उपभोक्ताको रोजाइ र बजार सुनिश्चित भएसँगै जुम्लामा स्याउखेतीतर्फ आकर्षण
वि.सं.२०८३ मंसिर ३ बिहीवार १७:५८
shares

सारांश
- हिमाली जिल्ला जुम्लाको स्याउ नेपाली बजारमा उपभोक्ताको रोजाइमा पर्न थालेसँगै जुम्ली किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।
- जुम्लामा उत्पादित स्याउलाई मनपराउन थालेपछि जुम्लामा स्याउखेती गर्ने किसानको सङ्ख्या उल्लेख्य बढ्न थालेको हो ।
- सहकारी संस्थाले स्थानीय र फुजी जातका स्याउ किसानको बगैँचामै पुगेर सङ्कलन गरी बजारीकरण गर्दै आएको छ ।
जुम्ला । हिमाली जिल्ला जुम्लाको स्याउ नेपाली बजारमा उपभोक्ताको रोजाइमा पर्न थालेसँगै जुम्ली किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।
नेपाली उपभोक्ताले विदेशबाट आयातित आकर्षक स्याउभन्दा जुम्लामा उत्पादित स्याउलाई मनपराउन थालेपछि जुम्लामा स्याउखेती गर्ने किसानको सङ्ख्या उल्लेख्य बढ्न थालेको हो ।
माग बढेसँगै स्थानीय व्यापारी तथा सहकारी संस्थाहरूले स्थानीय बगैँचाबाटै स्याउ खरिद गर्न थालेपछि स्याउखेतीतर्फ जुम्ली जनाता आकर्षित भएका हुन् ।
स्थानीय चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, खलङ्गाका प्रबन्धक रतनराज शाहीका अनुसार नेपाली बजारमा जुम्ली स्याउको माग बढेसँगै स्थानीय स्याउ कृषक लाभान्वित भई खेती गर्ने क्रम बढेको छ ।
यस वर्ष प्रतिकेजी ९० देखि १०० रुपैयाँका दरले जुम्लाका बगैँचाबाट स्याउ खरिद गरी काठमाडौँसहित सर्खेत, नेपालगञ्ज, बुटवल, पोखरालगायतका देशका प्रमुख सहरहरूमा बिक्रीवितरण गर्दै आएको सो सहकारी संस्थाले जनाएको छ ।
उक्त सहकारी संस्थाले स्थानीय बगैँचामा गई छ करोडको लगानीमा तीन लाख केजी स्याउ खरिद गरी देशका विभिन्न सहरमा बिक्री–वितरण गर्दे आएको प्रबन्धक शाहीले जानकारी दिए ।
यस वर्ष काठमाडौँमा मात्र दुई लाख ९६ केजी बिक्री गर्न लागेकामा अब २९ हजार केजी बाँकी रहेको तथा नेपालगञ्जमा र चितवनमा सात हजार केजी स्याउ बिक्रीका क्रममा रहेको छ ।
प्रबन्धक शाहीका अनुसार स्याउ बिक्रीको यकिन तथ्याङ्क सबै स्याउ बिक्री भएपछि मात्र आउने बताउँदै काठमाडौँको भद्रकाली र जुम्लाको खलङ्गा बजारमा ‘मिनिमार्केट’ मार्फत तथा नेपालगञ्ज र सुर्खेतको विमानस्थलबाट पनि स्याउ बिक्री–वितरण हुँदै आएको छ ।
सो सहकारी संस्थाले स्थानीय र फुजी जातका स्याउ किसानको बगैँचामै पुगेर सङ्कलन गरी बजारीकरण गर्दै आएको छ ।
यसैबीच, कर्णालीमा उत्पादित रैथाने बाली मार्सी चामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल, पीठो ‘मिनिमार्केट’ मार्फत बजारीकरण गर्दै आएको चन्दननाथ सहकारी संस्थाका प्रमुख व्यवस्थापक ऋषिराज पाण्डेले जानकारी दिए ।
बुधबार बङ्गलादेशी सहकारी प्रतिनिधिमण्डले काठमाडौँ भद्रकालीस्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘अग्र्यानिक मिनी मार्केट’को अवलोकन गरेको प्रमुख व्यवस्थापक पाण्डेले बताए ।
उच्च हिमाली भेगको चिसो हावापानीमा फल्ने भएकाले जुम्लासहित माथिल्लो कर्णालीका स्याउ निकै गुलियो, रसिलो र स्वादिलो हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीको भनाइ छ ।
स्थानीय कृषकका अनुसार पछिल्लो समय कर्णाली राजमार्गको सहजतासँगै जुम्लाका बगैँचाबाट सङ्कलन गरी सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा र काठमाडौँलगायतका देशका मुख्य सहरहरूमा बिक्रीका लागि स्याउ ओसारपसार गर्न सकिने भएपछि प्रमुख चुनौतीका रुपमा रहेको बजारको समस्या समाधान भएको छ ।
व्यापारीले बगैँचामा पुगी ढुवानी साधनमार्फत स्वदेशका मुख्य सहरमा बिक्री गर्न थालेपछि उपभोक्तालाई खरिद गर्न झनै सजिलो भएको र किसानलाई पनि राहत मिलेको कार्यालय प्रमुख अधिकारीले बताए
जुम्लाबाट यो वर्ष करिब ७० करोड रुपैयाँको स्याउ निर्यात हुने अनुमान गरिएको छ । हालसम्म ५५ करोड रुपैयाँको स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लामा करिब चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । चालु आव २०८३/८४ मा करिब १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य लिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।
उच्च जातको फुजी स्याउको खेती भने जम्मा ५२ हेक्टर क्षेत्रफलमा भएको छ । यस वर्ष ४९ हेक्टरमा मात्र फुजी स्याउ फलेको कृषि कार्यालयले जनाएको छ । यसैगरी, रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचारेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको खेती हुने गरेको कृषि कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार जुम्लाका आठ स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउखेतीमै निर्भर रहेका छन् । जिल्लामा स्थापित बगैँचा सङ्ख्या २० हजार ४६१ रहेको छ ।
पछिल्लो समयमा सहकारी, स्थानीय तह र कृषि विकास कार्यालयको पहलमा ‘ग्रेडिङ’ तथा आकर्षक ‘कार्टुन प्याकेजिङ’ हुन थालेपछि बजार विस्तारमा थप मद्दत पुगेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतको भनाइ छ ।
पछिल्ला वर्षमा जुम्लाको स्याउ आमउपभोक्ताको रोजाइमा परेपछि वातावरणीय दृष्टिले अनुकूल जिल्लाका अधिकांश स्थानमा स्याउखेती गर्ने क्रम बढेको छ ।

























