काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस महासमिति बैठक : पार्टीभन्दा गुट र नोट नेतृत्वकाे प्राथमिकतामा !

14.41K
shares

राजधानीमा जारी कांग्रेस महासमिति बैठकको तेस्रो दिनमा बोल्ने अधिकांश सदस्यले गुटगत स्वार्थभन्दा माथि उठेर सोच्न नेतृत्वलाई सुझाव दिएका छन् । सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई भुलेर शीर्ष नेताहरु गुटगत राजनीतिमा लागेकाले पार्टी कमजोर बनेको महासमिति सदस्यहरुको भनाइ छ । अब पनि त्यस्तै खालको राजनीति गरिरहने हो भने कम्युनिस्टले अरु २० वर्ष मुलुक हाँक्न सक्नेतर्फ सचेत हुन उनीहरुले सुझाएका छन् ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हिमाल–तराई, पहाड, मुुसलमान, महिला, आदिवासी जनजातिलगायत महासमिति सदस्यले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर विधान बनाउनुपर्नेमा जोड दिए । सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राख्दै आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उनले सुझाव दिए । ‘सत्य, निष्ठा र इमान्दारिताको पक्षमा स्वाभिमानीपूर्वक उभिनसक्ने सवल र सक्षम नेपाली तयार हुने अनुकूलको नयाँ विधान र सङ्गठन संरचना बनाउँदै लानुपर्छ,’ थापाले भने ।

अन्य सदस्यले पार्टीको विधानमा एक व्यक्ति एक पद, समावेशीता, आर्थिक पारदर्शिता, क्षमता र नीतिलाई कार्यान्वयनमा लैजान जोड दिएका महासमिति सदस्य ईश्वरी ओझाले जानकारी दिए ।

अहिलेको विधानलाई विस्थापित गर्दै नयाँ विधानलाई वैज्ञानिक र समावेशी बनाउन जोड दिइएको उनले बताइन् । सप्तरी–३ का डा अनिलकुमार झाले पार्टीको राजनीतिक र सैद्धान्तिक आधार बलियो बनाउनुपर्नेमा जोड दिए । ‘पार्टीलाई गुट–उपगुटबाट माथि उठाउनुपर्छ,’ उनले भने ।

रौतहट–४ की महासमिति सदस्य शुभद्रा गुप्ताले बिपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्सेर पैसावाला, ठेकेदार र पूँजीपति वर्गलाई पार्टीले स्थान दिएकामा चिन्ता व्यक्त गरिन् ।

काभ्रे जिल्लाबाट प्रतिनिधित्व गरेका महासमिति सदस्य गणेश लामाले शीर्ष नेतृत्वले स–साना गुट–उपगुटलाई एकीकृत गरी भावनात्मक रुपमा एकपद एक व्यक्तिको अवधारणालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

सुनसरी–६ का महासमिति सदस्य मोहमद नइमुद्धिन खाँले नीति राम्रो भए पनि कार्यान्वयन नगर्ने परिपार्टीले पार्टी कमजोर भएको बताए । ‘नीति राम्रो लेखिँदैमा पार्टीको शुद्धीकरण हुँदैन, पार्टी सुदृढीकरणका लागि राम्रो नीति कार्यान्वयन महत्वपूर्ण कुरा हो, कार्यकर्ताको भावना बुझेर शीर्ष नेतृत्वमा एकता हुनुपर्छ,’ उनले भने ।

सप्तरीबाट आएकी पवनी खङ्गले विभिन्न जातजाति भाषाभाषीलाई पार्टीको विधानमा उच्चस्थान दिनुपर्ने बताइन् । ‘संविधान संशोधन गरेर सबैको पहिचानको प्रतिनिधित्व गराउन पार्टी एक ढिक्का भई अघि बढ्नुपर्छ,’ उनले भनिन् । भक्तपुरका महासमिति सदस्य विष्णुराज कार्कीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्य नियन्त्रित गर्दै अन्य क्षेत्रलाई आर्थिक उदारीकरणमार्फत आर्थिक समृद्धिका कार्यक्रम अगाडि बढाउने नीति ल्याउनुपर्नेमा जोड दिए ।

सल्यान–१ का ध्रुवराज पुरीले विधान मुख्य समस्या नभई नेतृत्वको नियतमा कमजोरी भएकाले कांग्रेसमा समस्या देखिएको बताए । उदयपुरका हरिबहादुर खड्काले पार्टीमा त्याग गर्ने कार्यकर्तालाई जवाफदेही र जिम्मेवार बनाउँदै पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

रोल्पा–१ का महासमिति सदस्य मनोजमणि आचार्यले राज्यको आफ्नो धर्म नभए पनि धार्मिक स्वतन्त्रताको पक्षमा पार्टी अडिग हुनुपर्ने बताए । ‘जबर्जस्ती धर्म परिवर्तन गराउनु आपत्तिजनक हो,’ उनले भने ।

सिंहदरबार अगाडि रहेको यगम्बर पार्टी प्यालेसमा शनिबारयता जारी महासमिति बैठकमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन, सहमहामन्त्री डा प्रकाशशरण महतको आर्थिक प्रतिवेदन, डा शशाङ्क कोइरालाको साङ्गठनिक प्रतिवेदन र सीतादेवी यादवले पेश गरेको आर्थिक प्रतिवेदनमा छलफल जारी छ । बैठक पुस ३ गतेसम्म चल्ने यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।