एक दशकमा पारित भयो पञ्चांग निर्णायक समिति गठन आदेश
वि.सं.२०७७ माघ ९ शुक्रवार २२:१७
shares

नेपाल पञ्चांग निर्णायक समितिले गठन आदेश मस्यौदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषदबाट पारित भएको छ । मन्त्रिपरिषद्को गत पुस २० गतेको बैठकले समितिको गठन आदेश पारित गरेको मन्त्रालयका संस्कृति शाखा प्रमुख दुर्गाप्रसाद पोखरेलले जानकारी दिए । विधेयक समितिले गठन आदेश पारित गर्न पुस २ गते मन्त्रिपरिषदमा दर्ता गरेको थियो ।
समितिले आर्थिक वर्ष २०६७/६८ मा गठन आदेश मस्यौदा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा पेश गरेको थियो । मन्त्रालयमा पेश भएपछि अर्थ, कानूनलगायत मन्त्रालयको रायसुझाव लिई गठन आदेश पारितका लागि मन्त्रिपरिषदमा पेश भएको थियो ।
समितिका पूर्वअध्यक्ष प्राडा माधव भट्टराई सरकारले गठन गरेको समिति कसरी सञ्चालन गर्ने भन्ने नियम केही नभएकाले धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत विज्ञसँग छलफल गरी त्यसबेला मस्यौदा गरी पठाएको बताउँछन् । संस्कृतिसम्बन्धी विषय सरकारको प्राथमिकतामा नपर्ने गरेकाले पारित हुन समय लागेको उनले बताए । समितिको गठन आदेशसमेत नहुँदा आफैँ कार्यविधि बनाएर काम गर्ने गरिएको अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । गठन आदेश नभएकै कारण २०७० सालमा बनेको गौतम नेतृत्वको समितिले नै काम गर्दै आएको छ ।
समितिको गठन आदेश पारित भएसँगै केही प्रक्रिया पूरा गरी नेपाल राजपत्रमा प्रकाशन गरिने जनाइएको छ । प्रकाशन नभएसम्मका लागि पञ्चांग प्रकाशनलगायत दैनिक सञ्चालन हुने काम गर्न समितिलाई कुनै बाधा नरहेको संस्कृति शाखा प्रमुख पोखरेलले जानकारी दिए । २०२५ सालमा स्थापना भएको समिति सुरुमा अध्यक्ष प्राडा मंगलराज जोशीकै घरमा कार्यालय राखी सञ्चालन भएको थियो । स्थापना हुँदा नेपाल राजकीय पञ्चांग निर्णायक समितिका नाममा दरबारलाई ज्योतिषीय सल्लाह, सुझाव दिने काम हुने गरेको थियो । समितिलाई पात्रो (पञ्चांग) स्वीकृतिको जिम्मेवारी पनि दिइएको थियो ।
अध्यक्ष जोशीको निधनपछि २०६१ सालमा नायब बडागुरुज्यू प्राडा माधव भट्टराईलाई जिम्मेवारी दिइएको थियो । उनले पनि सुरुमा घरमै कार्यालय सञ्चालन गरेका थिए । केही समयपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिको कार्यालय स्थापना गरियो ।
प्रतिष्ठानको एउटा कोठामा कार्यालय साँघुरो भएर २०६६ सालपछि पशुपतिस्थित महास्नानघरमा कार्यालय सञ्चालन गरिएको थियो । २०७२ साल वैशाख १२ गतेको भूकम्पले महास्नान घरमा क्षति पुगेपछि एक वर्ष मैजुबहालस्थित सदस्यसचिव सूर्यप्रसाद ढुंगेलको घरमा कार्यालय चलाइयो ।
२०७३ सालदेखि भने सरकारले भाडा तिरेर घट्टेकुलोमा समितिको कार्यालय राखिएको छ । समितिले २०६१ सालपछि देखि नै नियमावली, निर्देशिका, कानून, गठन आदेश मस्यौदा गरी पठाइरहेपछि हालै मन्त्रिपरिषदबाट गठन आदेश जारी भएको हो । (रासस)

























