काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पदयात्रा पर्यटनसँग जोडिँदै दरबार र गुफा

12.66K
shares

मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग सहश्राब्दी मार्ग (मिलेनियम ट्रेक)मा पर्ने ऐतिहासिक ढोर दरबार र मिलेनियम गुफालाई जोड्दै यस क्षेत्रको पर्यटकीय विकासको पहल शुरु भएको छ ।

तनहुँकाे दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोडिने झण्डै ७२ किलोमिटर लम्बाइको यस पदयाता मार्गमा पर्ने लगभग ३०० वर्ष भन्दा पुरानो ढोर दरबारका साथै मिलेनियम गुफालाई समेट्दै विकासको पहल थालिएको हो ।

सन् २००० मा शुरु गरिएको पदयात्रा मार्गमा ऐतिहासिक दरबार र गुफालाई गुरुयोजनामा समेटिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । ‘यस पदमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१० मा पर्ने ढोर दरबारको यहाँको ऐतिहासिक एवं पुरातात्विक स्थल हो,’ उनले भने । शुक्लागण्डकीकै वडा नं १२ र स्याङ्जाको पुतलीबजार नगरपलिका–७ को सिमानामा पर्ने मिलेनियम गुफामा देखिने विविध दृश्य अर्को छुट्टै आकर्षण हो ।

नेपालका बाइसे चौबिसे राजाका समयमा पहिलो राजा कृति खाँड र अन्य राजाले राज्य गरेको ढोर राज्य विसं १८३७ मा गोरखामा विलय भएको थियो । अहिले पनि यस दरबारमा तत्कालीन समयका भग्नावशेष पाइन्छ । दरबार, गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेष देख्न सकिन्छ ।

ढोर दरबार संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँडका अनुसार पुरातत्व विभागको सहयोगमा १२ लाख रुपैयाँको लागतमा दरबार संरक्षणको प्रयास गरिएको छ । यस आर्थिक वर्षमा पनि दरबार क्षेत्रको संरक्षणका लागि पर्यटन मन्त्रालयबाट सात लाख रुपैयाँ विनियोजन भएको छ भने शुक्लगण्डकी नगरपालिकाले चार लाख रुपैयाँ छुट्याएको छ ।

दरबार हेर्न आउने पर्यटकका लागि दरबार नजिकैको रजस्थल गाउँमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ । रजस्थलमा १० वटा घरमा घरवास कार्यक्रम चलेको रजस्थल सामुदायिक होम स्टेकी कोषाध्यक्ष पवित्रा रानाले जानकारी दिईन् । पदयात्राका लागि आउने जो कोहीले नछुटाउने गन्तव्य स्थल दरबार र गुफालाई अझ आकर्षक र व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

पदयात्रा मार्गकै मिलेनिययम गुफा यहाँको अर्को महत्वपूर्ण आकर्षण भएको मिलेनियम गुफा संरक्षण समितिका सचिव प्रेम गुरुङले बताए । गुफाको व्यवस्थापनका लागि आर्थिक वर्ष २०७०÷७१ मा पाँच लाख रुपैयाँको लागतमा सिँढीलगायतका पूर्वाधार निर्माण गरिएको उनले जानकारी दिए ।

गुफाको सानो प्वालबाट छिरेपछि भित्र विभिन्न प्राकृतिक आकृति कँुदिएको पाइन्छ । देवी देवता, हात्ती, विभिन्न जनावर आदिको झल्को दिने आकृतिका साथै गुफाभित्रै देखिने मनोरम झरना यहाँको विशिष्टता हो ।

मिलेनियम गुफा अवलोकन गर्न आउने पर्यटकका लागि स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादी खोला र तनहुँको शुक्लागण्डकी नगरपालिका–ं१२ स्थित घरेडीमा होम स्टे(घरवास) सञ्चालन भइसकेको छ ।

घरेडी सामुदायिक होम स्टेकी अध्यक्ष कोपिला गौतमले पर्यटकको सुविधालाई लक्षित गरी घरवास कार्यक्रम प्रभावकारी बनाउन लागिएको बताईन् । समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटरसम्म उचाइमा रहेको पदयात्रा मार्गमा तनहुँ र स्याङ्जाका साविक २२ गाविस पर्दछन् ।

पदमार्ग क्षेत्रमा दरबार एवं गुफा पर्यटक लोभ्याउने विशिष्ट स्थल भएका कारण व्यवसाय सँगै यिनीहरूको संरक्षण र विकासलाई अघि बढाइने महाचिव गुरुङले बताए । (रासस)