कार्यदलको समन्वयमा सैनामैना क्षेत्र र सम्बन्धित सर्किटको अध्ययन र अनुसन्धान गर्ने कार्य अघि बढाइसकेको नगर प्रमुख कार्कीले जानकारी दिए ।

यस्तै, पर्यटक आकर्षित गर्न धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मलमला, रानीकुवा, ठुलोकुवा, बोलबम धाम, महेरवाजस्ता क्षेत्रको संरक्षण र प्रवद्र्धनलाई पनि नगरपालिकाले प्राथमिकता दिएको छ । रमणीय चुरेका काखमा हरित सडक, उच्च गुणस्तरीय होटल तथा रिसोर्ट निर्माणका लागि निजी लगानीकर्तालाई प्रोत्साहन, आदिवासी थारु समुदायको संस्कृति संरक्षण र सम्वद्र्धन गर्न थारु संग्रहालय निर्माणको सम्भाव्यता अध्ययन, सैनामैना-२ मा थारु होमस्टेलगायत नगरपालिकाको यो वर्षको बजेटमा परेका छन् ।

नगरपालिकाले बोलबल धाम र मलमला क्षेत्र विकासका लागि बजेट छुट्याएको छ भने ऐतिहासिक भड्छा मेलाको आयोजना, सञ्चालन र प्रवद्र्धन, आदिवासी जनजाति महोत्सव, माघी मेलालगायतलाई समेत बजेट विनियोजन गरेको छ ।

त्यस्तै, गैडहवा गाउँपालिकाले ‘कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार पर्यटनसहितको पूर्वधार गैडहवा विकासको आधार’ नारा नै तय गरेको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवट गैडहवा ताल क्षेत्रबाहेक तुल्सीहवा ताल, शहिद पार्क, रामजानकी मन्दिर, सन्तेश्वर घाट र जोगडेश्वर महादेवका साथै बाल उद्यानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको बताउँछन् ।

‘कतै नबनेको गौतम बुद्धकी पत्नी यशोधराको मन्दिर र पार्क निर्माणका लागि काम अघि बढाइसकेका छौं,’ अध्यक्ष केवटले न्युज करोबारसँग भने, ‘लुम्बिनी आउने पर्यटकलाई यशोधरा मन्दिर अवलोकन गराउने हाम्रो लक्ष्य छ ।’ त्यसका लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । मन्दिर निर्माणका लागि पाँच जना दाताले पाँच बिघा जग्गा निःशुल्क प्रदान गरिसकेका छन् । महायज्ञबाट संकलितमध्ये २० लाख रुपैयाँ पनि मन्दिर निर्माणमै खर्च हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अन्य पर्यटकीय गन्तव्य पहिचान तथा सम्वद्र्धनलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

 

यो पनि पढ्नुहोस्

म्याग्दीस्थित दुरलेक पर्यटकीय गन्तव्य बन्दै

प्रकाशित समय : १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु