नेताहरुले दुवै प्रतिवेदनलाई भने- आत्मप्रशंसा र आरोपको पुलिन्दा
वि.सं.२०७५ पुस ३ मंगलवार ००:१४
shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले स्थायी कमिटी बैठकमा पेस भएका दुबै प्रतिवेदनलाई तटस्थ नभएको भन्दै आलोचना गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र वामदेव गौतमले पेस गरेको फरक प्रतिवेदन दुवैप्रति असहमति जनाएका हुन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र गौतमको फरक मतसहितको प्रतिवेदन दुवैलाई स्थायी कमिटी सदस्यले ‘आरोप र आत्मप्रशंसाको पुलिन्दा’को संज्ञा दिए । बैठकमा धारणा राखेका ११ जना नेतामध्ये अधिकांशले दुवै दस्तावेजको आलोचना गरेका थिए । घनश्याम भुसाल, हरिबोल गजुरेल, योगेश भट्टराईलगायतले दुवै प्रतिवेदनलाई झुटो भएको जिकिर गरे ।
गौतमले आफ्नो फरक मतमा अधिकांश शब्द ओलीलाई गाली गर्न खर्चिएको भन्दै स्थायी कमिटी सदस्यहरुले असहमति जनाए । ‘दुईवटा दस्तावेज पढ्दा कुनै निष्पक्ष देखिएन, अध्यक्षको प्रतिवेदनमा आत्मप्रशंसामात्रै छ, गौतमजीको प्रतिवेदनमा गालीमात्रै छ,’ बैठकमा नेताहरुले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘एउटाले कालैकालो देख्ने अर्कोले सेतैसेतोमात्र देखेका छन्, प्रतिवेदन तटस्थ देखिएन ।’
स्थायी कमिटीलाई शक्तिशाली बनाउने हो भने आफ्नो पक्ष कमजोर बन्न सक्ने भन्दै ओली पक्षका नेताहरुले सचिवालयलाई नै शक्तिशाली बनाउनुपर्ने धारणा राखेका थिए । गौतमको पक्षमा बोल्ने नेताहरुले भने सचिवालयलाई अरु कमिटीका निर्णय कार्यान्वयन गर्ने निकायको रुपमा लिनुपर्ने धारणा राखेका थिए । ‘सचिवालयलाई अरु कमिटीका निर्णय कार्यान्वयन गर्ने र सरकारका काम अनुमगन गर्ने उच्चस्तरीय संयन्त्रका रुपमा राख्नुपर्छ, शक्तिशाली निकाय स्थायी कमिटीलाई बनाउनुपर्छ,’ गौतमको पक्षमा आएका धारणा उल्लेख गर्दै नेताहरुले भने ।
सचिवालय सदस्यको संख्या बढाएर १९ सदस्यीय पुर्याउन गौतमले माग गरेका थिए । गौतमको यो प्रस्तावमा नेता माधवकुमार नेपालले समेत असहमति राखेका छन् । पार्टी अध्यक्ष ओलीसँग पहिल्यैदेखि असहमति राख्दै आएका नेपालले पनि गौतमको प्रतिवेदनलाई समर्थन नगरेको नेताहरुले बताएका छन् ।
बैठकमा सरकारको चर्को आलोचना
सोमबारको बैठकमा धारणा राख्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी सञ्चालन र सरकारका कामकारबाहीका विषयमा चर्को आलोचना गरेका छन् । स्थायी कमिटी सदस्य योगेश भट्टराईले दुई तिहाई नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरे । ‘सरकारका कामकारबाही प्रभावकारी छैनन्, केही राम्रो काम गरेको छ तर कतिपय निर्णय गर्दा पार्टीमा कुनै छलफल भएन,’ भट्टराईको भनाई उद्धृत गर्दै नेताहरुले भने ।
सोमबारको बैठकमा नेता हरिबोल गजुरेलले छुट्टै प्रस्ताव पेस गरेका छन् । उनले पार्टी सञ्चालन र सरकार सञ्चालनबारे आफ्नो प्रस्तावमा धारणा राखेका छन् । उनले पनि सरकारको कामप्रति तीव्र असन्तुष्टि जनाए । बैठक मंगलबार बिहान ८ बजे बस्ने गरी सकिएको छ ।

























