पुर्ख्याैली पेसामा गर्व गर्छन् काजीबहादुर
वि.सं.२०७५ पुस ३ मंगलवार ००:२१
shares

वीरेन्द्रनगर–९, मंगलगढी रोडका काजीबहादुर विश्वकर्मा ५७ वर्षका भए । बिहानै उठेर घरको छेउसडकमा उनी तामाका भाँडा बनाउँछन् । उनलाई माइला छोरा भरत विश्वकर्माले साथ दिन्छन् ।
काम एकैठाउँमा गरे पनि बाबुछोराको भान्सा भने छुट्टाछुट्टै छ । ‘सँगै काम गरे पनि छुट्टाछुट्टै बस्छौं,’ काजीबहादुर भन्छन्, ‘फाइदा बाँडेर घरखर्च चलाउँछौं ।’ २०४० सालदेखि तामाको भाँडा बनाउँदै आएका काजीबहादुर दैनिक एक हजार कमाउँछन् ।
तामाका भाँडा मर्मत गरेको र भाँडा बनाएको यति नै पैसा लिने भन्ने हुँदैन । भाँडा मर्मत गरेको उनीहरुले किलोको हिसाबले पैसा लिन्छन् । एउटा काम गरेबापत न्यूनतम् २ सय देखि अधिकतम् ५ सय रुपैयाँसम्म लिने गरेको भरत बताउँछन् ।
तामा कुटेर आएको पैसाले दुईवटा परिवार राम्रैसँग चलेको छ । विगतमा भन्दा उनीहरुको आम्दानी पनि अलि बढेको छ । ‘मानिसमा तामाका भाँडाप्रतिको मोह बढेको जस्तो लाग्छ,’ उनी भन्छन्, ‘मानिसहरुले तामाका भाँडाको प्रयोग गर्ने क्रम बढ्दै जाँदा हाम्रो आम्दानी प्रत्यक्ष बढेको छ । यसले हामीले धेरै फाइदा भएको छ ।’ तामाका भाँडामा पानी तथा खाना राखेर खाँदा शरीरमा ब्याक्टेरियल समस्या न्यूनीकरण हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास छ ।
तामाका भाँडा बनाउनु काजीबहादुरको पुर्ख्याैली पेसा हो । बाबुबाजेका पालादेखिको हातको सीप बेचेर जीविकोपार्जन गर्न पाउँदा उनीहरुलाई गर्व पनि महसुस हुन्छ । काजीबहादुर भन्छन्, ‘हातको सीप बेचेर परिवार पाल्न सकिएको छ, बाबुबाजेको पालादेखि गरिआएको पेसालाई निरन्तरता दिन पाउँदा आनन्द पनि लाग्ने रहेछ,’ उनी भन्छन्, ‘मानिस त्यही पेट पाल्न डेढ–दुई लाख खर्च गरेर विदेश गइरहेका छन्, त्योभन्दा त यो धेरै माथि छ ।’
बाजेको पेसालाई बुवाले र बुवाको पेसालाई आफूले निरन्तरता दिन पाउँदा भरत पनि दंग छन् । साथीभाइहरु डेढ–दुई लाख रुपैयाँ खर्च गरेर बिदेसिइरहेको देख्दा उनी आफ्नै कामप्रति सन्तुष्ट छन् । ‘बुवाले यही पेसा अपनाएको भएर पनि मलाई धेरै सजिलो भएको छ, हातमा सीप नभएर विदेश भौंतारिनुभन्दा आफ्नै घरआँगनमा बसेर दैनिक एक हजारभन्दा बढी कमाइरहेको छु, यसैमा सन्तुष्टि मिलेको छ,’ उनी भन्छन्, ‘मेरो कमाइले श्रीमती र छोराछोरीलाई राम्ररी पुगेको छ, बुढेसकालको सहाराका लागि पनि केही बचत गर्न सकेका छौं ।’
कर्णाली प्रदेशमा यस्ता धेरै परिवार छन्, जो परम्परागत पुर्ख्याैली पेसाबाट राम्रो जीवनयापन गरिरहेका छन् । तर, उनीहरुको कामगराइको तौरतरिका कहिल्यै आधुनिक बन्न सकेको छैन । उनीहरुको व्यवसायलाई आधुनिकता दिने हो भने कामको गुणस्तरमात्र बढ्दैन, आम्दानी पनि सुदृढ हुन्छ । प्रदेश सरकारले स्थानीय स्तरमा रहेको सीप तथा पुँजीलाई आधुनिकीकरण गरी आयआर्जन, स्वरोजगार र आम्दानीका बाटाहरु विस्तार गर्न योजना बनाएर अघि बढ्नुपर्ने स्थानीय बुद्धिजीवी बताउँछन् ।

























