न्यू सृष्टि दैनिकमा प्रकाशित ‘सिर्जना सर्वोत्कृष्ट’
वि.सं.२०८३ मंसिर १ मंगलवार २०:५९
shares

विराटनगर । पत्रकार तथा साहित्यकार शङ्कर खरेलले ‘न्यू सृष्टि दैनिक’मा नियमित लेखेर सङ्ग्रहका रूपमा प्रकाशित ‘नरिसाउनुस् है’ पुस्तकले प्रभुभक्त छोरी नानी वर्ष पुस्तक पुरस्कार–२०८२ पाएको छ ।
विराटनगरमा ‘नारी स्रष्टा समाज’ले मङ्गलबार आयोजित कार्यक्रममा ‘नरिसाउनुस् है’ पुस्तक पुरस्कृत भएको हो ।
काठमाडौंका स्रष्टा विक्रमभक्त जोशी र बिन्जु जोशी संस्थापक रहेको वर्ष पुस्तक सम्मानको राशि ११ हजार रुपैयाँ थियो । साहित्यकार विवश पोखरेल, गङ्गा सुवेदी, डा. देवी पन्थी, समाजकी अध्यक्ष ममता मृदुल र पुरस्कार संस्थापक जोशीलगायतले खरेललाई पुरस्कृत गरेका थिए ।
यसपटक १० मा छनोट भएका कृतिहरूमा ‘सानु साथी’ (ईश्वरमणि अधिकारी), ‘जीवनकथा अग्रजका’ (केशु विरही), ‘धुवाँको रङ’ (चुडामणि नेपाल ‘अकिञ्चन’), ‘साङ्लो’ (रमेन्द्र कोइराला), ‘कहर वृत्त’ (रासा), ‘शालु’ (ललिता दोषी), ‘भोगाइ’ (लोचन रिजाल), ‘गीता मन्थन’ (विश्वराज अधिकारी) र ‘जिन्दगीका सय टुक्रा’ (शिव त्रिपाठी) रहेका छन्। ‘नरिसाउनुस् है’ २०८२ साल माघमा प्रकाशित भएको हो। ‘नरिसाउनुस् है’ मा १५ वर्षदेखि ‘न्यू सृष्टि दैनिक’मा प्रकाशित स्तम्भका लोकप्रिय आलेखहरू समावेश छन्, जसमा १२० भन्दा बढी आलेख समसामयिक विषयमा आधारित छन् ।
यस्तै, अन्य स्रष्टामा ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’बाट विधान आचार्य, ‘कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कार’बाट हेमन्ती जोशी, ‘पारस काफ्ले स्रष्टा सम्मान तथा पुरस्कार’बाट लोचन रिजाल एवं ‘कालीगङ्गा बाल स्रष्टा सम्मान तथा पुरस्कार’बाट सफलता फुयाँललाई सम्मानित गरिएको थियो ।
यस्तै, साहित्यकार रामचन्द्र महतो कुशवाहा, गोपाल प्रयास श्रेष्ठ, गोपाल निर्भीक, स्वयम्भूनाथ कार्की, शरद प्रधानाङ्ग, करुणा जोशी, मञ्जु घिमिरे दाहाल, हीरा खड्का अधिकारी, तिला लेकाली, कविता केशरी र शारदा भट्टराईलाई प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो ।
वि.सं. २०७६ सालमा स्थापना गरिएको समाजले आफ्नो स्थापना दिवसको दिन पारेर प्रत्येक वर्ष मङ्सिर १ गते साहित्यमा सक्रिय स्रष्टाहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ ।

























