एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ
वि.सं.२०८३ मंसिर ३ बिहीवार २१:५१
shares

कृत्रिम बुद्धिमत्ता । को विकास र नियन्त्रण सीमित सङ्ख्याका प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएको छन् ।
बिहीबार जेनेभामा आयोजित ‘राइट्सएक्स समिट’ मा सम्बोधन गर्दै टर्कले विश्वको अधिकांश एआई कम्प्युटिङ क्षमता, तथ्याङ्क र पूर्वाधार केही सीमित व्यक्तिको नियन्त्रणमा रहेको बताए ।
विश्वका पाँच प्रविधि कम्पनीले ७० प्रतिशतभन्दा बढी एआई कम्प्युटिङ क्षमताको स्वामित्व राख्नु लोकतान्त्रिक सहभागिताको दृष्टिले गम्भीर विषय भएको उनको भनाइ थियो ।
‘भविष्यको प्रविधिलाई हामी मध्ययुगीन शैलीमा शासन गरिरहेका छौँ, जहाँ केही सीमित व्यक्तिको नियन्त्रण छ र निगरानी, सन्तुलन, सहभागिता तथा जवाफदेहिताको अभाव छ,’ उनले भने ।
एआईको अनियन्त्रित प्रयोगले सर्वसाधारणको अधिकार र स्वतन्त्रता प्रभावित हुन सक्ने उनले बताए । एआईले सार्वजनिक बहसलाई प्रभावित पार्नुका साथै पक्षपाती एल्गोरिदमले ठूलो स्तरमा विभेद र अन्यायलाई निरन्तरता दिन सक्ने उनको चेतावनी थियो ।
यातायात, खाद्य आपूर्ति र स्वास्थ्य सेवाजस्ता महत्त्वपूर्ण क्षेत्र डिजिटल प्रविधिमा निर्भर हुँदै गएको उल्लेख गर्दै उनले एआईको गलत प्रयोगले कुनै समुदाय वा देशको महत्त्वपूर्ण पूर्वाधार अवरुद्ध गर्न सक्ने बताए ।
टर्कले एआईको विकास र प्रयोगलाई मानवअधिकार केन्द्रित नियमनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले प्रमुख एआई कम्पनीहरूलाई प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न पत्राचार गरेको जानकारी दिए ।
दूध बजारसम्म पुर्याउन विभिन्न परीक्षण र नियमन आवश्यक भएजस्तै सम्भावित जोखिमका कारण एआईमा पनि नियमन अपरिहार्य रहेको उनको भनाइ थियो । एआई मोडेलको तालिममा मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई आधार बनाउनुपर्ने सुझावसमेत उनले दिएको छन् ।

























