काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वैदेशिक लगानी : १४ खर्बको आशय, तीन प्रतिशत पनि आएन

59.41K
shares

सरकार आगामी मार्चमा पुनः अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारीमा छ । तर, २०७३ साल फागुनमा भएको लगानी सम्मेलनको आशय र प्रतिबद्धताका तुलनामा लगानी अत्यन्तै निराशाजनक देखिएको छ । किनकि, अरूण तेस्रो, माथिल्लो कर्णाली, पश्चिम सेतीलगायत जलविद्युत् आयोजनामा ठूलो परिमाणमा विदेशी लगानीको प्रतिबद्धता आए पनि हालसम्म अत्यन्तै न्यून रकम मात्रै प्राप्त भएको लगानी बोर्डको तथ्यांकले देखाउँछ ।

नेपाली साझेदारसँगको सहलगानीमा स्थापित होङ्शी शिवम् सिमेन्ट नै अहिलेसम्म प्राप्त भएको सबैभन्दा ठूलो विदेशी लगानी हो । चिनियाँ लगानीकर्ताको ३६ अर्ब रुपैयाँ लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो । त्यसबाहेक जलविद्युत क्षेत्रका लागि व्यक्त गरिएका लगानी आशय कागजमै सीमित भएको अधिकारीहरु बताउँछन् ।

लगानी बोर्ड भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछ । ‘केही ठूला आयोजनाको निर्माण कार्य शुरू भइसकेका छन्, लगानीको आशय व्यक्त गरेकालाई अब हामी फलो गर्छौ, त्यो भनेको दोस्रो लगानी सम्मेलन हो,’ लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी भन्छन्, ‘यो सरकार बनेपछि भने अहिलेसम्मकै धेरै वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।’

आर्थिक वर्ष २०७५–७६ को साउनदेखि मंसिर दोस्रो सातासम्म ७४ वटा परियोजनामा विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आवको साढे ४ महीनामा करीब १२ अर्ब ३३ करोड ९० लाख रुपैयाँ भित्र्याउन स्वीकृति माग भएको छ । यद्यपि, कति रकम भित्रियो भन्ने कुरा अहिले थाहा भइनसकेको एक अधिकारीले बताए । ‘विदेशी लगानी ल्याउन चाहने कम्पनी विदेशी मुद्रा भित्र्याउन स्वीकृतिका लागि केन्द्रीय बैंकमा आउँछन्,’ ती अधिकारीले भने, ‘तर, रकम नेपाल भित्रिएको वा नभित्रिएको भने बैंकमा रकम जम्मा भएपछि मात्र थाहा हुन्छ ।’

सरकारले लगानीको वातावरण बनिसकेको दाबी र प्रचार गरिरहेको छ । लगानीका आशय र प्रतिबद्धता पनि आइरहेका छन् । तर, वास्तविक रुपमा लगानी भने भित्रिन नसकेको कुरालाई अधिकारीहरु स्वीकार गर्छन् ।

पछिल्लो तथ्यांकले अघिल्लो वर्षको चार महिनाभन्दा चालू वर्षको चार महिनामा भित्रिएको लगानी साढे ४ अर्ब रुपैयाँ कम देखाउँछ । गत आवको असोज महिनासम्म ६ अर्ब ७ करोड रुपैयाँ लगानी भित्रिएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५४ करोड रुपैयाँ मात्र विदेशी लगानी प्राप्त भएको छ । अघिल्लो वर्षको तुलनामा यो रकम ४ अर्ब ५३ करोड रुपैयाँले कम हो ।

नेपालमा किन लगानी गरिरहेका छैनन् विदेशी लगानीकर्ता ?

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् जारी भएको वैदेशिक लगानी ऐन र औद्योगिक प्रवद्र्धन ऐन लगायतले नेपालमा वैदेशिक लगानीका लागि वातावरण बनाएको हो । त्यसपछिको झण्डै तीन दशकको अवधिमा वैदेशिक लगानी भित्रिए पनि यो उत्साहजनक छैन । वैदेशिक लगानी भित्र्याउन धेरै प्रयास भए पनि मुलुकको आवश्यकता र सम्भावनाको तुलनामा भित्रिएको लगानी निकै न्यून छ । लगानीकर्ताको प्रतिबद्धता आउने तर लगानी नहुने समस्या छ ।

सरकारकै कमजोरीले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुन नसकेको अर्थविज्ञहरु बताउँछन् । लगानी गर भन्ने तर उनीहरुको लगानी सुरक्षित छ भन्ने कुरा बुझाउन नसक्नु सरकारको कमजोरी रहेको बताउँछन् अर्थविद डा.चन्द्रमणि अधिकारी । ‘मौखिक नभएर नीतिगत व्यवस्थामार्फत नै विदेशीले सुरक्षा खोजीरहेका हुन्छन्,’ अधिकारी भन्छन्, ‘त्यसमा सरकारले उनीहरुलाई विश्वस्त पार्न सक्नुपर्छ ।’

अहिलेको वातावरण लगानीकर्तालाई आकर्षित गर्ने खालको नरहेको उनको भनाइ छ । ‘किनभने लगानीकर्ताले लगानीको प्रतिफल हेरेर मात्र लगानी गर्छ । लगानीको प्रतिफल सुनिश्चित नभएसम्म लगानीकर्ताले आँट गर्दैन,’ उनी भन्छन् ।

अर्थ विश्लेषक डा. डिल्लीराज खनाल पनि विदेशीलाई विश्वासमा लिन सक्ने हो भने प्रशस्तै लगानी भित्र्उन सकिने बताउँछन् । ‘प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनमा सरलीकरण गर्नुपर्ने आवश्यकता छ, खनाल भन्छन्, ‘विशेष आर्थिक क्षेत्र स्थापना गरेर प्रत्यक्ष वैदेशिक लगानीलाई थप आकर्षित गर्न सकिन्छ ।’

सरकारको राजनीतिक इच्छाशक्ति हुने र लगानीकर्ताले प्रतिफल सुनिश्चित देख्ने हो भने लगानीको समस्या नरहने अर्थविद दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘अहिलेसम्म यही हुन नसकेर समस्या भएको हो,’ उनले भने, ‘दशक लामो सशस्त्र द्वन्द्व र निरन्तरको राजनीतिक अस्थिरताले गर्दा सरकारको यसतर्फ पर्याप्त ध्यान गएन भने लगानीकर्ताले पनि जोखिम मोल्न चाहेनन् । अब नेपालमा लगानी सुनिश्चितता गर्नका निम्ति सरकारी स्तरबाटै प्रभावकारी अग्रसरताको खाँचो छ भने निजी क्षेत्र पनि निरपेक्ष बसेर हुन्न, यसका लागि अधिकतम सहजीकरण गरिदिनुपर्छ ।’