नेकपाको स्थायी कमिटी बैठक सुरु
वि.सं.२०७५ मंसिर २९ शनिवार १९:२८
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक सुरु भएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकले प्रदेश समितिका सदस्यको नाम अनुमोदनदेखि सरकारका कामबारे समीक्षा गर्ने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउने उनले बताए ।
माधवकुमार नेपाललगायतका केही नेताले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन सर्वसम्मत नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यसबारे बैठकमा छलफल हुने बताइएको छ ।
अध्यक्षहरू र महासचिव समयमै उपस्थित नभएको भन्दै नेताहरू नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट बाहिरिएपछि मंसिर २२ गते बसेको सचिवालय बैठकले २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ ।
गत जेठ ३ गते पार्टी एकता भए पनि नेकपाले सचिवालय, स्थायी समिति र केन्द्रीय समिति, प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव र प्रदेश सदस्यबाहेक अन्य संरचना तयार गर्न सकेको छैन । यसअघि असारमा एकतापछि पहिलो स्थायी कमिटी बैठक बसेको थियो । सांगठनिक संरचना निर्माण हुन नसक्दा पार्टीका सम्पूर्ण गतिविधि ठप्पप्रायः भएको भन्दै नेतृत्वको आलोचना हुन थालेपछि स्थायी कमिटी बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक बस्दै आएको भन्दै आलोचना भएपछि यसपटक स्थायी कमिटी बैठक धुम्बाराहीमा बोलाइएको नेता श्रेष्ठले बताए ।
स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरणदेखि नेताहरुको जिम्मेवारीसम्मका विषय अल्झिएका छन् । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटी एकीकरण हुन बाँकी नै छ ।
कतिपय नेता सरकारको कार्यशैलीलाई लिएर पनि असन्तुष्ट छन् । राजधानीमा युनिफिकेसन चर्चद्वारा आयोति एसिया प्यासिफिक सम्मेलनमा सरकार र नेकपाका नेताहरुको सहभागितालाई लिएर केही नेता रुष्ट छन् । उनीहरुले यो मुद्दालाई पनि छलफलको विषय बनाउनुपर्ने माग गरेका छन् ।

























