काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्ती नदी सफाइ

525
shares

नारायणगढ ।राप्ती नदीको उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म एकै दिन एकैसाथ सरसफाइ गरिएको अभियान पहिलो भएको आयोजकले दाबी गरेको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजनामा यही मङ्सिर १ गते मङ्गलबार मकवानपुरको भीमफेदीदेखि चितवनको गोलाघाटसम्म १४ स्थानमा एकैसाथ सरसफाइ गरिएको अभियानका संयोजक अपिल घिमिरेले बताए ।

उहाँका अनुसार अभियानमा ८९७ जना स्वयंसेवक सहभागी भएका थिए भने नदी किनारबाट तीन हजार ६५० किलो फोहोर सङ्कलन गरिएको थियो । प्लास्टिकजन्य फोहोर, कपडा, उद्योग तथा सवारीसाधनबाट निस्कने फोहोर र स्वास्थ्य संस्थाजन्य फोहोर सङ्कलन गरिएको उनले जानकारी दिए ।

मकवानपुरको भीमफेदीस्थित राप्ती मुहानदेखि हेटौँडा हुँदै चितवनका लोथर, कुमरोज, सौराहा ड्याक, बूढी राप्ती ढुङ्गा घाट, खगेरी खोला, बीसहजारी ताल क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र, बुद्धनगर, मेघौली र गोलाघाटलगायत १४ स्थानमा सरसफाइ गरिएको थियो ।

अभियानमा स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सामुदायिक वन, मध्यवर्ती उपभोक्ता समिति, नेपाली सेना, नेपाल प्रहरी, अभियानकर्मी तथा समुदायमा आधारित चोरीसिकार नियन्त्रण दस्ता (सिबिएपियू) का सदस्यहरूको सहभागिता रहेको थियो ।

घिमिरेले २०७२ सालदेखि सञ्चालन हुँदै आएको अभियानले राप्ती नदीको सरसफाइ तथा संरक्षणमा सहयोग पु¥याउँदै आएको बताए । विगत चार वर्षदेखि मङ्सिर १ गतेलाई राप्ती नदी दिवसका रूपमा मनाउन थालिएको उहाँले जानकारी दिए । गत वर्ष करिब चार हजार किलो फोहोर सङ्कलन गरिएकामा यस वर्ष तीन हजार ६५० किलो सङ्कलन भएको उनले बताए ।

नदीमा बढ्दो मानवीय चाप, प्लास्टिकजन्य फोहोर तथा अन्य प्रदूषणले जलचर र वन्यजन्तुको बासस्थानमा असर पार्दै गएको भन्दै उनले उद्योगबाट निस्कने फोहोर, सवारीसाधनबाट हुने प्रदूषण र खेतबारीमा प्रयोग हुने विषादी नियन्त्रण गर्न आवश्यक रहेको बताए । वर्षमा एक दिन सरसफाइ गरेर मात्र नदी स्वच्छ नहुने भएकाले नियमित सरसफाइ र प्रदूषण नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

मकवानपुरको भीमफेदी क्षेत्रबाट उद्गम भई विभिन्न सहायक नदीहरूसँग जोडिँदै हेटौँडा, मनहरी र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा मिसिने राप्ती नदी जैविक विविधताका दृष्टिले महत्वपूर्ण छ । यसका कर्रा, लोथर, खगेरीलगायत सहायक नदीहरू पनि उत्तिकै महत्वपूर्ण छन् ।

राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने एवम् आगन्तुक चराचुरुङ्गीको महत्वपूर्ण बासस्थान हो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि पनि नदीको महत्वपूर्ण भूमिका रहेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनयापन, संस्कृति र पहिचानसँग पनि यसको गहिरो सम्बन्ध रहेको छ ।

नदीको स्वच्छता, जलचर तथा वन्यजन्तुको बासस्थान संरक्षण र प्रदूषण न्यूनीकरणका लागि सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने भन्दै आयोजकले स्थानीयवासी, संरक्षणकर्मी, उद्योगी व्यवसायी तथा सरोकारवाला सबैलाई नदी संरक्षणमा जुट्न आग्रह गरेको छ ।